चुरे दोहनकै कारण पानीको मुहान सुक्न थालेपछि झापाको शिवसताक्षीमा खानेपानी समस्या शुरू भएको छ।
स्थानीयलाई खानेपानीको सुविधान दिन २०४० सालमा स्थापित सतासीधाम खानेपानी तथा सरसफाई उपभोक्ता समितिले बनाएको धारामा हिजो आज पानी आउँदैन।
‘समितिले धारा त बनायो तर पानी छैन। कतिपय धारामा निर्माण पछिनै पानी आएको छैन,’ स्थानीयले गुनासो गर्छन्।
जथाभावी बन फडानी र अनियन्त्रीत चुरे दोहनका कारण पर्यावरणमा पर्न गएको प्रत्यक्ष प्रभावले पानीको सतह घटेर धारामा पानी सुकेको जानकार बताउँछन्।
पानीको मुहान सुकेपछि शिवसताक्षीका करिब २ सय धारामा पानी आउन छाडेको हो। यो समस्या अहिलेको नभएर २५ वर्षअघिको भएको सताक्षीधाम खानेपानी तथा सरसफाई उपभोक्ता समितिका कार्यालय सचिव राजेन्द्र खड्काले बताए।
‘समितिले सार्वजनिक ६ वटा र निजी ५९४ वटा धारा वितरण गरेको छ। ती मध्ये कम्तीमा २ सय धारामा पानी छैन,’ खडकाले भने, ‘यो समस्या २०४० सालदेखि जस्ताको त्यस्तै छ।’
शिवसताक्षीको पूर्व-पश्चिम राजमार्ग आसपासका ३ वटा वडाका दर्जनौ वस्तीमा यतिवेला पनि पानीको हाहाकार छ। दुधेस्थित खानेपानी समितिले दिएको जानकारी अनुसार वडा नम्बर ९ को तीनखोप्रे, संगमचोक, र रमाईलो बस्तीमा खानेपानी छैन।
यस्तै वडा नम्वर १० को सृजंगा चौक र शैनिक चौकका धारामा पनि २५ वर्षदेखि पानी छैन।
यता वडा नम्वर ११ को बाईसविघे र उपवनमा खानेपानीको धारा छ, तर पानी छैन।
नगरका वस्तीमा जोडेको धारामा पानी नआएपछि सवैभन्दा पीडा त्यसैको हुने स्थानीय उपभोक्ता बताउँछन्।
‘अवैज्ञानिक ढंगले निर्माण भएका धारामा पानी आउँदैन,’ शिवसताक्षी ११ का उपभोक्ता पर्शुराम अधिकारीले भने, ‘केही समयअघि त पानी आउँदै थियो तर सडक ग्राभेल गर्ने क्रममा भ्याकुले पाईप फुटाईदिएपछि बन्द भयो।’
सुख्खा खडेरीसँगै नदीको मुहान आसपास हुने वन फडानी, चुरे दोहन र नदीबाट दैनिक झिकिने गिटी, बालुवा, ढुंगा लगायतका कारण नदी भासिएर पानि सुक्दै गएको उपभोत्ता समितिको ठम्याई छ।
खानेपानी समस्या भएका वस्तीका उपभोक्ता डोकामा गाग्री राखेर पानी बोक्छन्।
लुगाधुने, चौपायाका लागि र आफ्ना लागि घन्टौ समय खर्चेर पानी बोक्नुपर्ने बाध्यता रहेको स्थानीयले गुनासो गरे।
खानेपानीको सबैभन्दा ठूलो समस्या वडा नम्बर ९ र १० मा छ। जहाँ ट्युवेलमा समेत पानी आउँदैन। एक सय फिट गहिराईमा ट्युवेल गाडे पनि पानी नआउने फूलमाया दंगालले बताईन्। ‘पहाडका विकट बस्तीमा पनि यस्तो समस्या छैन होला,’ उनले भने।
वस्तीका एकाध पानी आउने ट्वेलमा पानी लिन आउनेको घुईँचो लागेको छ।
स्थानीय प्रेम फुँयालका अनुसार असारको अन्तिम साता, साउन र भदौ भरी धमिलो पानी धारामा आउँछ। भदौदेखि त्यो पनि आउनै छाड्छ।
पानीकै अभावले कृषि उपज खेतमै सुक्ने अवस्थामा पुगेका छन्।
झिलझि बजारमा पानी नभएको धाराः तस्बिरः विनोद सापकोटा