मासिएको सोह्रखुट्टे पाटी फेरि पुरानै ठाउँमा बन्ने


काठमाडौं, सोह्रखुट्टेस्थित प्राचीन पाटी बिउँताइने भएको छ। १९ औं शताब्दीतिर बनेको सोह्रखुट्टे पाटी २०७१ सालमा सडक विस्तार क्रममा मासिएको थियो। त्यहाँबाट पक्नाजोल जाने बाटो विस्तार गरिएको छ।

बीचमा बाटो परेकाले अब पहिलेको स्थानभन्दा पाँच मिटर यताउता पारेर बनाइन लागेको स्थानीय सन्त महर्जनले जानकारी दिए।

‘पाटीको वास्तविक स्थान मासिइसकेको छ। बीचको बाटो बिगार्न पनि समस्या भएकाले पाँच मिटर यताउति पारेर बनाउने निर्णय गरिएको हो,’ महर्जनले भने।

यसअघि यसलाई दक्षिणतर्फ पारिपट्टि प्रहरी चौकी र बृद्धाश्रम बीचमा बनाउने खाका तयार भएको थियो।

तर बनाउने भनिएको ठाउँमा पनि एतिहासिक ‘गाः हिटी’ भएको पुष्टि भएकाले स्थानीय एवं सम्पदाप्रेमीले आपत्ति जनाएका थिए। ढुंगेधारा पनि मास्न नहुने सम्पदा भएकाले यी दुवैलाई जोगाएर निर्माण गरिनुपर्ने माग उनीहरूले राख्दै आएका थिए।

यसै सन्दर्भमा बुधबार पुरातत्व विभागमा भएको छलफल कार्यक्रमपछि दुवै सम्पदा जोगाउने निर्णय भएको हो।

‘सोह्रखुट्टे पाटी इतिहास बोकेको सम्पदा हो,’ छलफलमा सहभागी महर्जनले भने, ‘तर एउटा सम्पदा बिगारेर अर्को नामको मात्र सम्पदा बनाउनु हुँदैन। हिटी पनि पाटी जत्तिकै महत्वपूर्ण छ।’

प्राचीन सभ्यतामा जहाँ पाटी हुन्थ्यो, त्यही ढुंगेधारा पनि बनाइने चलन थियो। पाटी भरिया एवम् यात्रुहरुका लागि थकाई मार्ने गतिलो स्थान हुन्थ्यो भने त्यससँगै बनेको धाराले तिर्खा मेटाउने काम गर्थ्यो। सोह्रखुट्टे पाटी र गाः हिटी पनि एकै समयमा निर्माण भएका हुन्। यसको ऐतिहासिक महत्व पनि उत्तिकै छ।

‘पाटी त जुन ठाउँमा थियो, त्यही बनाउन मिल्ने रहेछ,’ स्थानीय यादव लाल कायस्थले भने, ‘केही मिटर वरपर त हो। सडक विस्तार क्रममा मासिएको थियो। त्यहाँ अहिले टिनको पाताले बनाइएको अस्थायी ट्राफ्रिक प्रहरी प्रभाग छ, कामै नलाग्ने बाइक एवं रिक्सा थन्काएर राखिएको छ। त्यसलाई व्यवस्थित गर्ने हो भने हामीले पुरानै ठाउँमा पाटी बनाउन सक्छौं र सडक जाम लगायतको समस्या पनि सामाधान हुन्छ।’

महानगरपालिकाले पाटी पुनर्निर्माण गर्न बजेट विनियोजन गरिसकेको छ। सुरुमा यसको नक्सा बनाउँदा हिटी भएका ठाउँमा बनाउने प्रस्ताव अघि सारिएको थियो। यो प्रस्तावको स्थानीय र सम्पदाप्रेमीले आलोचना गरेका थिए।

