एयर मालिन्दोको जहाज विमानस्थलको रनवे (धावनमार्ग)बाट चिप्लिएर ४० मिटर पर पुगेपछि अवरूद्ध भएको विमानस्थलको अन्तर्राष्ट्रिय उडान केहीबेरमा सुरू हुने भएको छ।
जहाजलाई चौरबाट धावनमार्गमा ल्याइसकिएकाले केहीबेरमा उडान सुरू हुन लागेको हो।
यसअघि १२ बजेसम्म विमानस्थल बन्द हुने बताएको विमानस्थल प्रशासनले बोर्डिङ पास दिन सुरू गरेको छ।
मालिन्दोको जहाज चिप्लिएपछि बिहीबार राति १० बजेदेखि विमानस्थल अवरूद्ध भएको थियो।
विमानस्थल प्रशासनले जमिन छोड्नै लागेको जहाजमा ब्रेक लगाउनु परेकाले जहाज अनियन्त्रित भइ चौरमा पुगेको प्रारम्भिक अध्ययनबाट देखिएको जनाएको छ।
विमानस्थलमा केहीबेरअघि पत्रकार सम्मेलन गर्दै विमानस्थलका नायब महाप्रवन्धक राजुकमार क्षेत्रीले पाइलटले आफूहरूलाई ब्रेक लगाउँदा जहाज चिप्लिएको जानकारी दिएको बताए।
'ट्याक्सीवे बाट रनवेमा गएर टेकअफ लागि स्पिड लिएको बेला ककपिटको स्क्रिनमा इरर (समस्या) देखिएपछि मैले टेक अफ गर्न चाहिनँ, रोक्न ब्रेक लगाउँदा जहाज अनियन्त्रित भयो,' पाइलटलाई उदृत गर्दै क्षेत्रीले भने।
उनले विमान किन चिप्लियो भन्ने बाँकी कुरा विस्तृत अनुसन्धानबाट खुल्ने बताए।