बाल विकाससम्बन्धी एसिया प्रशान्त क्षेत्रीय सञ्जाल (एआरएनइसी) सम्मेलन जेठ २२ देखि २४ सम्म काठमाडौंमा हुने भएको छ।
प्रारम्भिक बाल विकासमा अन्तर्राष्ट्रिय स्तरमा भएका नयाँ अनुसन्धान तथा प्रयोगबारेका सम्मेलनमा ज्ञान आदानप्रदान हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ।
प्रारम्भिक बाल शिक्षा तथा विकाससम्बन्धी विद्यमान नीतिबारे सम्मेलनमा छलफल गरिने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिए।
सम्मेलनले प्रारम्भिक बाल विकासको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्जाल र सम्बन्धलाई सबल बनाउने मन्त्रालयको अपेक्षा छ। स्वास्थ्य तथा पोषण, उत्तरदायी हेरचाह प्रदान, सुरक्षा, प्रारम्भिक सिकाइलगायत विषयले पनि सम्मेलनमा स्थान पाउने पोखरेलले बताए।
सम्मेलनमा सहभागी हुन ४० देशका शिक्षा, स्वास्थ्य मन्त्री काठमाडौं आउने छन्। ५ सय विदेशी र २ सय स्वदेशी गरी सम्मेलनमा ७ सय सहभागी हुने मन्त्रालयका सचिव खगराज बरालले बताए।
प्रारम्भिक बाल विकासका क्षेत्रमा काम गर्दै आएका सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, विश्वविद्यालय, अनुसन्धान संस्थान, राष्ट्रसंघीय संस्थाका अधिकारी सम्मेलनमा सहभागी हुने उनले बताए।
सोही सम्मेलनको अवसर पारेर प्रारम्भिक बाल स्याहार तथा शिक्षाका लागि एसिया प्रशान्त क्षेत्रीय शिक्षा नीति मञ्चको तेस्रो बैठक पनि काठमाडौंमा बस्न लागेको छ।
गत असारमा सरकारले काठमाडौंमा सम्मेलन गर्ने निर्णय गरेको थियो। सन् २०१७ मा कम्बोडियामा आयोजित एआरएनइसीको बैठकमा सहभागी तत्कालीन शिक्षा मन्त्री धनिराम पौडेलले सन् २०१८ को बैठक नेपालमा गर्ने प्रस्ताव गरेका थिए।
सम्मेलन व्यवस्थापन गर्न मन्त्री पोखरेलको संयोजकत्वमा विभिन्न मन्त्रालयका सचिवहरू सरिक रहेको मूल आयोजक समिति तथा मन्त्रालयका सहसचिवको संयोजकत्वमा विभिन्न मन्त्रालयका सहसचिवहरू सम्मिलित कार्यान्वन समिति गठन गरी तयारी सुरु गरिएको छ।