स्वास्थ्य शिखर सम्मेलन आजदेखि सुरू


स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको चौंथो शिखर सम्मेलन काठमाडौंमा सुरू भएको छ।

स्वास्थ्य राज्यमन्त्री पदमा अर्यालले बुधबार एक कार्यक्रमका बीच स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको चौंथो शिखर सम्मेलनको उद्घाटन गरेका हुन्।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को २८ औं स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको सम्मेलनमा बोल्दै स्वास्थ्य राज्यमन्त्री अर्यालले सम्मेलनले स्वास्थ्य क्षेत्रको भावी नीति तर्जुमा गर्न आवश्यक सुझाव दिने विश्वास व्यक्त गरे।

उनले तथ्य र प्रमाणको आधारमा मुलुकको सबै तहमा स्वास्थ्य क्षेत्रको उचित व्यवस्थापन गर्न अनुसन्धानको कामलाई सरकारले उच्च प्राथमिकता दिने योजना पनि अघि सारे। स्वास्थ्य राज्यमन्त्री अर्यालले नीति निर्माण तथा योजना तर्जुमा गर्दा सम्बन्धित क्षेत्रको अनुसन्धानको आवश्यकता पनि औंल्याए।

२ दिनसम्म चल्ने सम्मेलनमा देशभरका १ हजार भन्दा बढी स्वास्थ्य तथा जनसंख्यासँग सम्बन्धित विज्ञहरू सहभागी भएका छन्। नेपालको बदलिँदो स्वास्थ्य प्रणालीका लागि उच्चस्तरीय अनुसन्धानमा जोड दिन शिखर सम्मेलन आयोजना गरिएको हो ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.