अब यस्तो बन्दै छ सुर्खेतको मुख्य पर्यटकीय स्थल बुलबुले

तस्वीर : सुर्खेतको बुलबुले उद्यानको गुरुयोजनाको स्केच


सुर्खेतको मुख्य पर्यटकीय स्थलका रूपमा रहेको बुलबुले उद्यानको गुरुयोजना तयार पारिएको छ। उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको बुलबुले उद्यान गुरुयोजना अनुसार अब फरक बन्ने भएको छ।

पाँच लाख रुपैयाँको लागतमा उपत्यका नगर विकास समितिको तयार पारेको गुरुयोजना अनुसार अब उद्यानभित्र रहेको तालको चौडाई झण्डै आधा बढी क्षेत्रफलमा फैलिने छ। उक्त तालमा डुङ्गा सवार गराइने छ। तालको माथिल्लो एक छेउमा भने कमलको फुलहरू फुलाइने छ, जसलाई पर्खाल लगाएर छुट्याइने छ। उद्यानभित्र थुप्रै किसिमका सेवाहरू समेत थप गर्न लागिएको छ।

बुलबुले उद्यानको गुरुयोजना तयार पार्ने आर्किटेक्स डिजाइन एशोसिएशनका सुमन महर्जनका अनुसार उद्यानभित्र टिकट घर, स्नान घर, स्वीमिङ पुल, पिकनिक क्षेत्र, डुङ्गा सवारी, रंगिन बगैँचा, बाल उद्यान, धार्मिक मानिसका लागि भौतिक संरचना लगायतका सुविधाहरू रहने छन्।

गुरुयोजना अनुसार अहिले नुहाउनका लागि प्रयोग गरिएका उद्यानभित्रका धाराहरू अब प्लाजाका रूपमा स्थापना हुने छन् भने नुहाउनका लागि छुट्टै धारा निर्माण गरिने छ। पहिले वनभोज खाने स्थलका रूपमा प्रयोग हुने ठाउँमा अब बाल उद्यान रहने छ।

हाल करिब डेढ बिगाह क्षेत्रफलमा फैलिएको बुलबुले ताल भने अब बढाएर साढे तीन बिगाह पुर्‍याइने उद्यानको गुरुयोजना निर्माण गरेका सुमन महर्जनले बताए। उनका अनुसार उद्यानभित्र साना ठूला गरी ३ सयभन्दा बढी सवारी साधान पार्किङ गर्न मिल्ने पार्किङ स्थल बनाइने छ।

यस्तै, उद्यानभित्र नै फूलका बिरुवाको नर्सरी पनि स्थापना गरिने छ। उक्त नर्सरीबाट उद्यानभित्र आउने पर्यटकहरूले त्यहाँ देखेका फूलहरूमध्ये आफूलाई मन परेको फूलको बिरुवा लिन सक्ने छ। यसैगरि, अहिले रहेको टिकट घर पनि उद्यानको सुरूको गेट नजिक ल्याइने छ। सोही ठाउँबाट पिकनिक, स्वीमिङ्लगायतका सुविधाका लागि छुट्टाछुट्टै टिकट लिन सकिने छ।

बुलबुले उद्यान ३० बिगाह १४ कठ्ठा क्षेत्रफलमा फैलिएको छ। गुरुयोजना अनुसार उद्यानको स्तरोन्नति गर्न ३१ करोड रुपैयाँ बराबर लागत लाग्ने योजनाकार महर्जनले बताए।

हालसम्म उद्यानको छुट्टै गुरुयोजना नै नबनेका कारण मर्मतका लागि सहयोग माग्न तथा रकम जुटाउन समस्या भएको थियो। अब गुरुयोजना अनुसार विभिन्न निकायसँग रकम माग गरी केही वर्षभित्र नै उद्यानको स्तरोन्नति गरी सकिने उपत्यका नगर विकास समितिका अध्यक्ष नारायण कोइरालाले जानकारी दिए।

उद्यानको स्तरोन्नतिपछि आर्थिक रूपमा पनि वार्षिक एक करोड बढी आम्दानी हुने अनुमान गरिएको छ।

जिल्लाको मुख्य पर्यटकीय स्थलका रूपमा लिइएको उद्यानमा अहिले पनि आन्तरिक तथा बाह्य पर्यटकहरूको अवलोकनका लागि आउने गरेका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.