सरकारले देशभरि विरोध र प्रदर्शन गर्न निश्चित ठाउँ तोक्ने भएको छ। गृह प्रवक्ता सहसचिव रामकृष्ण सुवेदीका अनुसार मन्त्रालयले ७७ जिल्ला प्रशासन कार्यालयलाई त्यस्ता निश्चित ठाउँ तोक्न निर्देशन दिएको छ।
सोही निर्देशनअनुसार जिल्ला सुरक्षा समिति काठमाडौंले माइतीघर मण्डलामा अब विरोध र प्रदर्शन गर्न नपाउने निर्णय गरेको छ।
समितिको चैत ३० गते बसेको बैठकले वैशाख १६ गतेपछि ७ स्थानबाहेकका ठाउँमा सार्वजनिक कार्यक्रम र प्रदर्शन स्थल बनाउन नपाइने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले जानकारी दिए।
उनका अनुसार वैशाख १६ पछि खुलामञ्च, तीनकुनेको खुल्ला चौर, भगवानपाउको भुईंखेलचौर, पेप्सीकोला खेलमैदान, सानो गौचरण फुटबल मैदान, लैनचौरको समाज कल्याण परिषद अगाडिको खुला स्थान र सिफल चौर, गौशालामा मात्र विरोध प्रदर्शन गर्न पाइने छ।
जहाँ पायो त्यहीँ हुने विरोध प्रर्दशनले सार्वजनिक सवारीमा समस्या पर्ने भएकाले निश्चित स्थान तोकिएको प्रजिअ शर्माले जानकारी दिए।
प्रदर्शन गर्न आउनेले माइतीघरमा जथाभावी फोहोर गरेकाले त्यसको शोभालाई कायम राख्न माइतीघरमा प्रदर्शन गर्न रोक लगाइएको उनले बताए।