आईजीपी अर्यालसहित २६ वरिष्ठ प्रहरी अधिकृतको बिदाइ


नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) प्रकाश अर्यालसहित २५ प्रहरी अधिकारीको बिदाइ भएको छ। बुधबार ३० वर्षे सेवाअवधिका पुरा गरेको अवसरमा आईजीपी अर्यालसहित एकसाथ २६ जना प्रहरी अधिकारी बिदा भएका हुन्।

बुधबार साँझ प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा उच्च प्रहरी अधिकारीलाई निवनियुक्त महानिरीक्षक सर्वेन्द्र खनालले विदाई गरे।

खनालले आईजीपी अर्यालसँगै १५ एआईजी, ९ प्रहरी नायब महानिरीक्षक (डीआईजी) र एक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई बिदा गरेका हुन्।

३० वर्षे सेवाअवधिका कारण बुधबार अवकास पाउने एआईजीमा बमबहादुर भण्डारी, जयबहादुर चन्द, देवेन्द्र सुवेदी, विजयकुमार भट्ट, हेमन्त पाल, रणबहादुर चन्द, मिङ्मार लामा, मधुप्रसाद पुडासैनी, केशरीराज घिमिरे, विजयलाल कायस्थ, माधवप्रसाद नेपाल, माधव जोशी, कमलसिंह बम, पञ्कज श्रेष्ठ र पशुपति उपाध्याय छन्।

त्यसैगरी बिदाइ भएका डीआइजीमा गोविन्दप्रसाद निरौला, रोमेन्द्र सिंह देउजा, सुदीप आचार्य, गणेश केसी, केदारमान सिंह भण्डारी, रमेशकुमार भट्टराई, भोगबहादुर थापा, पुष्कलराज रेग्मी र पुष्पचन्द रंजित रहेका छन्। सँगै एसएसपी विष्णुहरी गौतम बिदाइ भएका छन्।

बिदाई समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक अर्यालले तीन दशक लामो प्रहरी सेवाको व्यावसायिक यात्राबाट औपचारिक बिश्राम लिई निवृत्त हुन लाग्दा भव्य बिदाई कार्यक्रमको आयोजना गरी आफूलाई हार्दिकतापूर्वक सम्मान दिएकोमा नेपाल प्रहरी संगठन परिवार र नवनियुक्त प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल प्रति हार्दिक आभार प्रकट गरे।

नेपाल प्रहरीको उच्चपदसम्मको अबिराम यात्राका विभिन्न व्यावसायिक मोडहरूमा मार्गनिर्देश गर्ने समस्त सम्झन योग्य प्रहरीजनहरूप्रति आभार व्यक्त गर्दैै उनले आफूले गरेका सबै सत्कर्महरूमा भएका  योगदान तथा सत्प्रयासहरूको स्मरण गरे।

विभिन्न कालखण्डमा देश र जनताको सेवामा आफ्नो जीवन न्यौछावर गर्ने सम्पूर्ण कर्मशील अमर तथा वीर प्रहरीहरूको शहादतको उच्च प्रशंसा गर्दै उनले सतहमा देखिने प्रहरी संगठनको आधारहरू निर्माणमा उनीहरूको रगत र पसिनाको सिञ्चनको विशिष्ट महत्व रहेको स्मरण गरे।

‘संगठनमा हरेक कुरामा प्रणालीको विकास गरी सांगठनिक क्रियाकलापहरु स्थापित प्रणाली बमोजिम संचालन गर्ने, सामुहिक निर्णय गर्ने अभ्यासलाई संस्थागत गर्ने, संगठनका कार्यलाई पारदर्शी बनाउने, सही मूल्याङ्कन पद्धतीको विकास गर्ने तथा कर्मचारीको बृत्ति विकास गर्ने कुरामा जोड दिई हरेक सदस्यहरुमा संगठनप्रति अपनत्व र एक आपसमा भाइचाराको भावना बढाउने कुरामा प्राथमिकतामा राखेर मैले काम गरे,’ उनले भने।

समारोहमा नवनियुक्त प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी महानिरीक्षक अर्याल लगायत सेवा निवृत्त हुन लागेका अन्य वरिष्ठ प्रहरी अधिकृतले राष्ट्र, जनता र संगठनप्रति पुर्‍याएको अमूल्य योगदानका लागि नेपाल प्रहरीको सिङ्गो परिवारको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गरे।

उनले प्रहरी महानिरीक्षक अर्यालसँगै सेवा प्रवेश गरी आफ्नो सम्पूर्ण ऊर्जा तथा सिर्जनशीलता देश र नागरिकका लागि समर्पित गरेर  बिदाई हुने अग्रज प्रहरी अतिरिक्त महानिरीक्षकहरु तथा प्रहरी नायव महानिरीक्षकहरू प्रति नेपाल प्रहरी र तमाम सदस्यहरू सदैव कृतज्ञ रहने बताए।

खनालले आइजिपीको फूली भोलि लगाउने कार्यक्रम तय भएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.