यस्तो बन्दै छ बेलहियामा बुद्धत्व झल्कने प्रवेशद्वार

डेढ महिनाभित्र निर्माण थालिने प्रवेशद्वार २०७५ सालभित्र सम्पन्न गर्ने लक्ष्य


रुपन्देहीको नेपाल भारत सीमा नाका बेलहियामा नेपालको चिनारीसहित बुद्धत्व झल्कने आकर्षक प्रवेशद्वार बन्ने भएको छ।

सिद्धार्थनगर नगरपालिकाले १ करोड ५० लाख रुपैयाँ लगानीमा उक्त गेट बनाउन लागेको हो।

बेलहिया नाका स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने नाका हो भने नेपालको दोस्रो ठूलो भन्सार नाका हो।

यो नाका हुँदै भारतलगायत तेस्रो मुलुकका लाखौं पर्यटक लुम्बिनी भ्रमणको लागि आउने गर्दछन्।

सन् २०१७ मा भारत बाहेक तेस्रो मुलुकबाट मात्र १ लाख ५० हजार ८ सय ४१ पर्यटक नेपाल भ्रमणमा आएका छन्। बेलहिया नाका हुँदै नेपाल प्रवेश गर्ने अधिकांशको प्रमुख गन्तव्य लुम्बिनी हुने गरेको छ।

तर, सीमा नाकामा जानकारीमुलक र आकर्षक प्रवेशद्वार नहुँदा कतिपयलाई लुम्बिनी पुगेपछि मात्र बुद्ध जन्मस्थल पुगेको आभाष हुन्छ।
सीमा नाका तथा अध्यागमन कार्यालयमा समेत लुम्बिनी र बुद्ध जन्मस्थलसम्बन्धी जानकारी दिने व्यवस्था नहुँदा बुद्ध जन्मस्थलको २२ किलोमिटर दूरी पार गरेपछि मात्र लुम्बिनी पुगेको पत्तो पाइन्छ।

अध्यागमन कार्यालय प्रमुख गिरीराज खनालले साँघुरो र पार्किङको समस्याको कारण कार्यालयबाट पर्याप्त जानकारी दिन नसकिएको बताउँछन्। ठूलो समूहमा आउने पर्यटकका भिसा, पासपोर्ट लगायतका आवश्यक कागजात भारतीय गायडले एकमुष्ट लगेर मिलाउने गर्दछन्।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीले अब निर्माण हुने प्रवेशद्वारबाटै पर्यटकलाई बुद्ध जन्मस्थल प्रवेश गरेको आभाष हुने बताउँछन्।

‘२२ किलोमिटर वरबाटै लुम्बिनी पुगेको अनुभव दिने गरी आकर्षक प्रवेशद्वार बनाउँछौं’, उनले भने।

बेलहियामा अहिले पुरानो र साँघुरो प्रवेशद्वार छ। बुटवल बेलहिया ६ लेन सडक विस्तारसँगै सडक विस्तार आयोजनाले सामान्य अवस्थाको प्रवेशद्वार बनाउने जनाएको थियो।

तर, नगरपालिकाले नेपाल आउने पर्यटकहरूले बुद्धभूमि आइपुगियो भन्ने सन्देश दिन शान्तिद्वार निर्माण गर्न लागिएको जनाएको छ।

नगरप्रमुख अधिकारीले प्रवेशद्वार निर्माणपछि बौद्धमार्गीहरू नेपाल प्रवेश गर्ने बित्तिकै बुद्धको सामिप्यतामा आयौं भन्ने सन्देश जाने र लुम्बिनीको प्रचारप्रसारमा समेत टेवा पुग्ने बताउँछन्।

प्रवेशद्वार ५० मिटर लम्बाई, २३ मिटर ८० सेन्टिमिटर चौडाइ तथा सडकदेखि २९ मिटर अग्लो हुनेछ।

द्वारलाई नेपालको चिनारी झल्कने कलात्मक वस्तु, स्वयम्भूको आँखासहितको बुद्ध चिनारी, अशोका, स्तूपा, विभिन्न १२ वटा बुद्धमूर्ति, हर्निका, आर्च, स्पायर गजूर, हरियाली जोन, नेपालको राष्ट्रिय झण्डा, बुद्ध झण्डाले सिंगारिनेछ।

यस्तै, द्वारमा चौबिसै घण्टा बौद्ध ध्वनी गुन्जिने नगरपालिकाका वरिष्ठ इञ्जिनियर यमलाल पाण्डेले बताए।

पुरातत्वविद्, लुम्बिनीका जानकार, शान्तिका अभियन्ता, संस्कृतिविद्, इञ्जिनियर, परामर्शदाता, बौद्धज्ञाता र नगरवासीको छलफलबाट प्रवेशद्वारको डिजाइन तयार पारिएको इञ्जिनियर पाण्डेले जानकारी दिए।

प्रवेशद्वारको नेस्क्ट डिजाइन आर्किटेक्ट कन्सल्टेन्सी जेभी काठमाडौंले डिजाइन गरी नगरपालिकालाई हस्तान्तरण गरिसकेको छ। अब डेढ महिनाभित्र निर्माण थालिने प्रवेशद्वार २०७५ सालभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.