तस्बिरः राजा राम तण्डुकारको फेसबुक

‘मैले त सरकारी निकायबाट भने अनुसार नै निर्माण गर्न खोजेको थिएँ,’ वडा अध्यक्ष मुकुन्द रिजालले भने, ‘पाटी र धाराको महत्व थाहा पाएपछि भने काम हुन दिन्नँ। यसका पुराना सरसामान र काठहरु खोजेर पुरानै स्वरुपमा बनाउने प्रयास गर्छौं।’

पुरातत्वकै प्राचीन समारक संरक्षण ऐनमा सय वर्षभन्दा पुरानो संरचनालाई नोक्सान गर्न, तोडमोड गर्न नपाइने नियम छ। पुरातात्विक सम्पदालाई अन्य व्यक्तिले विनाश गर्न खोज्दा नै पुरातत्वले नै विरोध गर्नुपर्नेमा आफैं गैरजिम्मेवार भएको आरोप स्थानीयको छ।

‘सोह्रखुट्टे एउटा उदाहरण बन्यो भने भविष्यमा अन्य सम्पदा पनि नरहलान् भन्न सकिन्न,’ स्थानीय महर्जनले भने।

सोह्रखुट्टे पाटी ऐतिहासिक मानिन्छ। भरिया एवम् बटुवाहरूको बास बस्ने र थकाई मार्ने ठाउँ मात्र नभएर राज्यलाई कर तिर्न आउने करदाताको भीड पनि यहीँ लाग्थ्यो।

एक तले पाटीमा सोह्रवटा खुट्टा थिए। पाटीको दायाँ–बायाँ ४–४ वटा र बीचको एक लाइनमा अरु चार र अर्को लाइनमा चार खुट्टा थिए। यसरी १६ खुट्टामा अडिएको यही पाटीको नामबाट नै ठाउँको नाम पनि ‘सोह्रखुट्टे’ भएको स्थानीय जानकार बताउँछन्।

यस्तै सोह्र खुट्टा भएका पाटी नेपालका अन्य ठाउँमा पनि छन् तर सबभन्दा परिचित भने यही हो।

पाटीसँग जोडिएको पुरानो इतिहास पनि छ।

यो सम्पदासँग नेपाल–तिब्बत युद्धको कथा जोडिएको छ। वि.सं. १८५५ मा नेपाल–तिब्बत युद्ध भएको थियो। युद्धमा नेपालीहरुले तिब्बतलाई कुती र केरुङ गरेर दुईतर्फि आक्रमण गरेका थिए।

नेपालले तिब्बतलाई जित्दै गएपछि चीनले युद्धविराम गर्न र सहमति गर्न सुझाएको थियो। त्यसपछि नेपाल र तिब्बतबीच केरुङ सम्झौता भयो। तर सम्झैता गरिएअनुसार मापदण्ड पूरा नहुँदा नेपालले ३ वर्षपछि फेरि युद्ध गर्यो। यो पटक तिब्बतलाई चीनका सेनाहरुले सघाए र नेपाली सेना लखेटे। युद्धमा नेपालका भोटु पाण्डेलाई भने तिब्बती सेनाले समातेर बन्दी बनाएका थिए।

पाण्डेले यो अवस्थाबाट छुटकारा पाउन नरदेवीको आराधना गरेका रहेछन्। त्यसको केही समयपछि उनी छुटे।

युद्धबाट बाँच्न सफल भएपछि भोटु कीर्ति राख्ने अभियानमा लागे। उनले नेपाल आएर देवीलाई खुसी बनाउन मठमन्दिर, पाटीपौवा, ढुंगेधारा बनाए। सोह्रखुट्टे पाटी पनि त्यहीबेला जिर्णोद्धार गरिएको हो। नयाँबजारमा भेटिएको शिलालेख अनुसार यो पाटी वि.स. १८६४ सालमा बनेको हो।

‘यस्तो इतिहास बोकेको सम्पदा सोह्रखुट्टे पाटीलाई स्थानीयकै सल्लाह अनुसार पुनर्निर्माण गरिनेछ,’ वडाध्यक्ष रिजालले भने, ‘हामीले अरू सम्पदा पनि यसैगरी बिउँताउँदै जानुपर्छ।’

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.