'छोराछोरी रुँदै रोगभोगले क्या खाऊँ र क्या लाऊँ...
तर्रै आँशु चुँदै महिलाका पीडमर्का हेर्या...
हुम्लीका पाऊ दुख्या मुगु जिल्ला गाडी गुड्या...
नेता जति लुक्या जनताका समस्या ल्यायौँ...।'
५६ वर्षे अदानकला महताराले सिमकोटका टलक्क टल्केका हिमालका अघिल्तिर उभिएर देउडा गाउँदा ‘साझा सवाल’ को रेकर्डिङमा उपस्थित करिब तीन सय मान्छेले मन खोलेर ताली पड्काए। कार्यक्रम सकिएपछि पूरै तीन दिनसम्म चप्पल पड्काएर उनी आफ्नो गाउँ श्रीनगर झरिन्।
अदानकलाले पहिलोचोटि मोटर गाडी आफ्नो माइती मुगु जिल्लामै देखेकी थिइन्। चढ्ने रहर खुब थियो, तर साथीहरू डराए। साथीहरूलाई एक्लै छोडेर गाडी चढ्न अदानकलाको मनले मानेन। सपनाको गाडी आँखैअगाडि छुटेर गयो, अदानकलाले हेर्दाहेर्दै विलायो।
आफ्ना अधिकांश साथीहरूकाजस्तै, अदानकलाका पनि सपनाहरू थिए।
अघाउन्जेल भात खाने सपना।
मनपरेको केटोसँग बिहे गर्ने सपना।
पेटभरि देउडा गाउने सपना।
तर उनको र साथीहरूको सपनाको गोरेटो कतै गएर छुट्टिनु थियो किनकी उनले देखेको सपनाको बाटोमा साथीहरूको जस्तो पूर्णविराम थिएन।
यही बाटो पछ्याउँदै आजभन्दा २२ वर्षअघि उनले एउटा अनौठो सपना देखिन्, आफ्नो नाम आफैंले लेख्ने।
गाउँमा सुरु भएको प्रौढ कक्षामा दूधे बच्चालाई ढाडको बर्खोमा पोको पारेर एक्लै पुग्दा उनलाई धुलौटोमा सिन्काले खोस्रेको आफ्नो नाम त्यति सुन्दर देखिन्छ भन्ने अन्दाज पनि थिएन।
अदानकलालाई धुलोसितको यो खेल जादूमय लाग्यो। बाल्यकालको भन्दा भिन्नै तर उत्तिकै रोचक।
यही धुलोमा उनले आफ्नो लेख्न सिकिन्, ‘अदानकला महतारा’।
साँवा अक्षर पढ्न सिकिन्, सबै एक्लै।
एकदिन प्रौढ शिक्षा पढाउने सर गाउँका लागि स्वास्थ्य स्वयंसेविका खोज्दै आए। बच्चा च्यापेर धुलौटोमा सिन्काले लेख्दै मेट्दै गरेकी अदानकला देखेपछि सोधे, 'सुयम्सेविका बन्न्या हुन्?'
अदानकलालाई स्वयंसेविका भनेको के हो थाहा थिएन तर अनौठो नाम र केही ‘बन्ने’ कुरा सुन्नासाथ उनको सपनाले अर्को फड्को मार्यो।
फुरुङ्ग परेर 'हुन्छ' भनिन्।
अक्षरसितको प्रेम उनलाई फाप्यो।
रहरको सानो बिरुवामा अवसरका ससाना फूल फुल्न थाले।
आज व्यथाले छटपटाउँदै गरेका बैकिनीहरूका पेटभित्रबाट उनले हातैले खोतलेर निकालेका केटाकेटीले पनि बाइसौं बसन्त पार गरिसके।
कति बच्चा रुँदै निस्किए, कति घरपरिवारलाई रुवाउँदै। कति न आफू रोए न तिनको लेखान्तका लागि दुई थोपा आँशु चुहाइदिने नै कोही भए।
सन्तानको रहर नहुँदा नहुँदै पनि वर्षैपिच्छे जन्मने सन्तानले बाटोमेलो नपाएका आमाहरूका लागि ती जन्मनुअघि नै झन्झट र टाउको दुखाइमा परिणत भइसकेका हुन्थे।
जो रुँदै निस्किए, उनीहरूमध्ये पनि कतिपयलाई आमा भन्न नपाउँदै कुपोषणले लग्यो। कतिलाई हैजाले लग्यो त कतिलाई कर्णालीले।
अदानकलाका आफ्नै दुई भाइ छोरालाई कर्णालीले एकै घानमा सर्लक्क निल्यो। कतिलाई ‘यल्ले’ भन्ने समेत थाहा नदिई कालले निल्यो।
