मिटरमा चल्न नमान्ने ३६ वटा ट्याक्सी प्रहरी नियन्त्रणमा


पोखराको विभिन्न सडकमा मिटरमा जान नमान्ने ३६ वटा ट्याक्सीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पोखरामा सञ्चालित भाडाका मिटर ट्याक्सीले सर्वसाधारण यात्रुसँग मिटरमा जान नमानी ‘बार्गेनिङ’ गर्ने गरेको उजुरीपछि प्रहरीले अनुगमन थालेको थियो।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले मंगलबार मात्र विभिन्न स्थानबाट ३६ वटा भाडाका मिटर ट्याक्सीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

पोखराका विभिन्न स्थानमा सादा पोशाकमा खटिएका प्रहरी टोलीले उक्त ट्याक्सीहरूलाई नियन्त्रणमा लिएका हुन्।

नियन्त्रणमा लिइएका ट्याक्सीहरूलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको प्रहरीले जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.