दाङमा आजदेखि फेरि सिन्डिकेट सुरू


सरकारले सिन्डिकेट तोड्न प्रयास जारी राखिरहँदा दाङका यातायात व्यवसायीले भने आजदेखि आलोपालो पद्धतिमा गाडी चलाउन सुरू गरेका छन्।

आजदेखि दाङबाट देशैभर एउटै डायलबाट (आलोपालो) पद्धतिमा सवारी साधन चलाउन सुरू गरिएको छ। राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समिति, अम्विकेश्वरी यातायात समिति, मालिका कालिका यातायात प्रालि, टयाक्सी समिति, चन्द्र सूर्य यातायात समिति, देउखुरी ट्याक्सी समितिका बीचमा भएको सहमति अनुसार आज (आइतबार) देखि एउटै डायलबाट (आलोपालो पद्धतिमा) गाडि सञ्चालन सुरू गरिएको राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिका कल्याणकारी सचिव प्रकाश भट्टले जानकारी दिए। तर, उनले साहारा यातायात प्रालीले भने स्वतन्त्र रूपमा गाडि सञ्चालन गरिरहेको बताए। भट्टले साहारासँग छलफल जारी रहेको र वार्ता सकारात्मक दिशामा अगाडि बढेको भट्टले बताए।

उनले पुरानो राप्ती अञ्चलका पाँचवटै जिल्लामा रहेका सबै प्रालि र समितिका बीचमा कुराकानी जारी रहेको भन्दै पुरानो राप्ती अञ्चलका सबै गाडि पहिले जस्तै गरी एउटै डालयबाट सञ्चालनको तयारी भइरहेको बताए।

यसअघि गत चैतको दोस्रो सातादेखि जिल्लामा रहेका समितिहरूले स्थानीय रुटमा एउटै गाडि चलाउन सुरू गरेका थिए। नेपाल यातायात व्यवसायी महासंघका प्रदेश नम्बर ५ का सदस्य तथा अम्विकेश्वरी यातायात समितिका अध्यक्ष ज्ञानबहादुर बस्नेतले व्यवसायिक हकहितका लागि जुट्नुको विकल्प नरहेको बताए।

जिल्लामा क्रियाशील ६ वटा समितिका बीचमा एउटै डायलमा गाडी सञ्चालनगर्ने सहमति भएको प्रति खुसी व्यक्त गरेका उनले यसले व्यवसायिक सुरक्षा हुने बताए। एउटै डालयमा गाडी सञ्चालन गर्नको लागि राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिका अञ्चल संयोजक भरतनाथ योगीको संयोजकत्वमा सात सदस्य समिति गठन गरेर सबै समितिका कर्मचारीहरूको बीचमा सहकार्य गर्न तथा बसहरूको एउटै डायलमा सञ्चालन गर्न समिति बनेको छ।

आलोपालोलाई सिन्डिकेट भन्न मिल्दैन – व्यवसायी

व्यवसायीले फेरि पुरानौ शैलीमा सिन्डिकेट लाद्न खोजेप्रति यात्रुहरूले भने असन्तुष्टि व्यक्त गरेका छन्।

सामाजिक सञ्जालहरूमा फेरि दाङमा आलोपालो प्रणालीबाट गाडी चलाउन दुस्प्रयास भएको भन्दै कतिपयले यात्रुको अधिकार रक्षाको लागि उनीहरूले स्थानीय सरकार र प्रशासनको ध्यानाकर्षण गराएका छन्। तर यातायात व्यवसायी भने आलोपालोलाई सिन्डिकेट भन्न नमिल्ने दाबी गर्छन्।

राप्ती समितिका अध्यक्ष सुरेश हमालले बाहिरबाट भित्रने पुराना गाडीको प्रवेश रोक्न, मजदूर र कर्मचारीबीचको अस्वस्थ्य प्रतिस्पर्धा अन्त्य गर्न, व्यवसायीलाई पलायन हुन नदिन, सडकले थेग्न सक्ने जति मात्रै सवारी साधन सञ्चालन गर्न आलोपालो पद्धतिमा गाडी सञ्चालन गर्न थालिएको बताए।

उनले यसले यात्रुका लागि तानातान र हानाहानको अवस्थाको अन्त्य हुने दाबी गरे।

‘आलोपालोलाई सिन्डिकेट भन्नु गलत हो। आलोपालो अनुसार गाडी सञ्चालन नगरे सडकले गाडी थेग्न सक्दैन,’ अध्यक्ष हमालले भने। उनले सरकारले समेत आलोपालो पद्धतिबाटै सवारी सञ्चालन गर्दै आएको हुँदा निजी क्षेत्रलाई मात्रै तारो बनाउनु सही नभएको बताए।

‘नेपाल राष्ट्र बैंकले विकासे बैंकहरू मर्ज गर भन्ने तर, यातायात व्यवसायी मिल्दा किन आपत्ति?’ अध्यक्ष हमालले भने। त्यसैगरी, अम्विकेश्वरी समितिका अध्यक्ष ज्ञानबहादुर बस्नेतले पनि एउटै डालयबाट आलोपालो पद्धतिबाट गाडी सञ्चालन गर्दा अस्वथ्य प्रतिपर्धाको अन्त्य हुने र त्यसले यात्रुमाथिको तानातान र हानहान अन्त्य हुने दाबी गरे।

अस्वथ्य प्रतिस्पर्धाले गर्दा व्यवसायी पलायन हुने अवस्था आएको भन्दै उनले डायल सिस्टममा गाडी सञ्चालन गर्दा भाडामा बार्गेनिङ अन्त्य हुने बताए।

‘दाङ काठमाडौंको भाडा एक हजार हुँदा प्रतिस्पर्धाले पाँचसयमा लैजानु परेको छ र त्यसले गर्दा व्यवसायी पलायन भएका छन्,’ अध्यक्ष बस्नेतले भने। ‘सिन्डिकेट केलाई भन्ने ?यदि लालोपालोलाई सिन्डिकेट भन्ने हो भने त्यो परिभाषा नै गलत हो,’ अध्यक्ष बस्नेतले भने।

एकै पटक सबै गाडी छोड्दा सडक अस्तव्यस्त बन्ने र त्यो सडकले थेग्नै नसक्ने उनको तर्क प्रस्तुत गरे। बस्नेतले नेपालको रोडको अवस्था नाजुक भएको राज्यले आफूहरूबाट करमात्रै असुल्ने गरेको र सडक निर्माणमा ध्यान नदिएको आरोप लगाए।

झन्डै दुईवर्ष अगाडि दाङमा प्रालि खुलेपछि नयाँ गाडीहरू भित्रिएका थिए। त्योसँगै यात्रुले सुलभ र सहज यातायात सेवा पाउन थालेका थिए। प्रालिले नयाँ/नयाँ गाडी भित्र्याउँदा यहाँ दर्जनौं झडप, बसहरू तोडफोड हुनुका साथै चक्काजाम समेत भएको थियो।

त्यस क्रममा प्रहरीको लाठ्ठी चार्जबाट राप्ती समितिका अध्यक्ष सुरेश हमालको टाउको समेत फुटेको थियो। तर फेरि पछिल्लो समय सबै समितिहरू र प्रालिहरू समेत मिलेर सिन्डिकेट लाद्न सहमत भएका छन्। जसले गर्दा फेरि यात्रुहरूले स्तरीय सेवा पाउनेमा आशंका व्याप्त बनेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.