उनीहरूका दौंतरी पढ्न सहर जाँदा वा जोई लिएर घर आउँदा अदानकलाको मन अझै कटक्क दुखेर आउँछ।
लगभग चार दशकसम्म तन्किएको आफ्नो प्रजनन् क्षमताशील उमेरमा अदानकलाले ११ सन्तानलाई करिब ९९ महिना पेटमा बोकेर हिँडिन्।
तीमध्ये ५ सन्तान उनको यादमा मात्र बाँच्निरहेका छन्। पटकपटकको सन्तानवियोग अनि नातिनातिनी भन्दा साना छोराछोरीको लाजले उनलाई घरिघरि हान्थ्यो। जहाँ जाँदा पनि बोकेर हिँड्नुपर्ने छोराछोरीले गर्दा उनी राम्ररी काम गर्न पाउदिन थिइन्।
स्वयंसेविकाका रुपमा काम गर्दा संकलन गरेको परिवार नियोजनबारेका जानकारी कतिपटक उनले रात्री 'धर्म'का लागि तयार हुँदै गरेका श्रीमानका अघि घुटुक्क निलिन्।
एक दिन आँट गरेर स्वास्नीको 'धर्म'लाई आमाको मर्मले जितेर श्रीमानलाई भनिन्, ‘म त झुरिएँ, कति पाल्ने यति बिन्ना छाचोरी, ठौरठौर जाइकन बोकी कति ल्हिन्या, तुमी काँही जाऊ र थाई होऊ।'
श्रीमानले मानेनन्।
'यो क्या मानिकन हौर्याउन आँटी?' भनेर उल्टो शंका गरे। भने, 'मेरा छाचोरी क्या गोरु हेराउँदाहम् क्या?'
अदानकलालाई बुढेसकालमा फेरि आमा बन्नु थिएन। सुटुक्क स्वास्थ्य चौकीसम्म पुगेर पाखुरामा नर प्लान्ट राखिन्।
कहाँ के मात्रा मिलेन कुन्नि, रगत थामिएन। आफ्नो बोली काटेर उमेर ढल्केपछि सुई हाल्नुपरेको भनेर बुढाले पनि निको मानेनन्। धेरै दिनसम्म रगत नथामिएपछि उल्टो पैसा तिरेर सुई निकाल्नुपर्यो।
यसपालि भाग्य उनको पक्षमा थियो। सुई निकालेको केही समयमै महिनावारी रोकियो र उनलाई बुढेसकालमा ११ सन्तानले लुछेर झोलिएका दूध फेरि निचोर्नुपरेन।
त्यसो त मनमा लागेका कुरा भन्न र गर्न अदानकलाले सानै छँदादेखि नै थालेकी थिइन्।
२०३२ सालताक १३ वर्षको उमेरमा उनका बाबुले उनलाई थाहै नदिई प्रशस्त जग्गाजमिन भएको बुढो मान्छेसित उनको नामको 'च्यूला' खाइदिए। उनलाई यो चित्त बुझेन, भागेर माइती आएर बसिन् र लगभग एक वर्षपछि आफ्नै उमेरको केटो खोजेर भागिन्।
'अचेलको भए १३ लाख पुग्न्या, उइबेला मेरो १३ हजार जारी काट्या।'
श्रीमानले जारीको रकम तिर्दै गर्दा अदानकलालाई आफ्नो प्रेमले 'पूर्णता' पाएकोमा भन्दा पनि आफ्नो 'मर्जी' गर्न पाएकोमा चाहिँ बढ्ता आनन्द आएको थियो।
जग्गावाल 'बुढो'लाई छोडेर टुहुरो 'मनकारी' सित खुसी खोज्ने अदानकलाको निर्णय उतिबेलाको उनको उमेरजस्तो 'केटाकेटी' निस्केन।
चर्को घाममा बारीका पाटामा कोदाका रोटी उनीहरूले सँगै चपाए, अगेनाको डिलमा निदाएका छोराछोरीको अनुहार हेरेर खडेरीले सुकेको बालीको बारेमा सँगै पिरिए।
यी र यीजस्तै धेरै पलहरू आए, जतिखेर अदानकलालाई आफूहरूदेखि 'विचरा!' भाव जागेर आयो। तर माओवादी द्वन्द्वकालमा घटेको एउटा घटनाले जति विचरा उनीहरूले आफूलाई कहिल्यै ठानेका थिएनन्।
माओवादीको पकड हुम्लामा राम्रै परेको थियो। सरकारको नामनिसान थिएन। गाउँमा ‘जनसरकार’ले शासन गर्थ्यो। ‘जनयुद्ध’ सफल पार्न ‘जनसरकार’ले घरघरबाट एउटा मान्छे लडाकूको रुपमा लैजाने उर्दी जारी गरेको थियो। उनीहरू अदानकलाकी जेठी छोरी ताकिरहेका थिए।
