जनस्वास्थ्यको क्षेत्रमा कार्यरत इञ्जिनियरहरुको संस्था सोसाईटी अफ पब्लिक हेल्थ इञ्जिनियर्स(सोफेन)को अग्रसरतामा खानेपानी तथा ढल निकास विभाग र नेपाल इञ्जिनियर्स एशोसियनको सक्रिय सहभागितामा देशभर मानव मलमूत्रीय फोहरमैला व्यवस्थापन अभियान सञ्चालन हुने भएको छ ।
मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा तीनै संस्थाका प्रमुखहरुले यसको जानकारी दिएका हुन् ।
गत महिना चैत्र २७ देखि २९ सम्म राजधानीमा आयोजित जल,वातावरण र जलवायु परिवर्तन ज्ञानको आदान प्रदान र साझेदारी विषयक अन्तराष्ट्रिय सम्मेलनले पारित गरेका संकल्प र तिनको कार्यान्वयनका सन्दर्भमा जानकारी दिने उद्देश्यले सो पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।
पत्रकार सम्मोलनमा सोफेनका अध्यक्ष ई. रामदीप साहले सम्मेलनबाट पारित संकल्पहरु नेपालको सन्दर्भमा निकै सान्दर्भिक भएको बताउदै तिनको कार्यान्वयनको सिलसिलामा छिट्टै स्थानीय तहमा सरसफाईको क्षेत्रमा कार्यरत इञ्जिनियर र प्राविधिकहरुलाई मानव मलमूत्रीय फोहरमैला व्यवस्थापनका चुनौति र सरल एवम् वैज्ञानिक उपायका बारेमा जानकारी दिने उद्देश्यले एक राष्ट्रिय कार्यशाला गोष्ठीको आयोजना गरिने बताए ।
यसको लागि मानव मल—मूत्रीय फोहरमैलाको व्यवस्थापनका लागि आवश्यक ज्ञान र अनुभवको आदानप्रदान,जनचेतना अभिबृद्धि तथा नीतिगत,संस्थागत,नियामक खाका सम्बन्धी जानकारी दिने र सरोकारवालाको राय पनि लिने उद्देश्यले ७ वटै प्रदेशका नगरपालिका प्रमुखहरु तथा संबन्धित उपभोक्ता समितिका अध्यक्ष एवम् सरोकार वालाहरुको उपस्थितिमा एक दिवसीय कार्यशाला गोष्ठी आयोजना गर्दैछ।
त्यस्तै गरी नगरपालिकाका इञ्जिनियर-प्राविधिक, उपभोक्ता समितिका इञ्जिनियर तथा सरोकारवाला संस्थाहरु मध्येबाट १०० जना इञ्जिनियर र प्राविधिकहरुको ३ दिने मानव मल—मूत्रीय व्यवस्थापन एवम शहरी सरसफाईको क्षेत्रमा तालिम दिने कार्यक्रम तय गरेको छ ।
यस विभिन्न सरोकारवालाहरुको बीचमा संघीयतामा खानेपानी तथा सरसफाईको विषयमा १ महिनाभित्र एक दिवसीय कार्यशाला गोष्ठी गर्ने कार्यक्रम पनि गर्नेछ ।
खानेपानीको संकट समाधान, गुणस्तरीय पानीको उत्पादन र प्रभावकारी वितरणको साथै पानीको पुनउपयोगको बारेमा नेपालका नीति निर्माता र यस क्षेत्रमा कार्यरत प्राविधिक तथा स्थानीय तहका नेताहरुलाई जानकारी दिने उद्देश्यले कोरियन स्मार्ट वाटर ग्रीडसंग मिलेर २०७५ श्रावण महिनामा स्मार्ट वाटर विषयमा २ दिने कार्यशाला गोष्ठी आयोजना गरिन लागिएको हो ।
खानेपानी, स्वास्थ्य र सरसफाईको क्षेत्रमा कार्यरत इञ्जिनियरहरुले उक्त अन्तराष्ट्रिय सम्मेलनले पारित गरेका संकल्प सहितका विषयलाई कार्यान्वयन गर्न आगामी बजेटमा यथोचित व्यवस्था गराउनका लागि विभागीय मन्त्री र योजना आयोगका जिम्मेवार पदाधिकारीहरुलाई समेत भेटघाट गरि ध्यानाकर्षण गर्ने कार्यक्रम समेत तर्जुमा गरेको छ ।
चैत्र २७ देखि २९ गतेसम्म काठमाडौंमा सम्पन्न 'जल, वातावरण र जलवायु परिवर्तन: ज्ञानको आदानप्रदान तथा साझेदारी' विषयक अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन उपराष्ट्रपति नन्दकिशोर पुनद्धारा भएको थियो ।
नेपालका स्थानीय निकायका पदाधिकारी, उपभोक्ता समितिका प्रतिनिधि र नेपाल सहित विश्वका पानी, वातावरण र जलवायु परिवर्तनका क्षेत्रमा कार्यरत विज्ञ र व्यवसायीहरु गरी ७ सय भन्दा बढीको सहभागिता रहेको अन्तराष्ट्रिय सम्मेलनमा विभिन्न शत्रमा १८ वटा कि नोट पेपर र ११६ वटा कार्यपत्र प्रस्तुत गरी छलफल पश्चात आवश्यक संशोधन सहित पारित गरिएको छ र सम्मेलनले समापनको अवसरमा ११ बूँदे संकल्प पनि जारी गरेको थियो ।