साढे ३३ किलो सुन प्रकरणमा मंगलवार त्रिभुवन विमानस्थलबाट पक्राउ परेका ४६ वर्षीय राम तिवारी चुडामणि उप्रेती ‘गोरे’ का मुख्य सहयोगी भएको खुलेको छ।
सरकारले गठन गरेको विशेष छानबिन समितिले तिवारीलाई दक्षिण कोरियाबाट नेपाल फर्किँदै गर्दा विमानस्थलबाट पक्राउ गरेको थियो।
छानबिन समितिले तिवारीसँग सोधपुछ गरिरहेको छ।
अहिलेसम्म तिवारीले गोरेको सुन तस्करीमा आफू संलग्न नभएको बयान दिइरहेका छानबिन समितका एक सदस्यले बताए।
‘तिवारीले गोरेको सुन तस्करी बारेमा मुख खोलेका छैनन्। तर, हामीसँग यथेष्ट प्रमाण छ। एक दिन स्वीकार्छन्,’ समितिका एक सदस्यले सेतोपाटीलाई बताए।
प्रहरी नियन्त्रणमा रहेका तिवारी गोरेको घर जग्गा कारोबारी हुन्। गोरेको लागानीमा तिवारीले जग्गा किनबेच गर्ने गरेको अनुसन्धानमा खुलेको हो।
‘गोरेलाई समस्या परेको समयमा अदालतदेखि वकिलसम्मको सेटिङ उनैले मिलाउँथे,’ समितिका ती सदस्यले भने। काभ्रे स्थाई घर भएका तिवारीलाई गोरेले मामा भनेर सम्बोधन गर्ने गर्थे।
तिवारी दुई नम्बरी कामका लागि वकिल र न्यायाधीशसँग सेटिङ मिलाएर कमिशनमा काम गर्ने व्यक्ति हुन् । उनको जिल्ला अदालत काठमाडौंदेखि सर्वोच्च अदालतसम्म राम्रो सेटिङ रहेको छ ।
पेसाले कानुन व्यावसायी तिवारी विभिन्न अदालतमा यस्ता विवादास्पद मुद्दा मिलाएर कमिशन लिने व्यक्ति भएको स्रोतले बतायो। ‘उनको कनेक्शन यस्ता धेरै गिरोहसँग रहेको छ,’ ती सदस्यले भने।
तिवारीको मुख्य पेसा भनेको घरजग्गा कारोबारी नै हो। काठमाडौंको कालोपुलमा तिवारीको एउटा मोटर ग्यारेजसमेत रहेको छ। तर विगत केही समयदेखि तिवारीले ग्यारेज भाडामा दिएका छन्।
तिवारीले महिनाको सात लाख रुपैयाँमा ग्यारेज भाडामा दिएको बयान दिएका छन्। उनले त्यो ग्यारेज भएको जग्गा पनि भाडामा लिएका हुन्।
तिवारीलाई छानबिन समितिले केही समय अगाडि नै पक्राउ गरी सोधपुछ गरिसकेको थियो। तर, समितिले प्रमाण नभेटाएपछि उनी छुटेका थिए। त्यसपछि तिवारी दक्षिण कोरिया पुगेका थिए।
गोरेले आफ्ना विश्वासका मान्छे राम तिवारी रहेको भन्दै अपराध महाशाखाका डिएसपी प्रजित केसीलाई उनीसँग भेटेर सल्लाह गर्न भनेका थिए ।
तिवारीले प्रहरीलाई पनि सेटिङ मिलाउने गरेका थिए। हेटौडामा रहेका तिवारीले सनम शाक्यको हत्यापछि गोरेसँग भएको टेलिफोन वार्तामा एसपी विकासराज खनालले धेरै कुरा मिलाउन सक्ने समेत बताएका थिए ।
गोरेले कलकत्ताबाट टेलिफोन गरेर यहि विषयमा तिवारीसँग बारम्बार कुरा गरेका छन् । गृह मन्त्रालयको छानबिन टोलीले प्रमाण जुटाएर तिवारीलाई पक्राउ गरेको थियो ।
यसैबीच स्रोतले दिएको जानकारी अनुसार तिवारी गणेश लामासँग मिलेर ढुंगा गिट्टी र बालुवाको ठेक्का पट्टा गर्ने काम गर्दै आएका थिए।
समितिका एक सदस्यले भने,‘तिवारीको लामासँग पनि साझेदारीमा व्यवसाय छ। गोरेको मुख्य जग्गा किनबेच गर्ने र परेको बेला दायाँ बायाँ मिलाउने काम तिवारीले नै गर्ने गरेका थिए।’
गोरेको ३३ किलो सुन हराएपछि छिरिङ भन्ने व्यक्ति को हो भन्दै तिवारी उनको खोजिमासमेत लागेको समितिको ठहर छ।