बारपाक त्यो बेलाजस्तो खण्डहर रहेन, समेटिएको छ। नयाँ शैलीका नयाँ घर बनेका छन्। मान्छेको जीवन फेरिएको छ।
सुकराम गुरुङको दैनिकी पनि फेरियो।
बिहीबार सबेरै हामी उनको होटल पुग्यौं। झिसमिसेमै काम सुरु गरिसकेका थिए। अघिल्लो दिन पनि पाहुनाको चापले दुई बजे मात्र सुतेका रहेछन्।
झन्डै १४ सय घरधुरीको बारपाकमा सुकराम भुइँचालोका यस्ता घाइते हुन्, जसले आफ्नो बायाँ हात गुमाए।
‘भुइँचालोले बाँच्ने कला सिकायो। भुइँचालो नआएको भए गाउँमा हल्लिएरै गुजारा गर्थें होला,’ एउटा हात नभए पनि सहज तरिकाले व्यवसाय गरिरहेका सुकरामले भने, ‘भुइँचालोमा ठक्कर खाएपछि बल्ल बुद्धि पलायो।’
झन्डै १७ वर्ष भारतमा मजदुरी गरेका उनले गाउँमा एउटा घरबाहेक अन्य जोरजाम गर्न सकेका थिएनन्। भारतबाट फर्केपछि गाउँमै मजदुरी गरेर चार जनाको परिवार चलाउँदै आएका थिए।
भुइँचालोमा ७ घन्टा पुरिएका उनको आँखैअगाडि हात काटियो। तै साहस ढलपलाएन। उनको दायाँ हात इसारा गर्न निकै अभ्यस्त छ। प्रत्येक कुरा बोल्दा उनलाई हात नहल्लाई हुन्न। इसारामै छोरालाई टिभी नहेर्न र छोरीलाई यसो गर उसो गर पनि भनिरहेका हुन्छन्।
बिहान १२ बजे पुरिएका उनलाई बेलुका ७ बजेतिर गाउँका मानिसले त्यहाँबाट निकालेर सुरक्षित ठाउँमा लगेका थिए। समयमै उपचार नभएर होला उनले बायाँ हात गुमाउनुपर्यो। तै उनलाई गुनासो छैन।
‘घाउलाई डाक्टरले राम्रो गर्न नसकेर पनि होला हात काट्न परेको। तै मलाई कुनै गुनासो छैन। मैले नयाँ संसार पाएँ,’ उनले भने, ‘पोखरा पुगेपछि डाक्टरले यहाँ उपचार हुन सक्दैन, कि ज्यान गुमाउनुपर्छ कि हात गुमाउनुपर्छ भने। मैले ज्यान किन गुमाउने, बरु हात गुमाइदिन्छु भनेर काठमाडौंमा हात फाल्न गएको थिएँ।’
हात फालेर संसार हेर्न तम्सिएका उनी असार ४ गते बारपाक फर्किए। काठमाडौंमा उपचार गरेका ४ लाख २० हजार ऋण बोकेर। गाविसमा सहयोग हुन्छ कि भनेर पटकपटक त्यो रसिद देखाए। सहयोग नपाएपछि च्यातेर फ्याँकिदिए।
उनी गाउँ फर्किएको ३ महिनासम्म ससुरालीमा बसे। ऋण कसैले देला कि भनेर विभिन्न ठाउँ धाए। त्यति नै बेला उनको आमाले भदौको पेन्सन थापेर ४० हजार हातमा थमाइदिए। त्यही रकमले होटल सुरु गरे।
उनलाई अझ याद छ त्यो दिन आमाले भनेका कुरा, ‘तिमी मरेको भए हामीले आफ्नो भन्न पाउँदैनौं थियौं। तिमी बाँच्यौ यसले जे गर्छौ, गर।’
भूइँचालोको केन्द्रबिन्दु बारपाकमा आन्तरिक तथा बाह्य पाहुनाको संख्या वृद्धि भएपछि उनले पनि होटल व्यवसाय सुरु गरेका हुन्। कुनै बेला पाहुनाले पैसा तिरेर खाए वा बसे गाउँभर ठूलो विषय हुने बारपाकमा भुइँचालोपछि आवातजावत गर्नेको संख्या बढ्यो। ४० हजार लागतबाट सुरु भएको उनले होटलमा बचत भएको पैसा त्यहीँ लगानी गर्दै आएका छन्। आधा मात्र भएको भान्सा पूरा बनाएका छन्। ९ वटा कोटा, पाहुनाको लागि हल र होटलभित्रै शौचालय निर्माण गरेका छन्।
‘सुरुमा निकै कम लगानीबाट सुरु गरेँ। पाहुनालाई ओढ्ने ओछ्याउने दिन तातो कपडासमेत हुन्न थियो। अहिले त्यो समस्या छैन। जति पनि छ मसँग,’ सुकरामले भने।
दिनको वा महिनाको आम्दानी कति भयो सुकरामलाई जान्नु छैन। ‘नाफा घाटा जोड्दिनँ। म कमाउन भनेर मुठा पैसा लिएर आएको होइन,’ उनले भने। बर्खा महिनामा बालुवा बोक्ने गाडी मात्र ओहोरदोहोर गरे पनि हिउँदमा पाहुनाको दु:ख हुँदैन। कुनै बेला त उनले गाउँका ४/५ जना मानिसलाई समेत काम दिन्छन्।
उनले अहिले ग्राहकको मागअनुसार होटलको सेवा सुविधा बढाउँदै लगेका छन्। उनी आफैं गाह्रो काम गर्न सक्दैनन्। तै चुप बस्दैनन्। उनकी श्रीमती व्यवस्थापन पक्ष हेर्छिन्। उनी होटलको झुठा भाँडा उठाउने, माझ्ने, सफासुग्घर गर्न सघाउँछन्। उनले १२ वटा बंगुर पनि पालेका छन्।
होटलबाट गुजारा गरिरहेका उनलाई गाउँमा भएका अन्य सुविधायुक्त होटलझैं आफ्नो पनि बनाउनु छ। ‘पाहुनाहरु अट्याच बाथरुम खोज्छन्। अन्य सेवासुविधा खोज्छन्। मलाई पनि आफ्नो होटलमा कर्मचारी राखेरै भए पनि सेवा सुविधा बढाउन मन छ,’ सुकरामले भने।
होटलसँगै उनलाई आफ्नो छोराछोरीलाई राम्रो शिक्षादिक्षा दिनुछ। जिन्दगीभर पहिलाको घर भएको ठाउँमा नजाने उनले प्रण पूरा गर्नुछ।
‘हाम्रो वरपर २/४ वटा मात्र राम्रा होटल छन्। त्यस्तै बनाउनुछ मलाई पनि आफ्नो होटल,’ उनले भने, ‘अब मेरो पनि त्यस्तै राम्रो होटल बनाउने इच्छा छ। पहिलाको ठाउँमा बल्लबल्ल भूकम्पप्रतिरोधी घर त बनाए। तर जाने इच्छा छैन। त्यो घर चाडबाड बेला पूजापाठ गर्न मात्र जाने र छिटो सकेर आइहाल्ने हो। अब यही ठाउँमा एउटा बलियो घर बनाउनुछ।’
भुइँचालोका कारण बारपाकमा ७२ जनाका मृत्यु भएको थियो। एक सय ५३ जना घाइते भएका थिए।