स्विडेनले विद्युतीय गाडी चार्ज गर्ने नयाँ प्रविधि ल्याएको छ। यो प्रविधिको माध्यमबाट सडकमा गुड्दा गुड्दै गाडी चार्ज गर्न सकिनेछ।
यस खालको प्रणाली विश्वमै पहिलो हो। सार्वजनिक सडकमै विद्युतीय कार चार्ज गर्ने ‘ट्रेल’ बनाइएको छ। यो ट्रेलमा गाडी जडान भएपछि सर्रर गुड्दै चार्ज पनि हुँदै जान्छ।
स्विडेनले सन् २०३० सम्म पेट्रोल–डिजेलबाट चल्ने सबै गाडी हटाउने योजनाअनुरुप यो प्रविधि सुरु गरेको हो। स्विडेनको यातायात प्रशासनले विद्युतीय गाडी सञ्चालनमा कुनै कठिनाइ नहोस् भन्ने अन्य थुप्रै नयाँ–नयाँ सहज प्रविधि पनि ल्याउने प्रयास गरिरहेको छ।
सडकमै चलेकै बेला गाडी चार्ज गर्ने आयोजनाको नाम ‘इ–रोड–अर्लान्डा’ हो। कार, बसका साथै ठूल्ठूला ट्रक पनि चार्ज गर्न सक्ने गरी यो प्रणाली विस्तार गरिएको छ।
गुडिरहेको गाडी जब ट्रयाक नजिकै पुग्छ, तब गाडीको सेन्सरले उक्त विद्युतीय ट्रयाक ‘डिटेक्ट’ गर्छ। गाडीको तल्लो भागमा ट्रयाकसँग जोड्ने एक लाम्चो औजार हुन्छ। यो औजार ट्रयाकसँग जोडिएपछि गाडी चार्ज हुन थाल्छ। यसले गाडी चल्नमा कुनै बाधा पुर्याउँदैन। ट्रयाकसँग जोड्ने उक्त औजार लचिलो हुन्छ। यसले कार, बस वा ट्रकलाई ट्रयाकबाट नछुटी यताउता चल्न पनि कुनै रोकावट ल्याउँदैन।
‘यो प्रविधिले सडकबाट खनिज इन्धनले चल्ने गाडी हटाउन ठूलो मद्दत गर्नेछ,’ आयोजनाका अध्यक्ष हान्स सलले भनेका छन्, ‘यसलाई हामी विस्तारै देशका अन्य सडकमा पनि विस्तार गर्ने योजनामा छौं।’
सलका अनुसार यो ट्रयाक करिब २ किलोमिटरको छ। यस्ता ट्रयाक भए विद्युतीय गाडीमा ब्याट्री पनि कम क्षमताका र साना राख्दा हुन्छ। धेरै चार्ज दिने क्षमताका ठूल्ठूला ब्याट्री राख्न नपरे गाडीको मूल्य सस्तो पर्ने सल बताउँछन्। यो प्रविधि दीगो हुने उनको भनाइ छ।
उनका अनुसार कुनै ठूलो ट्रकलाई पूर्ण रूपमा विद्युतीय बनाउन ४० टनको ब्याट्री चाहिन्छ। इ–रोड प्रविधि भए ६०० किलोको ब्याट्रीले नै उक्त ट्रक धान्न सक्छ।
चार्जको समस्याले विद्युतीय गाडी किन्न हिच्किचाउनेहरूको समस्या पनि यसले समाधान गर्नेछ।
‘आजका दिनमा विद्युतीय गाडी कति दुरीसम्म चलाउन सकिन्छ भन्ने निश्चित हुने अवस्था छैन,’ सलले भने, ‘राम्रो ब्याट्रिसँग इ–रोड प्रविधि भए, तपाईं जहाँ पनि जान सक्छु भनेर ढुक्क हुन सक्नुहुनेछ।’
इ–रोडलाई मौसमले पनि खासै असर नगर्ने सल बताउँछन्। पानी, हिँउ, बरफले यसमा ठूलो समस्या ल्याउँदैन। यो निरन्तर मर्मत गरिने र यसमा पानी बग्ने निकाससमेत बनाइएको सल बताउँछन्। विद्युतीय भए पनि मान्छे र जनावरका निम्ति खतरा छैन।
ट्रयाकको माथिल्लो सतहमा विद्युत प्रवाह हुँदैन। त्यस्तै यसमा २४ सै घन्टा विद्युत हुँदैन। चार्ज गर्न मिल्ने विद्युतीय गाडीसँग जोडिएपछि मात्र विद्युत प्रवाह हुने सलले जानकारी दिए। आधिकारिक रूपमा चार्ज गर्न नमिल्ने गाडीका निम्ति यसले काम गर्दैन।
यो आयोजना निम्ति ७७ लाख डलर खर्च लागेको छ। देशभर फैलाउँदै जाँदा यसको खर्च प्रतिकिलोमिटर करिब १२ लाख डलर मात्र लाग्ने उनी बताउँछन्।