आफ्नो सिर्जनाका माध्यमबाट लामो समयदेखि नेपालका आवाजविहीनलाई आवाज दिँदै आएकी बेलायती कलाकार ज्यान स्याल्टरको निधन भएको छ।
बेलायतको लाइम रेगिसस्थित आफ्नै घरमा सुतिरहेकै अवस्थामा ८२ वर्षीया स्याल्टरको शनिबार निधन भएको हो। आधा दशकभन्दा लामो समयको नेपाल बसोबासपछि उनी गत वर्ष मात्र स्वदेश फिरेकी थिइन्।
उनले नेपाल रहुन्जेल यहाँका आदिवासी, जनजाति, बेचबिखनमा परेकी चेलिबेटी र सडकमा दुर्गतिपूर्ण जीवन बाँचिरहेका कुकुरसँग सामीप्य बनाएकी थिइन्।
यसको झलक ‘माइती नेपाल’ को भित्तामा देखिन्छ।
हजारौं बेचिएका चेलीबेटी उद्दार गर्ने यो संस्थाको मूल भवन पस्नेबित्तिकै सिँढीसँगै भित्तामा लहरै टाँगिएका पेन्टिङ देखिन्छन्। ती प्रत्येक पेन्टिङले नेपाली चेलीको पीडाबोध गराउँछ। सिसाकलमदेखि तैलरंगसम्मका प्रयोगले तयार भएका त्यस्ता चित्र पछ्याउँदै गएपछि सबैभन्दा माथिल्लो तल्लाको सभाकक्ष पुगिन्छ। सभाकक्षका भित्तामा पनि उस्तै चित्र देखिन्छन्।
‘यी चित्रकै कारण यहाँ आउने प्रत्येक ब्यक्तिले एक किसिमको प्रभाव बोकेर जान्छन्,’ माइती नेपालका निर्देशक विश्वराम खड्का भन्छन्, ‘हामीले शब्दबाट भन्नै नपर्ने गरी तयार पारिएका यी चित्र सयवटाभन्दा बढी छन्।’
बेचिएका चेलीबेटीको मुहार चित्र अटाएका ती प्रत्येक बहुमूल्य पेन्टिङलाई महँगो फ्रेममा राखिएको छ।
‘हामीले एक रुपैयाँ खर्च गरेका छैनौं,’ खड्का भन्छन्, ‘यी सबै फ्रेमसहितका पेन्टिङ स्याल्टरले नै दिनुभएको हो।’
आउनुस् अब ज्यान स्याल्टरलाइ चिनौं।
पोहोर स्वदेश फिर्नुअघि उनी यतै भेटिइरहन्थिन्। विशेषगरी चित्रकला प्रदर्शनी भइरहेका ठाउँमा।
अनुहारभरि चाउरी परेका परिपक्व अनुहार। सेतो कपाल। र, चित्रमा घोरिइरहेका नजर।
‘म चित्र बनाउन कुनै उद्देश्य हुनुपर्छ भन्ठान्छु,’ उनले केही वर्षअघि यस संवाददातालाइ सिद्धार्थ आर्ट ग्यालरीमा भनेकी थिइन्, ‘त्यसैले मेरा चित्रले उद्देश्य बोकेका हुन्छन्।’
त्यस्तै उद्देश्यसहितका चित्रको संग्रह थियो ‘फेसेज अफ नेपाल’। १९९६ मा तयार भएको मुखाकृतिहरुको यो पुस्तकमा डा. हर्क गुरुङका अक्षर अटाएका थिए। नेपालका थुप्रै भेगको पैदलयात्रा क्रममा कतै सिसाकलम त कतै रंग प्रयोग गरेरै तयार पारिएका आदिवासी जनजातिको मुहार चित्र थिए ती।
के एक चित्रकारकै रुपमा ज्यान स्याल्टर नेपाल आएकी थिइन्?