केहीलाई ‘क्रान्तिकारी’ लागेको यो कदम अदानकलालाई चाहिँ ‘माओवादी ज्यादती’ लागेको थियो। यही ‘ज्यादती’ देखि सन्तोष चाहेबापत (बोलेबापत) 'आफ्नो सत्ता कहिले आला भन्दी छ' भनेर कसैले उनी विरुद्ध सुराकी लगाइदियो।
लगत्तै गाउँभरिका मान्छे भेला पारेर टाउकोमा तारा लगाएका केही मान्छेहरूले उनका बुढाबूढीलाई तोरीको फूल देखाए। अदानकलालाई त्यो दिन फेरि संसार देख्न पाउँला भन्ने लागेको थिएन।
उनलाई आज पनि लागिरहन्छ, 'म क्या थियाँ र सत्ता ल्याउन्या थियाँ?'
अदानकला त्यतिबेला 'छाउ' भएकी थिइन्। लात्तीको जोरले बुढा चउरमै ढले, हात उठाएर नथिच भन्न पनि सकेनन्। अदानकलाको पनि हर चल्न छोड्यो। एकछिनपछि त होस पनि हरायो। डरले खाटमुनि पसेर घुँक्कघुँक्क गरिरहेका छोराछोरीलाई तानेर, अँगालो हालेर, धीत मर्ने गरी रुन पनि सकिनन्।
'...ईऽऽऽ... यी नशा हुनिँया... एक महिनालऊ खणियाँ म।'
ती दिन सम्झँदा अदानकलाका आँखा अझै पनि रुझ्छन्, घाँटीमा साह्रो गाँठो परेर आउँछ।
तर गाँठो दबाएर पनि बोल्न नछोड्ने मान्छे अदानकला हो।
शरीरको घाउमा खाटा बस्न नपाउँदै वस्तुभाउ चराउन गएका दुई भाइ छोरा कर्णालीमा हेलिदिएर कर्मले पनि उनीसँग जोरी खोज्यो। लगत्तै माओवादीले जेठी छोरीलाई मिलिसियाको रुपमा लगेरै छाडे। बैनीलाई घर फर्काउँछु भनेर सट्टा गएको छोराका गह्रुँगा पाइलाहरूले अदानकलाको दिनको भोक खोसे, रातको निँद हरे।
छोरी त फर्केर आई तर छोरो आएन।
‘जनयुद्ध’को ‘शहिद’ बन्नबाट त जोगियो, तर घर बिर्सियो।
हिँड्नेबेला मुखमा धोतीको सप्को कोचेर रोएकी आमाको आँशु बिर्सियो।
हेर्न नसकेर पछाडि फर्किएका बाबुको रुँदा हल्लिएको कुम बिर्सियो।
ती कुममा भारी बोक्दा धस्सिएर फाटेको दौरा बिर्सियो।
छोरा हिँडेको दिनदेखि बाँचेको छ रे भन्ने थाहा नपाउन्जेलसम्म अदानकलाले कोदाको रोटीमा पनि छोरै देखिरहिन्।
पोलियो थोपामा पनि छोरै देखिन्। मुसलधारे पानी, हिउँको रास सबैतिर छोरा-छोरा देखिन्।
तर आँखामा उठेको आँशुको मूललाई रातभरि बाध्यताले थुनेर दिनभरि वनपाखासित देउडामा पोखिन सक्ने मान्छे अदानकला हो।
सामान्य मान्छे हुँदो हो त निभिसक्थ्यो होला। तर यी दुवै घटनाले अदानकलामा झनै आगो सल्काएर गए। एकथरी लप्को देउडाको रुपमा वनपाखामा सल्कियो, अर्कोथरीले उनको आवाज झनै तिखारेर ल्यायो। उनी खुला रूपमा राजनीतिमा होमिइन्।
'यिनीकन म एक्लै हानूँ भने पन हानिसक्न्या नाँइ ह्वोचेँ। जोर त धाइ थियो। यिनीसित कह गरी लडूँ ह्वोचेँ र म राजनीति खेल्ने भकी हुँ।'
यसपालि स्थानीय तहको चुनावमा उनले उपाध्यक्ष पद ताकेकी थिइन् तर पार्टीबाट टिकट पाइनन्। वडा अध्यक्षमा पनि पहुँच पुगेन।
सदस्यमा थन्किइन्।
त्यो पनि तालमेलले हराइदियो। तर अदानकला हार मान्नेमध्येकी होइनन्, अहिल्यैदेखि अर्को चुनावको बाटो हेर्न थालिसकिन्।
'बाँच्यापुडा छाडूँला?'
