तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्या काण्डका मुख्य अभियुक्त चुडामणी उप्रेती ‘गोरे’ ले थुनामा रहेका प्रहरीका पूर्व डीआईजीदेखि एसएसपी दिवेश लोहनीसहितका केही प्रहरी अधिकारीलाई बचाउ गरेका छन्।
तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्याको अनुसन्धान गर्न गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा बनेको समितिको अनुसन्धान पछि प्रहरीका केही विशिष्ट अधिकारी पक्राउ परेका थिए।
समितिले पूर्व डीआईजी गोविन्द निरौला, तत्कालिन महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनी, एसपी विकास राज खनाल, महाशाखाकै डिएसपी प्रजित केसी, डिएसपी संजय राउत, सई बालकृष्ण संजेल लगाएतका प्रहरीमाथि मुद्दा दायर गर्न मोरङ प्रहरीलाई जिम्मा लगाइएको थियो।
सनमको हत्यापछि महाशाखाको टोलीलाई गोरेले लास व्यवस्थापन गर्न अनुरोध गरेपछि महाशाखाको टोली मोरङ पुगेको थियो।
महाशाखाको टोली मोरङ प्रहरी पुग्नु अगावै गोरे फरार भएका थिए। गोरेलाई भगाएको र घटनामा गोरेको बचाउ गरेको भन्दै एसएसपी खत्री, डिआईजी निरौला, एसपी विकास खनाल तथा डिएसपी संजय राउतमाथि मुद्दा दायर भएको थियो।
गोरे फरार भएपछि तस्करीको सुनका मालिक गोरेनै भनिदै आएको थियो। हाल जेलमा रहेका अभियुक्तहरूले पनि यस्तै बयान दिएका थिए। तर, गोरे पक्राउ परी अदालत पेस भएपछि घटनाले अकै मोड लिएको छ।
पक्राउ परेका अधिकांश प्रहरी कर्मचारीलाई गोरेले बचाउ गरेका छन्।
गोरेले प्रहरीलाई जानजान बचाएको छानबिन समितिको बुझाई छ।
समितिका एक सदस्यले सेतोपाटीसँग भने, ‘गोरेले जानजान प्रहरी कर्मचारीलाई बचाउ गरेको देखियो। हामीले लिएको बयान र अदालतको बयानमा फरक मत आयो,’ ती सदस्यले भने,‘हामीसँगको कुरामा गोरेले पक्राउ परेका प्रहरी कर्मचारीको संलग्नता रहेको बताएका थिए, अझ एसएसपी दिपेश लोहनीलाई केन्द्रीय अनुसन्धान ब्यूरोमै चिनेकोसमेत भनेका थिए।’
अदालतको बयानमा (हाल जेलमा रहेका) प्रहरी कर्मचारीलाई बचाए पनि गोरेले समितिसँगको बयानमा कर्मचारीको संलग्नता रहेको दाबी गरेको ती सदस्यले भने।
‘गोरेले समितिको बयानमा भने अनुसार बरामद रजिस्टरमा उल्लेख भए अनुसार प्रहरी कर्मचारीले रकम लिएकै हुन् र सहयोग पनि गरेकै हुन् भनेको देखियो,’ उनले भने।
तर उक्त कुरालाई गोरेले अदालतमा फरक मत राखे। उनले प्रहरीका डिएसपी प्रजित केसी, एसएसपी श्याम खत्री र सई बालकृष्ण संजेलबाहेक अन्यलाई नचिनेको बताएको र अवैध सुनको कारोबारमा उनीहरुको कुनै पनि संलग्नता नरहेको दाबी गरेका छन्।
उनले अदालको बयानमा सनमको लास व्यवस्थापन गर्नेबारे डीएसपी प्रजित केसीले रकमको डिल गरेको स्वीकारेका छन्।
उनले बालकृष्णको बचाउ गर्दै रकमको डिल डिएसपी केसीसँगै गरेको र त्यो बारेमा बालकृष्णसँग कुनै डिल नभएको बयान दिएका छन्।
उनले अदालतको बयानमा भनेका छन्, ‘बालकृष्ण सन्जेल) को घर पूर्वनै भएकाले म मामा भन्थेँ, हामीबीच कहिलेकाँही फोन सम्पर्क भइरहन्थ्यो, निजले काठमाडौं गोठाटारमा घर बनाउँदै गर्दा मसँग ३५ लाख रकम मागेका थिए, सो रकम मैले दिएको थिएँ। २५ लाख फिर्ता गरिसकेका छन्, अब १० लाख लिन बाँकी छ।’
