सिण्डिकेट तोड्ने सरकारी निर्णयका विरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गरेका यातायात व्यवसायीको सवारी साधन नचलाउने निर्णयको रुपन्देहीमा पनि बिहानैदेखि प्रभाव परेको छ ।
व्यवसायीले शुक्रबारदेखि सार्वजनिक सवारी साधन नचलाएर ग्यारेजमा थन्क्याएर आन्दोलनमा उत्रिएका छन्। सार्वजनिक सवारीका साधन ठप्प भएपछि विहानैदेखि सडक सुनसान बनेको छ ।
सार्वजनिक सवारी साधन नचलेपछि बिहानी समूहमा कलेज तथा विद्यालय जाने विद्यार्थीहरु बाटोमा अलपत्र परेका छन्। सर्वसाधारण पनि सवारी साधनको पर्खाईमा सडक किनारमा बसेका देखिन्छन्।
बिहानैदेखि सवारी साधनको आवतजावतले भिड रहने मुख्य राजमार्ग नै बिहानैदेखि शून्य बनेको छ । व्यवसायीले बिहिबार साँझदेखि नै बसपार्कमा राखिएका गाडीहरु ग्यारेज र अन्यत्र लगेर थन्क्याएपछि बसपार्क पनि खाली बनेको छ ।
व्यवसायीहरुले सरकारले आफूहरुलाई विस्थापित गर्ने गरी नयाँ नियम लागू गर्न थालेको बताउँदै चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन्।
यता आफ्नै जनशक्ति प्रयोग गरेर भए पनि सवारी साधन चलाउने बताएको प्रशासनको उपस्थिति अहिलेसम्म सडकमा शून्य देखिएको छ । भारतको दिल्लीदेखि नारायणगढको लागि यात्रु लिएर आएको बसले राजमार्ग चौराहमा यात्रुहरुलाई ओराल्दा प्रहरी नै सहयोगी बनेको थियो ।
नारायणगढ सम्मको भाडा बुझाएर आएका यात्रुहरु बसबाट ओर्लन नमान्दा प्रहरीकै सहयोगमा सवारी चालकले यात्रुहरुलाई झारेका थिए।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाले बिहीबार भने आफ्नै जनशक्ति प्रयोग गरेर भए पनि सवारी साधन चलाउने बताएका थिए।
यातायात व्यवसायीले गर्ने आन्दोलनलाई निस्तेज पारी सरकारले गरेको निर्णय कार्यान्वयनको लागि खरो रुपमा उत्रने बताएका रानाले शुक्रवार विहान भने आफ्नै भनाईको कार्यान्वयन गर्न सकेनन् ।