आफू बाँच्नेभन्दा बढी विश्वास उनलाई आफू चुनाव जित्नेमा छ।
कुनै समय थियो, अदानकलालाई महिलाका नाममा गाउँमा बजेट आउँछ भन्नेसम्म पनि थाहा थिएन, आफ्ना नाममा आएको बजेट कहाँ जान्छको त कुरै छाडौँ।
एकदिन गाउँमा एउटा गैरसरकारी संस्था आयो। टोलटोलका महिलाहरू भेला पारेर रातारात प्रौढ शिक्षा पढायो। महिला हिंसा र जागरणका कुरा सिकायो। महिलाका पनि पुरुषकाजस्तै अधिकार हुन्छन् भन्ने उनले पहिलोपटक यही संस्था मार्फत् थाहा पाइन्।
'ओ दैयाऽऽऽ!' त्यतिखेर झल्याँस्स भएर अदानकलाले भनेकी थिइन्।
अदानकलाले आफूमा आएको जागरणलाई आफूभित्रै मात्र राखिनन्। आफूजस्तै महिलाहरूका मुखबाट पनि 'ओ दैयाऽऽऽ!' सुन्ने तीव्र इच्छाले उनलाई पलेटी कसेर बस्न दिएन।
स्वास्थ्य स्वयंसेविकाको धोती लगाएर काउनो र चिनूको पौष्टिक महत्त्वसँगै अलिकति मौलिक अधिकारका कुरा पनि पस्कँदै हिँड्न थालिन्।
छाउपडी गोठहरू भित्र बिस्तारै महिला हिंसाका कुरा पनि हुलिदिइन्।
वर्षौटे जन्माउँदा जन्माउँदा वाक्क भएका बैकिनीहरूलाई भगवानले दिएजति सप्पै हात थाप्न पर्दैन र हुँदैन भन्ने रहस्य खोलिदिइन्।
अहिले श्रीनगर महिला संजालकी अध्यक्ष अदानकला आफूभन्दा पाका पुरुषहरूसामु गाउँसमाजका मिटिङदेखि पार्टीका बैठकहरूमा समेत हक्की स्वरमा नधकाई बोल्छिन्। चित्त नबुझेका कुरा नडराई भन्छिन्।
'बैकिनी मुख्यानी हुँदिन, बाख्रो बटालो हुँदैन!' पहिले तिनै पुरुषहरू मौका पर्नासाथ भन्थे। उनले चर्की मुख्यानी भएर देखाइदिइन्।
आजकाल अदानकलाको गाउँमा जारी छैन। तर बाल विवाह चाहिँ छ्याप्छ्याप्ती छ। बाल विवाह त पहिले पनि थियो तर प्रकृति फेरिएको छ।
पहिले छोराछोरीको विवाह बाबुआमाको मर्जीले हुन्थ्यो, अहिले आफ्नै इच्छाले पोइल जाने अघोषित चलनजस्तै भइसकेको छ। पोइल गएपछि स्कुलमा गयल हुने पनि अघोषित चलन नै भइहाल्यो। सिङ्गो गाउँमा विवाह नगरी यसपालि १२ को जाँच दिने जम्मा दुईजना केटी मात्रै छन्।
तीमध्ये एउटी अदानकलाकी छोरी हुन्।
अदानकलाकी छोरी ती भाग्यमानी छोरीमध्येकी पनि हुन जसलाई पहिलोचोटी महिनावारी हुँदा समेत छाउ बस्नु परेन।
अदानकलाले आफ्नै आँखाअघि आगो ताप्दा गोठ सल्केर डढेका ‘छाउ’ सपनाहरू देखिन्, बलात्कारको पीडा सहन नसकी पासोमा लट्किएका ‘छाउ’ आत्माहरू देखिन्।
