सप्तपाताल पोखरी ब्युँताउने अभियान सँगसँगै लगनखेलका स्थानीय अर्को सम्पदा संरक्षणमा होमिएका छन्।
अतिक्रमणमा परेको सप्तपातालको ठिक अगाडि लिच्छविकालीन बटुक भैरव मन्दिर छ। सरकारले सडक विस्तारका नाममा मन्दिरको केही भाग मास्न खोजेको भन्दै स्थानीय तथा सम्पदा अभियन्ताहरूले विरोध जनाएका छन्।
लगनखेल–सातदोबाटो सडक विस्तार गरेर २२ मिटर बनाउन सरकारले बिहीबार मन्दिरको पर्खालमा डोजर चलाएपछि स्थानीय विरोधमा ओर्लिएका हुन्। उनीहरूले आइतबार मन्दिर परिसरमा भेला भएर पुल्चोकस्थित ललितपुर महानगरपालिका कार्यालयसम्म जुलुस प्रदर्शन गरे। त्यसपछि ललितपुर मेयर चिरिबाबु महर्जनसँग सम्पदा संरक्षणमाथिको अतिक्रमणबारे छलफल गरे।
छलफल क्रममा महर्जनले बटुक भैरव परिसरमा डोजर चलाइएको घटनाबारे आफू अनभिज्ञ रहेको बताएका छन्।
‘मन्दिर परिसरमा डोजर चलाएको मलाई थाहा भएन,’ उनले भने, ‘म यस विषयमा सम्बन्धित निकायसँग कुरा गर्नेछु। बटुक भैरव हाम्रो सम्पदा हो, सम्पदा मासिने गरी डोजर चलाइने छैन।’
स्थानीय नेवार परम्परासँग जोडिएको भैरवको यो मन्दिर र आसपास क्षेत्र काठमाडौं सभ्यताको हिस्सा हो।
यहाँ बटुक भैरव मन्दिरसहित तीनवटा पुरातात्विक महत्वका सम्पदा छन्।
मन्दिर आफैंमा मच्छिन्द्रनाथको जात्रा जत्तिकै पुरानो भएको स्थानीय पूर्ण स्थापित बताउँछन्। त्यही जात्रासँग जोडिएको सप्तपाताल पोखरी कुनै समय यही ठाउँमा थियो भने अशोक स्तूप अझै छ।
अशोक स्तूपसँगै जोडिएको १४ रोपनीभन्दा ठूलो पोखरी चारतिरबाट मिचिएर डेढ–दुई रोपनी बचेको छ। छिपछिपे पानी थियो, त्यही पनि सुकेर टोलभरिको फोहोर फाल्ने ‘डम्पिङ साइट’ बनेको छ।
सप्तपातालको जग्गालाई लिएर नमूना मच्छिन्द्र र लगनखेलका स्थानीय १४ वर्षदेखि कानुनी लडाइँ लडिरहेका छन्। स्थानीयवासी पोखरीलाई पुरानै स्वरुपमा ब्युँताउन चाहन्छन्। सार्वजनिक स्थानका रूपमा सुरक्षित राख्न सर्वोच्च अदालतमा मुद्दा हालेका छन्। मुद्दाको पेसी असार १४ गते छ। नमूना मच्छिन्द्रले भने पोखरीको जग्गामा दाबी गर्दै आएको छ।
यसबीच पुर्खौंदेखि गुठी पूजा हुँदै आएको मन्दिर परिसर मासिने गरी डोजर चलेपछि स्थानीय आक्रोशित भएका हुन्। मन्दिर परिसरले यस क्षेत्रमा खुला सार्वजनिक स्थानको समेत काम गर्दै आएको छ। बिहान र साँझपख स्थानीय टहलिन आउँछन्।
केही दिनअघि मन्दिरको पर्खाल सुरक्षाकर्मी प्रयोग गरेर भत्काउन थालिएको थियो। एउटा कुनाको जग्गा करिब साढे ४ फिटसम्म मासिने अवस्था रहेको स्थानीय बताउँछन्।
सम्पदा अभियन्ता तथा स्थानीय भने ऐतिहासिक मन्दिरको जग्गा अतिक्रमण गर्न खोजिएको आरोप लगाउँछन्।
यही मापदण्डमा सडक विस्तार गर्ने हो भने बटुक भैरवको आधाआधी जग्गासँगै पुराना घर एवं संरचना पनि मासिने सम्पदा अभियन्ता सुरज महर्जन बताउँछन्।
‘यो त सिधा सिधा सम्पदामाथिको अतिक्रमण हो,’ उनले भने, ‘सडक विस्तारको मापदण्ड भन्दैमा विनाश गर्ने हो भने यहाँका पुराना संरचना भविष्यमा केही बाँकी रहँदैनन्।’
सडक विस्तारका नाममा भएको अतिक्रमणलाई स्थानीयले ‘विकासका नाममा विनाश’ बताएका छन्। वैकल्पिक उपाय हुँदाहुँदै मन्दिर भत्काउन खोजिएको उनीहरूको भनाइ छ।
मन्दिरको पारिपट्टि सेनाद्वारा सञ्चालित पेट्रोल पम्पको खाली जग्गा छ। त्यही जग्गालाई सडक विस्तारको विकल्प बनाउन सकिने स्थानीय बताउँछन्। त्यो विकल्प हुँदाहुँदै मन्दिरमाथि खनिएकोमा उनीहरूले आपत्ति जनाए।
‘सडक भनेको जति विस्तार गरे पनि पूरा हुने होइन। केही वर्षपछि फेरि साँघुरो हुन्छ,’ सम्पदा अभियन्ता एवं कानुनका विधार्थी सञ्जय अधिकारीले भने, ‘अनि कतिपटक सडक विस्तार गर्ने? कतिपटक विकाशको नाममा सम्पदा एवं भौतिक संरचनाको विनाश गर्ने?’
स्थानीय मन्दिरसँगै पुराना मौलिक घर पनि संरक्षण होओस् भन्ने चाहन्छन्। विना क्षतिपूर्ति स्थानीयको घरबास भत्काउन लागेकोमा उनीहरू सशंकित भएका छन्।
लगनखेलको यो क्षेत्र लामो समयदेखि अतिक्रमणको शिकार हुँदै आएको छ। कुनै समय दुई सय रोपनीभन्दा फराकिलो यो क्षेत्र विभिन्न संस्थाबाट अतिक्रमणमा पर्दै आएको छ।
नमूना मच्छिन्द्र माध्यमिक विद्यालयदेखि राजदल गण ब्यारेक, ललितपुर जिल्ला अदालत, मालपोत कार्यालय ललितपुर, जिल्ला पशुसेवा कार्यालय लगायत विभिन्न सरकारी कार्यालय सप्तपाताल पोखरीकै जग्गामा निर्माण गरिएका हुन्। यी कार्यालयले पोखरीको जग्गा कित्ताकाट गरेर लगेको देखिन्छ।