एयर मालिन्दोको जहाज त्रिभुवन विमानस्थलको रनवे (धावनमार्ग)बाट चिप्लिएर ४० मिटर पर पुगेपछि विमानस्थलको अन्तर्राष्ट्रिय उडान अवरूद्ध बनेको छ।
विमानस्थल प्रशासनले जमिन छोड्नै लागेको जहाजमा ब्रेक लगाउनु परेकाले जहाज अनियन्त्रित भइ चौरमा पुगेको प्रारम्भिक अध्ययनबाट देखिएको जनाएको छ।
केहीबेरअघि पत्रकार सम्मेलन गर्दै विमानस्थलका नायब महाप्रवन्धक राजुकमार क्षेत्रीले पाइलटले आफूहरूलाई ब्रेक लगाउँदा जहाज चिप्लिएको जानकारी दिएको बताए।
'ट्याक्सीवे बाट रनवेमा गएर टेकअफ लागि स्पिड लिएको बेला ककपिटको स्क्रिनमा एरर (समस्या) देखिएपछि मैले टेक अफ गर्न चाहिनँ, रोक्न ब्रेक लगाउँदा जहाज अनियन्त्रित भएर चिप्लियो,' पाइलटलाई उदृत गर्दै क्षेत्रीले भने।
उनले विमान किन चिप्लियो भन्ने बाँकी कुरा विस्तृत अनुसन्धानबाट खुल्ने बताए।
बिहीबार राति पौने १० बजेतिर जहाज चिप्लिएर त्रिभुवन विमानस्थलको चौरमा पुगेको थियो। जहाज चिप्लिदा कुनै मानवीय क्षति भने भएन।
अहिले जहाजलाई फलामे डोरीले पार्किङ वे ल्याउने प्रयास जारी छ।
जहाज रनवेबाट झन्डै ४० मिटर पर चौरमा पुगेको छ। बिहान १० बजेसम्म जहाजलाई २ फिट जति तानिएको छ।
विमानस्थल प्रशासनले मध्यान्ह १२ बजेसम्म जहाज पार्किङ वेमा ल्याउने जनाएको छ।
विमानस्थलमा फलाम डोरी नभएकाले राति नै जहाज तान्ने काम सुरू हुन सकेको थिएन।
नेपाली सेनासँग भएको फलामे डोरी ल्याएर दुइटा पुस ब्याक ट्रक, दुइटा क्रेन र दुइटा जेसिबीको सहायताले जहाज तान्ने काम भइरहको छ।
जहाज तान्न नेपाली सेनाका ७०, नेपाल प्रहरीका ३० र नेपाल वायु सेवा निगमका ३० जना परिचालन गरिएको छ।