रगत सोस्ने टालो नपाएर कहिले पिडौँलामा रगतका धारा चुहाउँदै त कहिले धोतीमा रगतका ढापमा एक हुल झिँगा पछि लगाएर उनी आफैं हिँडेकी छिन्।
तर आज समय उस्तै छैन।
आजका केटीहरू महिनावारी भएका छन् वा छैनन् भन्ने पनि उनीहरूले नभनेसम्म थाहा हुन्न। पहिले छाउहरू घरको तल्लो तल्लाको गोठमा गाईगोरुले पाउर मारेको सुन्दै निदाउने प्रयास गर्थे, अहिले सबैभन्दा माथिल्लो तल्लाको कोठा 'पाँड' मा बस्छन्।
अदानकलालाई यत्तिको लागि देउता रिसाउलान् भन्नेमा पनि विश्वास छैन।
'हामी महिलाले च्यूलो नहाले तिनिकन क्यै पाठपूजा हुन्या नाँइ!' उनी खुलेआम भन्छिन्।
अर्कोपालि स्थानीय चुनाव लडेर जित्नेबाहेक अदानकलाका अरू दुई सपना छन्। एउटा हुम्लाकै माटोमा गाडी चढेर मर्ने र अर्को मर्नुभन्दा अघि काठमाडौँ हेर्ने।
आफूजत्तिकै पाका भइसकेका यी सपनाहरूले आफ्नो घर्कँदो उमेरलाई नकुर्लान् कि भन्ने पीर उनलाई छ।
अदानकला जस्ता महिलाहरूका कथा अखबारका फ्रन्ट पेजमा अटाउँदैनन् किनकी उनीहरू रातारात कुनै चमत्कार गर्न सक्दैनन्।
उमेर छँदै मुजा परेका उनीहरूका अनुहारका चाउरी कुनै ब्युटी क्रिमहरूले पुर्न सक्तैनन्।
सल्लाको धुवाँ घोट्ताघोट्ता पट्पटी फुटेका उनीहरूका हातगोडाका खस्रा छाला कहिल्यै त्वचा हुन सक्दैनन् न अडिन्छन् नाम्लोको पातोले घोटेर तालु पारेका उनीहरूका रित्ता थाप्लाहरूमा सुन्दरीको ताज।
तर आँशु र पसिनाका थोपाले उनीहरूले सिर्जना गरेका तरङ्गहरू कुनै परिवर्तनका बाहकले ल्याएका छालभन्दा कम शक्तिशाली छैनन्।
ल्यापटपको छातीमा दर्शन ओकल्नेहरूले उनीहरूका व्यथामा साहित्य देखून्, नदेखून्, हिरोइनको क्लिभेजको ट्याटुबारे लेख्न तँछाडमछाड् गर्नेहरूले हाच्छ्यूँ गर्दा हाम्फाल्ने मासुको टुक्रो दपेटेर भारी बोक्ने महिलाहरूका संघर्षमा समाचार देखून्, नदेखून्, अदानकलाहरूले हिँडेको बाटोको पैतालाको डोब अब त्यसै बिलाउँदैन।
पहिले वनपाखामा सुस्केराको भाखामा चट्टानसित उनीहरूले खेल्ने देउडाले अहिले गाउँसमाजमै खुलेआम घोक्रो फुलाउँदैछ।
थर्थराउँदा हातहरूले ल्याप्चेका ठाऊँमा उनीहरूले दिने बाङ्गा डिकाहरूले परिवर्तनको नक्सा कोर्दैछन्।
बाख्राहरूले गाईबस्तुको बथानको नेतृत्व गर्लान् नगर्लान्, बैकिनीहरू चाहिँ यसरी नै मुख्यानी बन्दैछन्।