प्रहरीले दरबारमार्गस्थित होटल ल्याण्डमार्कमा भएको सामुहिक बलात्कारको मुद्दा सोमबार जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमा बुझाएको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंले करिब तीन महिनाको अनुसन्धानपछि सोमबार उक्त मुद्दा काठमाडौं सरकारी वकिल कार्यालयमा बुझाएको काठमाडौं प्रहरी प्रवक्ता डिएसपी मोहन थापाले जानकारी दिए।
प्रहरीले घटनामा संलग्न मुख्य आरोपी शैलेश कार्कीसहित ४ जनालाई प्रतिवादी बनाएर मुद्दा बुझाएको हो।
मुख्य योजनाकार कार्कीलाई प्रहरीले पक्राउ गरी मुद्दासँगै बुझाएको छ। बाँकी अन्य तीन जना विकास गौतम, रवि पौडेल र दिपक श्रेष्ठलाई फरार प्रतिवादी बनाएर मुद्दा बुझाइएको डिएसपी थापाले सेतोपाटीलाई जानकारी दिए।
बलात्कार घटनाका मुख्य योजनाकार कार्कीलाई प्रहरीले गएको चैत ६ गते काठमाडौंको दरवारमार्गबाट पक्राउ गरेको थियो। घटनाका अन्य आरोपी विकास गौतम, दिपक श्रेष्ठ र रवि पौडेल फरार छन्।
काठमाडौं प्रहरीले दिएको रायको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गर्नेछ।
फरार पक्राउ गर्न इन्टरपोल गुहारीनेदरबारमार्ग बलात्कार काण्डमा फरार विकास गौतम, दिपक श्रेष्ठ र रवि पौडेललाई पक्राउ गर्न प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) लाई गुहार्ने भएको छ।
फरार तीनै जना देश बाहिर रहेको सूचना पाएपछि काठमाडौं प्रहरीले उनीहरूलाई पक्राउ गर्न इन्टरपोलमार्फत ‘डिफ्यूजन नोटस’ जारीको प्रक्रिया अघि बढाएको प्रवक्ता थापाले बताए।
उनीहरुको नाममा डिफ्यूजन नोटीस जारी गर्न आवश्यक पर्ने कागजपत्रसहित सोमबार इन्टरपोलमा पठाउने तयारी भईरहेको डिएसपी थापाले जानकारी दिए।
के हो घटना? माघ ७ गते दरबारमार्गस्थित होटल ल्याण्डमार्कमा शैलेश कार्की, विकास गौतम, दिपक श्रेष्ठ र रवी पौडेललेले १८ वर्षे युवतीलाई सामुहिक बलात्कार गरेका थिए।
पीडित युवतीले माघ ८ गते प्रहरी वृत्त दरबारमार्गमा आरोपित ४ जनाले आफूलाई बलात्कार गरेको र सोही बेला नग्न तस्बिर तथा भिडियोसमेत खिचेर राखेको भन्दै उजुरी गरेकी थिइन्।
पीडित युवतीले आफू कामबाट घर फर्कदै गर्दा आरोपी कार्कीले फोन गरेर घर पुर्याउने शर्तमा बोलाएका थिए। त्यसपछि कार्कीले मदिरा खुवाएर घर जान नदिएर होटल लगि साथीलाईसमेत साथमा लिएर बलात्कार गरेको भन्दै उजुरी दिएकी थिइन्।