प्रहरीले काठमाडौंको लाजिम्पाटबाट ४९ लाख ३१ हजार रुपैयाँ पुराना भारतीय नोटसहित २ जनालाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंको प्रहरी टोलीले ४९ लाख ३१ हजार पुराना ५ सय र १ हजार दरका नोटसहित २ जनालाई पक्राउ गरेको हो।
विशेष सूचनाको आधारमा बुधबार साँझ लाजिम्पाटबाट नुवाकोटका शिवपुरी गाँउपालिका ५ का चेतन बहादुर नेपाली र मोरङ थलानका सुनिल देव वैश्य पक्राउ परेको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए।
‘पुराना भारतीय नोटको कारोबार हुँदैछ भन्ने हामीलाई सूचना आयो’, एसएसपी पोखरेलले भने, ‘पक्राउ परेकाहरूका बारेमा अनुसन्धान गर्दैछौं।’
प्रहरीका अनुसार पक्राउ परेका वैश्य कपडा व्यापारी हुन् भने अर्का नेपाली भने पूर्व माओवादी लडाकु हुन्।
उनीहरूलाई प्रहरीले परिसर टेकुमा राखी थप अनुसन्धान अघि बढाएको छ।
पुराना भारतीय नोटसहित पक्राउ परेका वैश्यले भने बरामद पुराना नोट कपडा व्यापारबाट आएको दाबी गरेका छन्।
‘नयाँ सरकार आयो साट्न पाइन्छ कि भन्ने लागेर निकालेको हो, म कपडा व्यापारी हुँ, यो सबै पहिला व्यापार गरेको रकम हो’,उनले भने।
सच्याइएको *
https://www.youtube.com/watch?v=BqbYXj7vw5I&feature=youtu.be