गोरेले बयानमा अगाडि भनेका छन्,‘बालकृष्ण सन्जेलले मसँग पैसाको लेनदेनको कुरा गरेनन्, डीएसपी प्रजित केसी र सई सन्जेल काठमाडौंबाट हिँडेपछि बाटोमा सन्जेलको मोबाइलमा डीएसपी प्रजित केसीले रकमको डिल गरेका थिए। मैले घटनाको बारेमा पहिलो जानकारी बालकृष्ण सन्जेललाई दिएको हुँ, निजले आत्तिनु पर्दैन म सहयोग गर्छु भनेका थिए।’
गोरेको नजरमा श्याम खत्री मुख्य मान्छे
गोरेले फरार एसएसपी श्याम खत्रीलाई सुन सेटिङको नाईके भन्दै प्रहरीको सम्पूर्ण काम उनैले गरेको अदालतमा बयान दिएका छन्।
गोरेले अदालतका बयानमा भनेका छन्, ‘अवैध तरिकाले विदेशबाट आउने सुन एसएसपी श्याम खत्रीको कोठामा पुग्थ्यो, खत्रीलेनै समय अनुकुल मिलाएर बाहिर निकालेर भनेको ठाँउमा ल्याईदिन्थे।’
गोरेको बयान अनुसार एसएसपी खत्रीले विमानस्थलबाट आएको तस्करीको सुन सरकारी गाडीमै राखेर तस्करीको अड्डासम्म पुर्याउने गरेका थिए।
विदेशबाट सुन बोकेर नेपाल आएका भरिया सिधै खत्रीको कोठामा जाने र त्यहाँ सुन छाडेर बाहिर आउने गरेकोसमेत गोरेले अदालतमा बयान दिएका छन्।
दैनिक एक पटकमा २५ देखि ३० किलो सुन सोही माध्यमबाट खत्रीले बाहिर निकाल्ने गरेको र सुन ल्याएको अन्तिम मितिसम्म खत्रीले ४ देखि ५ सय किलो सुन पास गराएको बयान दिएका छन्।
गोरेको बयान अनुसार खत्रीले त्यसरी बाहिर ल्याएको सुनको ज्याला ५० हजार लिने गरेका थिए।
एयरपोर्ट बाहिरका प्रहरी अधिकृतलाई पनि रकम दिनुपर्ने भन्दै खत्रीले हिसाब लिने गरेको गोरेले बयान दिएका छन्।
गोरेले बयानमा भनेका छन्, ‘एयरपोर्ट हुँदै आउने सुन बाहिर ल्याउने एयरपोर्ट भित्रका प्रहरी, एयरपोर्ट बाहिरका प्रहरी सबैको सहयोग चाहिन्छ। मेरा काका पर्ने डीआईजी गोविन्द निरौला एयरपोर्टको चिफ भएर गएपछि मैले लाइन मिलाइदिनुपर्यो भन्दा मलाई उल्टै गाली गरि धन्दा छाड्न भने। त्यसपछि छिरिङले एयरपोर्ट बाहिरको डीआईजीमार्फत भित्रका एसएसपी श्याम खत्रीसँग लाइन मिलाए निज खत्रीले नै सुन बाहिर निकाल्थे र रकम बुझ्ने गर्थे।’
रकमको सम्पूर्ण विवरण सनम शाक्यले राख्ने गरेको गोरेले बयानमा भनेका छन्। ‘रकम वितरण मृतक सनम शाक्यले राख्थे, रजिष्टरमा उल्लेखित डीआइजी, एसपी, डीएसपी, पुलिस, ड्राइभर को को हुन् यकिन भन्न सक्दिनँ, एयरपोर्ट बाहिरका प्रहरी अधिकृतलाई पनि रकम दिइन्थ्यो, बाहिरकालाई दिने भन्दै एसएसपी श्याम खत्रीले रकम बुझेर लिन्थे।’
गोरे पक्राउ पर्नुअघि अभियुक्तले अवैध सुन नेपाल भित्र्याउने मुख्य नाईके गोरे बताएका थिए। तर पक्राउ परेका भुजुङ गुरूङदेखि गोरेकै सहयोगीले गोरे पक्राउ परेपछि सबै कुरा बाहिर आउने बताउँदै आएका थिए।
अहिले गोरेले पनि त्यस्तै गरेका छन्। गोरेले पनि फरार श्याम खत्री र एमके भन्ने मोहन कुमार अग्रवाल पक्राउ परे सबै कुरा पत्ता लाग्ने दाबी गरेका छन्।
संगठित अपराध गर्नेले अपनाउने उपाय गोरेले अपनाएको समितिको ठहर छ।
सेतोपाटीसँगको कुरामा समितीका एक सदस्यले भने, ‘संगठित अपराधमा यस्तै हुन्छ, पक्राउ परेकाले फरार रहेकाको टाउकोमा हाल्ने र आफ्नो बचाउ गर्छन्।’