आफ्नै नौ वर्षीया बहिनीलाई बलात्कार गरेर फरार भएका दाजुलाई उनकै पत्नीले छिमेकीको सहयोगमा पक्राउ गर्न भूमिका खेलेकी छन्।
दैलेख जिल्लाको रामघाट गाउँपालिका वडा नम्बर १ घर भई हाल दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ४ गोग्लीमा कोठा भाडामा लिएर परिवारका साथ बस्दै आएका २३ वर्षीय ति व्यक्तिले आफ्नै नौ वर्षीया बहिनीलाई बलात्कार गरी फरार भएपछि उनकै पत्नीले आफ्ना पतिलाई पक्राउ गर्न भूमिका खेलेकी हुन्।
दाङ जिल्ला प्रहरी प्रमुख एसपी दुर्गा सिंहले पत्नीले नै आफ्ना बलात्कार पतिलाई पक्राउ गर्न भूमिका खेलेको बताइन्। ती व्यक्तिले चैत २३ गते रातको समयमा आफ्नै बहिनीलाई घुम्न जाम भनि घरबाट लगेर एकान्त खेतमा पुर्याएर बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ।
अबोध बालिकालाई घुमाउने बहानामा बलात्कार
एसपी सिंहका अनुसार आरोपित व्यक्ति ट्रकका चालक हुन्। उनी त्यसैको सिलसिलामा दाङमा कोठा भाडामा लिएर परिवारका साथ बस्दै आएका थिए। डेढ वर्षीया छोरी र पत्नीसहित ति व्यक्ति बस्दै आएका थिए। दैलेख जिल्लाको रामघाटबाट पढाउने भन्दै उनीहरूले नौ वर्षीया आफ्नी बहिनीलाई पनि दाङमै ल्याएका थिए।
चैत २३ गते रातको खानापछि एकान्त खेततिर घुम्न जाम भनेर ट्रक चालकले पत्नीलाई भनेछन्। पत्नी नमानेपछि आफ्नै नौ वर्षीया बहिनीलाई करबलले घुम्न जाउँ भन्दै घरबाट रातको समयमा लगेर गए। तर, जब उनले बहिनीलाई एकान्त खेतमा पुर्याए, त्यसपछि उनको गिद्धे नजर आफ्नै बहिनीमाथि पर्यो। यौन पिचासु ती दाइले अनेक लालच र डर धम्की देखाएर आफ्नै नौ वर्षीया बहिनीलाई बलात्कार गरे।
यसरी पत्ता लाग्यो अपराध
उनीहरू बेलुकासँगै घर आएर सुते। कसैले आशंका गर्ने कुरै थिएन। तर, दोस्रो दिन बिहान बालिका सुतेको बिच्छाउनैभरि रगत देखियो। यो देखेर ती बालिकाको भाउजुले सोधिन्। त्यसपछि बालिकाले दाजुले आफूलाई जबरजस्ती बलात्कार गरेको तथ्य उजागर गरिन्। उक्त कुरा पत्नीले आफ्ना छिमेकका केही जान्ने सुन्ने व्यक्तिलाई भनेर आफ्ना पतिको अमानवीय व्यवहारका विरुद्ध प्रहरीमा जान आग्रह गरिन्।
त्यसबीचमा बलात्कारी दाजुले बहिनीलाई फुल्याउन अनेक प्रयास गरे। नयाँ कपडा किनिदिए। अन्य त्यस्तै अनेक आश्वासन र धम्की पनि दिए। तर उनकी पत्नीले अत्याचार सहन हुन्न भन्ने निश्चयका साथ प्रहरीलाई खबर गर्न लगाइन्। प्रहरी गएर उनका पतिलाई नियन्त्रणमा लिएपछि आफ्नै बहिनीका बलात्कारी फन्दामा परेको एसपी सिंहले बताइन्।
आरोपीलाई पक्राउ गरेपछि बालिकाको मेडिकल टेष्ट गराइयो। त्यहाँ बलात्कारको पुष्टि भयो । त्यसयता प्रहरीले ती बालिकालाई आफ्नो संरक्षणमा राख्दै आएको छ। प्रहरीले नै त्यसपछि दैलेखमा रहेका पीडित बालिकाका अभिभावकलाई बोलाएर मुद्दा चलाएको हो।
हाडनाता करणीसम्बन्धी अभियोगमा मुद्दा चलाएर आरोपितमाथि अनुसन्धान र कानूनी कारवाही सुरू गरिएको एसपी सिंहले बताइन्।