होइन।
सन् १९६८ मा पहिलोपटक नेपाल आउँदा उनी केवल एक पर्यटक थिइन्। धेरै मुलुक घुमिसकेकी उनलाई नेपाल सबैभन्दा विशेष लाग्यो। त्यसैले यतै बस्ने सोच बनाइन्।
[caption id="attachment_154429" align="alignnone" width="1522"]
ज्यान स्याल्टर[/caption]
त्यतिबेला रुसी नागरिक बोरिस लिसानभिचले खोलेको रोयल होटल चल्तीमा थियो। बोरिसलाई राजा त्रिभुवनले कोलकातादेखि नेपाल ल्याएका थिए। नेपालको पर्यटन व्यवसायकै ‘पायोनियर’ मानिने बोरिसले विदेशी खान्की मात्र होइन, आधुनिक होटल व्यवसाय पनि भित्र्याएको मानिन्छ। अहिले निर्वाचन आयोग रहेको त्यही ‘होटल रोयल’ मा ज्यानले ‘हेयर ड्रेसर’ को काम पाएकी थिइन्।
जब नेपाल रहँदै बस्दै गइन्, उनलाई होटलको जागिरभन्दा यहाँको जनजीवनले तान्यो। उनी डुल्दै गइन् र कहिल्यै चित्र नकोरिएका दुर्गम भेगका मानिसको मुहार उतार्दै गइन्।
उनले एक जना उपत्यकाकै नेवारलाई धर्मपुत्र बनाएकी थिइन्। त्यही नै उनको सम्बन्ध रहन पुग्यो।
‘फेसेज अफ नेपाल’ तयार पारिसकेपछि उनी फेरि मुहारकृति तयार पार्न कुनै विषयको खोजीमा थिइन्।
यो नब्बेको दशक अन्त्यतिरको कुरा हो।
त्यतिबेलै सन् १९९८ मा एकै साल दुई सय १८ जना चेलीबेटीको माइती नेपालले भारतबाट उद्दार गरेको थियो।
‘त्यत्राविधि चेलीका पीडा र भोगाइ धमाधम सार्वजनिक भइरहेका थिए,’ निर्देशक खड्का सम्झन्छन्, ‘हाम्रो संस्था सबैभन्दा व्यस्त भएको क्षण थियो त्यो।’
त्यतिबेलै एक दिन ज्यान स्याल्टर माइती नेपालमा आइन्।
‘म र दिदी (अनुराधा कोइराला) बसिरहेका थियौं,’ खड्काले सम्झे, ‘उनले आफ्नो अघिल्लो पुस्तक फेसेज अफ नेपालको उल्लेख गर्दै त्यसैगरी यी चेलीबेटीको मुहारचित्र तयार पार्ने प्रस्ताव दिदीसँग राखिन्।’
खड्काका अनुसार त्यतिबेला स्याल्टरले ती चेलीबेटीका कथा सुनेर आफू असाध्यै मर्माहत भएको र आफ्नो तर्फबाट उनीहरुका निम्ति केही गर्ने इच्छाअनुरुप त्यस्तो प्रस्ताव राख्न आएको बताएकी थिइन्।
‘सुरुमा त हामीलाई अनौठो लाग्यो,’ उनले भने, ‘दिदीले उनको मन बुझेपछि हुन्छ भन्नुभयो र पेन्टिङ बनाउन सुरु गरिन्।’
त्यो ताका ज्यान हरेक दिन गौशाला आइपुग्थिन्। सडकको छेउमै माइती नेपालले भाडामा लिएको एकतले घर थियो। त्यो घरको कम्पाउण्ड पनि वर्षाभरि पानीले भरिएको हुन्थ्यो।
‘त्यतै छेउ एउटा स्टुल राखेर उनी चित्र बनाउँथिन्,’ स्याल्टरकै एउटा मुहार चित्रमा अटाएकी पम्फा अधिकारी भन्छिन्, ‘मेरो चित्र बनाउनकै निम्ति पनि झण्डै चार दिन लगाउनुभएको थियो।’
पम्फा यतिबेला माइती नेपालकै निम्ति काम गरिरहेकी छन्।
उनका अनुसार त्यतिबेला चित्र बनाउन्जेल एकोहोरो हेरिरहनुपर्थ्यो। त्यस्तो अवस्थामा कतिपय चेलीबेटीले साह्रै अप्ठेरो मानेपछि धेरैपटक कामैसमेत रोकिएको थियो। तर, ज्यान स्याल्टरले कहिल्यै हरेस खाइनन्। उनी फेरि पनि पुग्थिन् र अर्को चेलीको मुहारकृति बनाउन सुरु गर्थिन्।
‘यी चित्र बेचिएकी चेलीबेटीको मुहार मात्र होइन,’ स्याल्टरले उतिबेला भनेको निर्देशक खड्का सम्झना गर्छन्, ‘यसले नेपालकै एउटा समयको पीडादायी कथासमेत आउने पुस्तौं पुस्तालाई वर्णन गर्नेछ।’
यसरी बनाएका चित्रले चेलीबेटी बेचबिखन र उनीहरुका पीडालाई विश्वभरिको ध्यान तान्न मद्दत गर्ने उनको धारणा थियो। त्यसबाहेक यस्ता चित्रले पीडामा बाँचेकालाई एककिसिमको ‘हिलिङ’ (उपचार) को काम समेत गर्ने उनी बताउँथिन्।
एक किसिमको ‘ट्रमा’मा भएका मानिसलाई मनबहलाउने अनेक प्रयास हुन्थे नै।
