घूससहित दुईजना खरिदार पक्राउ


जिल्ला मालपोत कार्यालय सुर्खेतका दुईजना कर्मचारी घूससहित पक्राउ परेका छन्।

सुर्खेतस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले दुई लाख रुपैयाँ घूससहित आज मालपोत कार्यालयको मुद्दा फाँटमा दुईजना खरिदार पक्राउ गरेको हो।

अख्तियारले गरेको ‘स्टिङ अप्रेशन’का क्रममा कार्यालयका खरिदारद्वय ओमबहादुर सुनार र धर्मराज सुवेदी घूस रकमसहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिए।

सेवाग्राहीबाट घूस रकम मागेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको सापकोटाले जानकारी दिएका छन्। जग्गाको मोहिनी हक छुट्याउने क्रममा सेवाग्राहीबाट उनीहरूले घूस मागेका उनले बताए ।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भैरहेको जनाइएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.