धेरै वर्षसम्म शारीरिक र मानसिक हिंसा सहेर चुपचाप बसेकी मुना अधिकारी गत साता राति नै प्रहरी थाना पुगिन्।
घरमा श्रीमानले कुटपिट गरेपछि उनी घर छोडेर माइत हिँडेकी थिइन्। बिच बाटोमा पर्ने ललितपुरस्थित बाडेगाउँ प्रहरी चौकी पसेर उनले आफूमाथि कुटपिट भएको मौखिक उजुरी दिइन्। श्रीमानको पिटाइले उनको आँखा वरिपरि निलडाम थियो।
अधिकारी सामान्य नागरिक मात्र होइनन्, नागरिकले भोट हालेर जिताएकी गोदावरी नगरपालिकाकी उपमेयर हुन्। नगरपालिकाको न्यायिक समितिको नेतृत्व उनैले गर्नुपर्छ।
उनको उजुरी त्यहाँको प्रहरीले सुन्यो। तर कारबाही अघि बढाएन।
भोलिपल्ट अधिकारी ललितपुर महानगरीय प्रहरी परिसर पुगिन्। फेरि उजुरी दिइन्। श्रीमानले कुट्दा आँखा बसेको निलडाम बाँकी नै थियो।
श्रीमानबाट आफूलाई असुरक्षा भएको जानकारी गराइन्।
प्रहरीले उनका श्रीमान् ध्रुव कुँवरलाई पक्राउ गरेर हिरासतमा राख्यो। तर २४ घन्टा नबित्दै कुँवरलाई छोडिदियो। उनलाई कुनै कारबाही भएन।
जबकि अधिकारीले आफूलाई श्रीमानले २५ वर्षदेखि बारम्बार शारीरिक र मानसिक आक्रमण गर्ने गरेको प्रहरीलाई जानकारी गराएकी थिइन्।
तर पनि कुवँर छुटे। उनले कुनै करबाही भोग्नु परेन। महिला हिंसाको आरोपमा पक्राउ गरिसकेपछि कुँवरविरुद्ध प्रहरीले किन कारबाही अघि बढाएन?
अधिकारीले नै लिखित जाहेरी नदिएको र कारबाही अघि बढाउन नचाहेको परिसरका प्रवक्ता नरेन्द्र चन्दले सेतोपाटीलाई बताए।
अधिकारीले दुई पटक प्रहरीलाई स्वयं उपस्थित भएर उजुरी दिएकी थिइन्। त्यो बेला प्रहरीले लिखित जाहेरी मागेन।
मौखिक उजुरीकै आधारमा ध्रुव कुँवरलाई पक्राउ गर्यो र एक दिन थुन्यो पनि।
कुवँरले प्रहरीसामू आफूले कुटपिट गरेको सकारेका छन्। अधिकारीको ज्यानमा चोट लागेको प्रहरीले देखेको छ।
हिंसा गरेको यत्रो प्रमाण हुँदाहुँदै प्रहरीले कुँवरलाई सजिलै छोडिदियो।
घरेलु हिंसासम्बन्धी कानूनमा शरीरको कुनै अंग बिग्रिने गरी शारिरीक यातना दिए वा तेजाबले आक्रमण गरे प्रहरीले आफैं मुद्दा चलाउन सक्ने उल्लेख छ।
घरेलु हिंसासम्बन्धी मौखिक उजुरी परे त्यसको विवरण प्रहरीले आफैं लेखेर वा सम्बन्धित पक्षलाई लेखाएर दर्ता गर्नुपर्ने कानूनमा उल्लेख छ।
उपमेयर अधिकारीलाई घटनामा प्रहरीले कुँवरविरुद्ध आफैं मुद्दा चलाउनु त परको कुरा सुरूदेखि नै मिल्न कर गर्यो।
उजुरी दिएको भोलिपल्ट अधिकारी ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्यालसँग ललितपुर प्रहरी परिसर पुगेकी थिइन्।
पहिले उनीहरू ललितपुर प्रहरी प्रमुख एसएसपी गणेश ऐरको कार्यकक्षमा गए। बस्न नपाउँदै ऐरले नै कुरा सुरू गरे।
उनले भने 'यस्तो नराम्रो घटना भएछ। निकै दु:ख लाग्यो। तपाईंले रिपोर्ट गरेर जानुभो मलाई पनि माथिबाट निकै दबाब आयो अनि बेलुका समाउन पठाइ हालेको हुँ।'
आफूमाथि पहिलैदेखि हिंसा हुँदै आएको अधिकारीले सुनाइन्। आफ्ना श्रीमानको अरू महिलासँग सम्बन्ध भएको बताउन लाग्दा एसएसपी ऐरले उनलाई रोके।
भने, 'यस्ता कुरा नबोल्नुहोस्।'
