विभिन्न खेलमा सट्टाबाजी खेलाउने पूर्वराष्ट्रिय फुटबल खेलाडी अञ्जन केसीसहित ६ जनालाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ।
काठमाडौँको ठमेल, लाजिम्पाट, दरबारमार्ग, ललितपुर र भक्तपुरलगायतका विभिन्न इलाकामा अनलाइन सट्टेबाजी गरेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौँको विशेष टोलीले पक्राउ गरेका ६ जनालाई आज सार्वजनिक गरेको छ।
प्रहरीले विभिन्न अन्तराष्ट्रिय खेलकुद प्रतियोगिताहरुमा सट्टेबाजी गरी जुवा खेलाउने गरेको विशेष सूचनाको आधारमा गत १३ गते मैतिदेवीका तिवारीलाई पक्राउ गरी उनको मोवाईल र ल्यापटपका उल्लेखित रकर्डको आधारमा अन्य ५ जनालाई पनि पक्राउ गर्न सफल भएको हो ।
सट्टेबाजी खेलाउने क्रममा तिवारीसँग ७ करोड ४७ लाख २ हजार, कुँवरसँग ३ करोड २२ लाख ९७ हजार, पूर्व राष्ट्रिय फुटबल खेलाडी केसीसँग २ करोड ७७ लाख २ हजार, सुवालसँग ७७ लाख बैंक खातामा रकम देखिएको पनि प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको एसएसपी पोखरेलले बताए। केसी यस अघि पनि फुटबलमा म्याच फिक्सिङ गरेको आरोपमा पक्राउ परी विशेष अदालतबाट धरौटिमा छुटेका थिए ।
प्रहरीका अनुसार सट्टेबाजीमा २७ वर्षका गौरव तिवारीको मुख्य भूमिका छ। उनीहरुले ७ करोड १४ लाखको बाजी खेलाएको प्रहरीले दाबी गरेको छ।
तिवारी १२ डी हलका सञ्चालकसमेत हुन्। उनले लन्डनको एउटा साइटमा २४ वटा अकाउन्ट खोलेर त्यसैमार्फत् सट्टेबाजी गराएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।
पूर्व फुटबल खेलाडी केसी तिवारीका ललितपुर एजेन्ट थिए। एसएसपी विश्वराज पोखरेलका अनुसार उनले २ करोड ७७ लाखको सट्टेबाजी गराएको भेटिएको छ।
समूहले २५ हजारदेखि १५ लाख रुपैयाँसम्मको बाजी खेलाउने गर्थे। यसका लागि उनीहरुले क्यासमै रकम कारोबार गर्थे। खेल हुनुअघि लगाइएको बाजी अनुसार खेलमा भएको हारजितको हिसाब गरेर हरेक सोमबार रकमको भागवण्डा गरी पुर्याउने काम दिनेश बोगटीले गर्थे। बोगटी तिवारीका कामदार हुन्।
सट्टेबाजीमा गुन्डा नाइके दावा लामाको समेत संलग्नता देखिएकोले अनुसन्धान भइरहेको एसएसपी पोखरेलले जानकारी दिए।
उनीहरूबाट प्रहरीले आइफोन ८ थान र अन्य मोबाइल एक थान, ल्यापटप १ थान, गौरवबाट २ लाख, चेकबुक भिसा कार्डलगायतका सामग्रीहरू बरामद गरेको छ।
सट्टाबाजीको धन्दा यसरी चल्थ्यो
सुरू सुरूमा नागराज भनिने अमृत अग्रवालसँग मिलि गौरव तिवारीले नेपालमा अनलाइन बेटिङ सञ्चालन गरेको थिए। काम गर्ने शिलशिलामा लेनदेनको विवाद भएपछि गौरव आफैंले लण्डनबाट मास्टर अकाउण्ट वेवसाइट www.MSA.LCexch.com बाट गौरव३०० AC खोली अनलाइन बेटिङ सञ्चालन गर्न थाले। यसबाट उनले सट्टेबाजी खेल्नेहरूलाई मास्टर एकाउन्टबाट २४ वटा AC खोलेर खेलाउने गरेका थिए। यसक्रममा उनले अनलाइन बेटिङमार्फत् ७ करोड ४७ लाख भन्दा बढीको कारोबार गरेका थिए।
हाल भारतमा भएको आइपिएल खेलमा ३ करोड २२ लाख ९७ हजारको बराबरको कारोबार भुपेन्द्र कुँवरले गौरवसँग मिलेर अनलाइन बेटिङ सञ्चालन गरेका थिए।
अञ्जन केसीले भुपेन्द्रसँग मिलि विगत २ वर्षदेखि अनलाइन बेटिङ खेलाउँदै आएका थिए। भारतमा भएको आइपिएल खेलमा र युनियन अफ युरोपियन फुटबल एशोसिएशनमा २ करोड ७७ लाख पाँच हजार कारोबार भएको थियो।
विजय श्रेष्ठले विगत १ वर्षदेखि भुपेन्द्रमार्फत खेल खेलाउँदै आएका थिए। त्यस अवधिमा १ करोडको कारोबार भएको थियो।
यस्तै, नरेन्द्र सुवालले १ वर्षदेखि विजयसँग मिलि खेल खेलाउँदै आएको थिए। जसमा ७७ लाख बराबरको कारोबार भएको थियो।
दिनेश बोगटी गौरवको सहयोगी बनि एजेण्टसमक्ष रकम लाने र एजेण्टबाट रकम लिने गर्ने गर्थे।
यस्तै गुन्डा नाइके दावा लामाले रियल मड्रिडको गेममा १० लाखको बाजी लगाएको थियो।