‘माइती नेपालमै पनि हामी नाच र संगीतका माध्यमबाट यी उद्दार गरिएका चेलीलाई ‘थेरापी’को कोशिस गर्थ्यौं,’ खड्का भन्छन्, ‘त्यसैगरी उनीहरुकै मुहारकृति हेरेर पनि मन बहलिन्छ भन्नेमा हामीलाई पनि विश्वास थियो।’
खड्काका अनुसार सयभन्दा बढी यी चित्र तयार हुन झण्डै दुई तीन वर्ष नै लागेको थियो। त्यसैबीच उनले केही चित्र तयार हुनेबित्तिकै काठमाडौंमै एउटा प्रदर्शनीसमेत आयोजना गरेकी थिइन्।
‘त्यो एउटा झिनो प्रदर्शनीबाहेक त्यति धेरै लगानीमा यत्राविधि चित्रबाट उहाँले एक पैसा कतैबाट केही फाइदा लिनुभएको देखिएन,’ खड्का भन्छन्, ‘बरु सबै हामीलाई नै सुम्पिएर जानुभयो।’
[caption id="attachment_154428" align="alignnone" width="3264"]
माइती नेपालका निर्देशक विश्वराम खड्का। तस्बिर: गिरीश गिरी/सेतोपाटी[/caption]
खड्काका अनुसार यो सम्पूर्ण प्रकरणमा ज्यान स्याल्टरले केवल सन्तुष्टिका निम्ति यत्रो मेहनत र लगानी गरेको देखियो।
त्यसरी तयार चित्र झण्डै १५ वर्षसम्म त स्याल्टरकै गैरीधारास्थित घरमा राखिएको थियो।
‘उहाँको घरमा हामीलाई बारम्बार बोलाइरहनुहुन्थ्यो,’ खड्का सम्झन्छन्, ‘करिब दुई वर्षअघि उहाँले बोलाउँदा चाहिँ अलिक बेग्लै कुरा आयो।’
काठमाडौंका सडकबाट जम्मा पारिएका टन्नै रोगी र घाइते भुस्याहा कुकुरले भरिएको उनको घरमा पुगेपछि स्याल्टरले अनुराधा कोइराला र विश्वराम खड्कालाई बैठकमा लगिछन्। र, भनिछन्– ‘म अब कमजोर हुँदैछु। यता बस्नुभन्दा पनि बेलायत गएर राम्ररी उपचार गराउँछु। मैले दराजमा थन्क्याएर राखेका यी चित्र तिमीहरुकै सम्पत्ति हो। लिएर जाऊ र यसलाई सुरक्षित राख्नू।’
खड्काका अनुसार त्यतिबेलै उनले अब आफू सायद फर्केर नेपाल आउन सक्दिन होला भन्ने भान दिएकी थिइन्।
‘हाम्रो निम्ति त्यो बहुमूल्य उपहार थियो,’ खड्का भन्छन्, ‘त्यसपछि लगत्तै मोटरमा केही दिदीबहिनीलाई लिएर गयौं र बाकसमा यी सबै पेन्टिङ राखेर ल्यायौं।’
यसरी ल्याइएका चित्र बेचिएकी चेलीबेटीप्रतिको सम्मानका रुपमा माइती नेपालले भित्तामा राखेको खड्का बताउँछन्।
‘यी चित्रका धेरैजसो चेलीबेटी बिहे भएर गइसके, कतिपयको त मृत्यु भइसक्यो,’ खड्का भन्छन्, ‘बाँचेकामध्ये जे जति आउनुहुन्छ उहाँहरु आफ्ना चित्र हेरेर रमाउने गर्नुभएको छ।’
खड्काका अनुसार मृत्युभन्दा दुई दिनअघि पनि कोइराला र उनी मिलेर बेलायतमै रहेका स्याल्टरका भाइको फोनमार्फत् उनीसँग कुरा भएको थियो।
‘आवाज असाध्यै धमिलो भए पनि हामीले फोन गरेकामा खुसी व्यक्त गरिरहनुभएको थियो,’ खड्काले भने, ‘उपचार चलिरहेको सुनाउनुभएको थियो।’
खड्कालाई आइतबार ज्यान स्याल्टरकै साथी इसाबेल खड्काले फोन गरेर मृत्युको सूचना दिएकी थिइन्।
खड्काका अनुसार यी पेन्टिङ माइती नेपालले भविष्यमा व्यवस्थित प्रदर्शनी हल बनाएर राख्ने सोच बनाएको छ।
‘हाम्रा चेलीबेटीले भोगेको समय वर्णन गर्ने यी चित्र हामी सदाका निम्ति जीवित राख्ने छौं,’ खड्का भन्छन्, ‘यी बहुमूल्य चित्रले पुस्तौं पुस्तालाई हाम्रो समाजको कथा र माइती नेपालको प्रयास बुझाउने कोशिस गर्नेछ।’
यति बहुमूल्य सम्पत्ति माइती नेपाललाई दिएबापत आफूहरुले केही गर्न नपाएकोमा खड्कालाई थकथकी छ।
‘माइती नेपालका थुप्रै अभियानमध्ये यो पनि उहाँको सहयोगमा स्थापित एउटा अभियानै बन्नपुगेको छ,’ खड्का भन्छन्, ‘हजारौं बेचिएका चेलीबेटीको आत्माले उहाँलाई सदाकालका निम्ति धन्यवाद दिइरहनेछ।’
यी चित्रको श्रृंखला सकिएपछि सन् २००४ बाट ज्यान स्याल्टरले काठमाडौंमा ‘काठमाडौं एनिमल ट्रिटमेन्ट सेन्टर’ खोलेर यहाँका गल्ली गल्लीका भुस्याहा कुकुरको उपचार र स्याहारसुसारको अभियान थालेकी थिइन्। त्यो अभियान अहिले पनि जारी छ।