सार्वजनिक विषयमा छलफल बढाउने र पठन संस्कृतिको प्रवर्द्धन गर्ने लक्ष्यका साथ स्थापित ‘डबली द स्पेस बुक क्याफे’को स्थापना भएको छ। भरतपुर विमानस्थल नजिकै रहेको क्याफेले आफ्नो उद्घाटनको अवसरमा विभिन्न अन्तर्क्रिया कार्यक्रम गरेको छ ।
उद्घाटनको पहिलो दिन 'कहाँ बाटो बिरायो शिक्षाले' भन्ने विषयमा शिक्षाविद केदारभक्त माथेमाले प्रमुख मन्त्व्य राखेका थिए। सो अवसरमा उनले अन्य देशको तुलनामा नेपालमा शिक्षा क्षेत्रको बिकास ढिलो शुरु भएको हुँदा शिक्षाको मामलामा नेपाल 'बिचरा' भएता पनि पछिल्ला दसकहरुमा स्कुल र विश्वविद्यालयहरुको स्थापना, क्याम्पस जाने जनसंख्या आदिमा उल्लेख्य संख्यात्मक वृद्धि भएको बताए।
ख़ास गरी चरम राजनीतिक हस्तक्षेपका कारण निरन्तर खस्कँदो सार्वजनिक शिक्षाको गुणस्तरको बारेमा उहाँले चिन्ता व्यक्त गरेका थिए। ‘देश विकास गर्ने हो भने सार्वजनिक शिक्षाको विकास नै हुनुपर्छ। संसारका धेरै देश हेर्नुस्, जहाँ प्रगति भएको छ, त्यहाँ सार्वजनिक शिक्षा निःशुल्क र गुणस्तरीय छ र विश्वविद्यालयहरु बलिया छन्,’ उनले भने।
उनले संविधानमा नै समाजवाद उन्मुख लेखिएको र दुई कम्युनिष्ट दलहरुको गठबन्धन सरकार भएकोले सार्वजनिक शिक्षालाई बलियो बनाउने, गुणस्तरीय शिक्षामा सबैको पहुँच पुर्याउने र शैक्षिक संस्थाहरुलाई बलियो र स्वायत्त बनाउने अवसर आएको बताए।
‘यो सरकारको परीक्षा यही नै हो। उहाँहरु आफ्नै घोषणापत्र र संविधानमा लेखेको विषयमा कतिको प्रतिवद्ध हुनुहुन्छ भन्ने कुरा सार्वजनिक शिक्षालाई बलियो बनाउन उहाँहरुले गर्ने प्रयासले निर्धारण गर्दछ,’ उनले भने।
सन् २००५ मा विद्यालय भर्ना भएका १४ लाख केटाकेटीमध्ये सन् २०१५ मा आउँदा ४ लाखले मात्र एसएलसीमा संलग्न भएको उदाहरण दिँदै उनले ख़ास गरी नेपालको सार्वजनिक स्कूले शिक्षा 'हरर स्टोरी' भएको र शिक्षा ऐनको नवौं संशोधनले अरु बीस वर्षका लागि स्कूले शिक्षालाई बर्बाद गरेको बताए।
कार्यक्रमको दोस्रो दिन साहित्यकार नारायण ढकालको पछिल्लो पुस्तक 'हजार माइलको बाटो' र उनको समग्र लेखनबारे छलफल भएको थियो। कार्यक्रममा ढकालले इतिहासलाई आख्यानमा ढाल्न आफूले विभिन्न प्रयासहरु गरेको बताए।
उनले व्यक्तिको चिन्तन साहित्य लेखनमा पनि अभिव्यक्त हुने भएकोले आफ्नो लेखनमा पनि प्रगतिशिलता देखिनु अस्वाभाविक नभएको बताए।
कार्यक्रममा सरिता तिवारी ढकालले यथार्थपरक विषयवस्तु र यथार्थ पात्रहरु नै लिएर लेख्ने हुनाले नेपाली समाजमा अन्तर्निहित द्वन्द्वहरु केलाउन सघाएको बताइन्।
ढकालको लेखनले इतिहासलाई भिन्न दृश्टिकोणबाट हेर्न सघाउने पनि उनले बताइन्।
सहभागीले ढकालको लेखनमा नारीपात्रहरु नआएको र सधैँ काठमाडौँको काँठको विषयमात्र आउँदा विविधता हुन नसकेको तथा लेखकहरुमा एक अर्काको स्वस्थ आलोचनाको संस्कृति नबसेको भन्ने जस्ता धारणा राखेका थिए ।
कार्यक्रमको तेस्रो दिनमा लेखक कुमारी लामा र अध्येता उदयराज अधिकारीसँग कवि सुमनराज श्रेष्ठले लेखक-पाठक अन्तर्क्रियाले लेखनको गतिशिलतामा पुर्याउने प्रभावबारे कुराकानी गरेका थिए।
छलफलमा बोल्दै लामाले राजनीतिक आन्दोलनको विकाससँगै नेपाली साहित्यमा सिमान्तकृतहरुको आवाज लेख्ने क्रम बढे पनि त्यस्तो साहित्यलाई बजार र मीडियाले न्याय गर्न नसकेको बताए।
‘अब हामीहरुले सिमान्तकृतभित्र पनि सिमान्तकृत जस्तै महिलाभित्र मुसलमान महिला, दलितभित्र पनि तराइको दलित र तेस्रो लिङ्गीहरुबारे लेख्न थाल्नुपर्छ,’ उनले भने।
अध्येता उदयराज अधिकारीले लेखक बजारबाट मात्र निर्देशित हुनुभन्दा बैचारिक र सैद्धान्तिक नेतृत्व लिन तयार नै हुनुपर्ने तथा अबका पाठकले संसारभरको साहित्य पढ्न भ्याएकाले लेखकलाई विगतमा झैँ सधैंभर उही विषयवस्तु उही शैलीमा लेखिरहनेभन्दा पनि युग सुहाउँदो लेखन गर्न दबाब भएको बताए।
अन्य सहभागीहरुले नेपालमा बालसाहित्य र किशोरकिशोरी लक्षित साहित्यको पनि गुणात्मक बिकास हुन नसकेको औँल्याए।
साहित्य, सँस्कृति, सँगीत, कला र समसामयिक राजनीति लगायतका विषयमा छलफल चलाउने, नेपाली र विदेशी लेखकका पुस्तकहरु उपलब्ध गराउने र पठन र बहस सँस्कृतिको बिकास गर्ने लक्ष्यका साथ डबली बुक क्याफे शुरु गरिएको क्याफेकी व्यवस्थापक शारदा क्षेत्रीले बताइन्।
डबली बुक क्याफेमा कफी, फास्ट फुड, पढ्नको लागि वातानुकुलित कक्ष र विभिन्न कार्यक्रमहरु गर्नका लागि मञ्च र हलहरु पनि उपलब्ध गराइने उनले जानकारी दिइन्।