फिस्टुला र क्यान्सरको परीक्षण निःशुल्क गर्ने तयारी


सरकारले फिस्टुला (शरीरको कुनै भित्री अंगमा पर्ने अनावश्यक प्वाल) र क्यान्सरको परीक्षण निःशुल्क गर्ने तयारी गरेको छ। स्वास्थ्य मन्त्रालयले वैशाखदेखि असारसम्म विभिन्न ठाउँमा क्याम्प चलाएर फिस्टुला र क्यान्सरबाट पीडितको निःशुल्क स्वास्थ्य परीक्षण गर्न लागेको हो।

सुरक्षित मातृत्व दिवसको अवसरमा स्वास्थ्य सेवा विभागले सोमबार त्रिवि शिक्षण अस्पतालमा गरेको कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री पद्या अर्यालले फिस्टुला र क्यान्सरको परीक्षण निःशुल्क गर्ने घोषणा गरेकी हुन्।

मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले पहिलो चरणमा क्याम्प गरेर निःशुल्क स्वास्थ्य परीक्षण गर्ने र दोस्रो चरणमा संस्थागत रुपमै कार्यक्रम लागू गरिने जानकारी दिए। कुन–कुन अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा निःशुल्क हुने भन्ने एकिन भइसकेको छैन।

यस्तै मुलुकका ७५३ वटा स्थानीय तहमा सुरक्षित मातृत्व कोष स्थापना गर्ने सरकारको तयारी छ। यो कार्यक्रम साउनपछि मात्रै लागू हुने मन्त्रालयले जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.