गोंगबुमा युवती हत्या प्रकरण : यौन र मदिरा हत्याको कारण


गएको चैत २२ गते राति काठमाडौंको गोंगबुस्थित न्यू भुमेश्वरी एण्ड अर्जुन पाहुना घरको कोठामा युवतीको हत्या गर्ने सल्यान सारदा नगरपालिका १ का २२ वर्षीय गोपाल शर्मालाई प्रहरीले पक्राउ गरेको छ।

रामेछापमा मिस्त्री काम गर्दै आएका शर्मा सोही दिन काठमाडौं आएर मृतक युवतीसँग बास बस्न उक्त होटल गएको प्रहरीले जनाएको छ।

होटलमा गएर मदिराले लट्ठ भएपछि यौन सम्पर्क गर्न नदिएपछि विवाद हुँदै गएपछि शर्माले ती युवतीको हत्या गरेको खुलेको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए।

हत्यापछि भारत पुगेका शर्मालाई महानगरीय प्रहरी परिसरको टोलीले नेपाल भारतको सीमा क्षेत्रबाट नियन्त्रणमा लिएको एसएसपी पोखरेलले जनाए।

काठमाडौंको माछापोखरी चोकमा युवती भेटिएको र २ हजारमा एक रात बिताउने सर्तमा युवतीले चिनेकै होटलमा बस्न गएको र साँझ युवती मदिराले लट्ठ भएर आमा र दिदीसँग सुत्न जा भन्दै गाली गर्न थालेपछि हत्या गरेको शर्माले प्रहरी बयानमा स्वीकार गरेको एसएसपी पोखरेलले बताए।

‘राति ९ बजे तिर मदिराले लट्ठ भएकी ती युवतीले आमा र दिदीको नाममा तथानाम गाली गर्न थाले, रिस थाम्न सकिनँ’, पक्राउ परेका शर्माले प्रहरी बयानमा भने।

‘मृतक युवतीले केटाहरू बोलाएर तलाई ठिक पार्छु भनिन्, मैले सम्झाउन खोजे उल्टै आमा र दिदीका नाममा तथानाम गाली गरेपछि हत्या गरेँ, त्यसपछि भोलिपल्ट मोबाइल परिवर्तन गरी काठमाडौं छाडेँ’, शर्माले प्रहरी बयानमा भनेका छन्।

‘मृतक युवतीको पूर्ण परिचय खुलेको छैन’, एसएसपी पोखरेलले भने, ‘अहिलेसम्म चितवनतिरको भएको र उनको नाम रीया अधिकारी वर्ष २३ जतिको भन्ने बुझिएको छ, पहिचान गर्ने काम हुँदैछ।’

पक्राउ परेका शर्मालाई कर्तव्य ज्यान अन्तरगत मुद्दा चलाएको समेत एसएसपी पोखरेलले जानकारी दिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.