बाल यौन दुराचारको आरोपमा युएनका पूर्वअधिकृत पक्राउ


विपन्न परिवारका बालबालिकालाई पढाइ दिने भन्दै आश्वासन देखाएर बालकलाई जम्मा पार्ने र उनीहरूमाथि यौन शोषण गर्ने क्यानडियन ६० नागरिक पिटर जोन डालगिल्सलाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले डालगिल्सलाई शनिबार काभ्रेको मण्डन देउपुर नगरपालिकास्थित चिलकाजी महर्जनको घरबाट पक्राउ गरेको हो।

डालगिल्सले हिमालयन कम्युनिटी फाउण्डेशन नामक संस्था खोली २ वर्षयता नेपालमा पटक/पटक आउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको सीआइबी प्रमुख डिआइजी पुष्कर कार्कीले बताए।

पक्राउ परेका डालगिल्सको साथबाट २ जना बालकको उद्दार गरिएको समेत डिआइजी कार्कीले जनाए।

सन २०१० देखि २०१४ सम्म सयुक्त राष्ट्र संघमा काम गरेको अनुसन्धानबाट खुलेको छ।

त्यसपछि डालगिल्सले नेपालमा हिमालयन कम्युनिटी फाउण्डेशन नामक संस्था खोलेर शिक्षा र खानेपानी क्षेत्रमा काम गर्दै गरेको प्रहरी अनुसन्धानबाट खुलेको डिआइजी कार्कीले बताए।

‘डालगिल्स नेपाल आउनु भन्दा अगावै हामीलाई उनी बालयौन दुराचारीमा लागेको सूचना हामीसँग थियो, २ साता पछि नेपाल आएका डालगिल्सलाई हामीले पिछा गरेको थियौं,’ उनले भने।

विपन्न परिवारका बालकलाई शिक्षा दिने भन्दै आफूसँग राख्ने गरेको खुल्यो, अहिलेसम्म २ जना पीडित हाम्रो सम्पर्कमा छन्, अन्य पनि छन् हामी हेर्दैं र्छौं,उनले भने।

डालगिल्सले १५ जनाभन्दा बालकलाई यस्तो धन्दामा लगाएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

बाल यौन दुराचारीमा पक्राउ परेका डालगिल्स द्वन्द्व पीडित बालबालिका, कामदार बालबालिका तथा सडक बालबालिकाका लागि नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै ३ वटा मानार्थ विद्यावारिधि समेत प्राप्त गरेको अनुसन्धानबाट खुलेको छ।

Street Kids International को संस्थापक रहेको, UN Habitant Afghanistan को Country Representative को रूपमा सन् २०१० देखि २०१४ सम्म काम गरेको,WHO को Senior Urban Advisor को रूपमा लाईवेरियामा र WFO मा समेत काम गरेको समेत प्रहरी अनुसन्धानबाट खुलेको छ। पक्राउ परेका डालगिल्सलाई जिल्ला अदालत काभ्रेबाट बालयौन दुराचारमा मुद्दा चलाई अनुसन्धान अघि बढाइएको सीआइबीले जनाएको छ।

उनका बारेमा अनुसन्धान भइरहेको र उनका केही मतियार नेपाली समेतको संलग्नता रहेको डिआइजी कार्कीले बताए।

ब्युरोले यस अघि पनि बालयौन दुराचारीमा ७ ओटा मुद्दा दायर गरेको थियो। जसमा ६ जना विदेशी र एक जना नेपाली गरी ७ जनालाई पक्राउ गरिएको थियो।

बालयौन दुराचारीलाई नियन्त्रणमा लिन ब्युरो एक पिलरनै बनाएको छ।

‘हामीलाई केही अन्य सूचना छ, अनुसन्धान गर्दै छौ, ब्युरो प्रमुख डिआइजी कार्कीले भने, ‘त्यसमा केही विदेशी पनि होलान्।’

विशेषगरी चेतनाको कमी र गरिबीको रेखामुनि रहेका परिवारका बालक शिकारमा हुने गरेको भन्दै यसलाई विद्यालयस्तरको शिक्षामा समावेश गरिनुपर्ने उनको भनाइ छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.