'मैले अपशब्द त बोलेकी थिइनँ तर पनि उहाँले त्यसो भनेपछि म चुप लागें। मेरा कुरा ध्यान दिएर सुन्नु पनि भएन,' अधिकारीले भनिन्, 'म गएको १० मिनेटपछि श्रीमान् र अरू परिवारलाई बोलाउनुभो।'
एसएसपी ऐरको कार्यकक्षमा छिर्नेबित्तिकै कुँवरले मुनासँग माफी मागे।
'मैले त्यसो गर्न नहुने हो, सरी! मेरो त्यो बेला होस थिएन, अब कहिलै यस्तो गर्दिनँ,' कुँवरले भने।
कुवँर हरेक पटकको कुटपिट पछि यस्तै ‘नाटक’ गर्छन् भन्ने मुनालाई थाहा थियो।
माफी मागेको देखेपछि एसएसपी ऐरले 'उहाँले माफी मागिहाल्नु भो मिलेर जानुहोस्' भन्न थाले।
'एसएसपीले मेरा कुरा सुन्नै चाहनुभएन। उल्टो माफी मागेपछि मिलेर गए हुन्छ भन्न थाल्नुभयो। दबाबै दिनुभएको त होइन तै पनि कारबाही गर्नुको सट्टा उहाँले मिलेर जान सुझाव दिएको देखेर म छक्क परें,' अधिकारीले भनिन्।
प्रहरीको जोड मिलापत्र गर्ने र मिलेर जानेमा थियो। अधिकारीले मिलापत्र नगर्ने अडान राखिन्।
'म मिलेर बस्न त अब सक्दै सक्दिनँ। उपमेयरजस्तो मान्छेले पनि यस्तो हिंसा हुँदा मिलेरै बस्ने हो, अन्याय सहेरै बस्ने हो भने जनताले के सोच्छन्? अरुलाई के सन्देश जान्छ?' उनले भनिन्।
एसएसपीले उनलाई सोधे-ल भन्नुहोस, के गर्ने तपाईं जे भन्नुहुन्छ त्यही गर्नुपर्यो हामीले त।
त्यसपछि परिवारले कुँवरको मानसिक अवस्था ठीक नरहेको डाक्टरी कागज देखाए।
त्यो कागज खासमा अर्कै थियो।
केहीअघि अधिकारीले नै श्रीमानलाई मनोपरामर्श दाताकहाँ लगेकी थिइन्, रक्सी छुटाउन। डाक्टरले उनलाई औषधि दिएका थिए। तर कुँवरले डाक्टरको औषधी नखाएको अधिकारी बताउँछिन्।
'मलाई पागल बनाइस् भनेर झन् यातना दिन थाल्नुभएको थियो,' उनले भनिन्, ‘प्रहरीकहाँ आएपछि उहाँले त्यही कागजको सहारा लिनुभयो।'
प्रहरी र परिवारले नै मिल्नमा जोड दिएपछि श्रीमानलाई थप कारबाही हुनैपर्छ भन्ने अडान लिन उनले सकिनन्।
मिलापत्र गरेर सँगै बस्न पनि मानिनन्।
केही समयपछि कुँवरलाई कानुनी रूपमै 'डिभोर्स' दिने मन बनाएर उनी माइतीमा बस्न थालिन्।
उनका श्रीमानलाई भने प्रहरीले त्यही दिन छोडिदियो।
एसएसपी ऐरले उनीहरूलाई मिल्न दबाब नदिएको जिकिर गरे। महिला हिंसामा कुँवरमाथि कारबाही अघि नबढाउनुको कारण भने लिखित जाहेरी नपरेको नै देखाए।
'उहाँले जाहेरी दिएको भए हामीले कारबाही अघि बढाएर अदालतमा मुद्दा लैजानै पर्थ्यो, लैजान्थ्यौं पनि। उहाँले मौखिक उजुरीमात्र गर्नुभएको थियो। मिल्न दबाब त मैले दिएकै छैन। अरु कुरा त उहाँलाई नै सोध्नुस,' उनले भने। घरेलु र महिला हिंसामा प्रहरी संवेदनशील रहेको पनि उनले बताए।
घटनाक्रमले प्रहरी महिला हिंसाप्रति सम्वेदनशील भएको देखाउँदैन।
अधिकारी घटनापछि कारबाहीकै लागि दुई पटक प्रहरीकहाँ पुगेकी थिइन्। कारबाही गर्न निवेदन चाहिन्छ भनेको भए, उनले निवेदन नदिने कुरै थिएन।
पीडितलाई जसरी प्रहरीले पीडकसामू राखेर मिल्न सुझाव दियो, त्यसले महिला हिंसाका घटनामा प्रहरीको गैरजिम्मेवारी मात्र देखाउँछ। पीडितप्रति सहानुभुति राख्नुपर्नेमा प्रहरीको सहानुभूति पीडकप्रति देखियो।