एनआरएन संघको ब्यापारी नेतृत्वले विज्ञ सम्मेलन गर्ने


नेपालमा रहेका विज्ञसँग गैरआवासीय नेपाली विज्ञ र नेपालसँग जोडिएका विदेशी विज्ञको अन्तर्कृयाका लागि संघले आगामी अक्टोवर १२ र १३ मा काठमाडौंमा एक विशेषज्ञ सम्मेलन गर्ने भएको छ।

संघले हिजो शुक्रवार काठमाडौंमा आयोजना गरेको एक पत्रकार पत्रकार सम्मेलन मार्फत सो जानकारी दिइएको हो ।

विदेशमा रहेर विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका नेपालीहरु र नेपालप्रति चासो राख्ने विदेशी विज्ञहरुसँग तादात्म्यता गरी नेपालमा अध्ययन, अनुसन्धान तथा विकासमा संलग्न विश्व–विद्यालय, अनुसन्धान केन्द्र तथा व्यवसायिक संस्थालाई जोड्न मद्दत पुर्याउने उद्देश्यले कार्यक्रम गर्न लागिएको विधान संशोधन समितिका संयोजक डा. हेमराज शर्माले पत्रकार सम्मेलनमा बताए ।

सो अवसरमा संघका उपाध्यक्ष कुमार पन्त र महासचिब बद्री केसीले विज्ञ सम्मेलनको महत्वबारे प्रकाश पारेका थिए तर अध्यक्ष भवन भट्ट भने अनुपस्थित रहे ।

गैरआवासीय नेपाली संघमा लामो समयदेखि विज्ञ सम्मेलनबारे चर्चा चल्दै आएको हो । विदेशमा ज्ञान आर्जन गरेर विविध कारणले परदेश मै रहीरहेका नेपालीहरूको ज्ञान र प्रज्ञालाई मातृभूमिको विकास र उत्थानमा सदुपयोग हुन सकोस् भन्ने भावना धेरै नेपालीमा भए पनि समन्वय र वस्तुनिष्ठ योजनाको अभावले यो केवल छिटफुट चर्चा मै सिमीत रहेको छ । बरू स्थापनाकालमा गैरआवासीय नेपाली संघको अभियानमा सरिक रहेका विद्वानहरू क्रमशः आबद्धता टुटाउँदै लगे । एक्का दुक्का अपवादबाहेक नाम र ज्ञान भएकाहरू पाखा लागे । दाम र बदनाम भएकाहरू हाटहुट गर्न थाले। हाटहुटेहरूले संस्था भरिएपछि विद्वानहरू अट्ने कुरै भएन । संघको संस्थापन कालदेखि सक्रिय डा. सूर्य सुवेदीहरूले ‘ग्लोबल पोलिसी फोरम फर नेपाल (जीपीएफएन)’ को स्थापना गरेर अर्कै अभियान रोजे । बेलायतको लीड्स विश्वविद्यालयका अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा. सूर्यप्रसाद सुबेदीको अध्यक्षतामा गठित समितिका सदस्यहरूमा संयुक्त राज्य अमेरिकाको हार्वाड विश्वविद्यालयलका प्राध्यापक डा. शिव गौतम, अष्ट्रेलियाको न्यू साउथ वेल्स विश्वविद्यालयका प्राध्यापक (मुटुरोग विशेषज्ञ) डा. कुमुद धिताल, स्वीडेनको स्टकहोल्म विश्वविद्यालयलका अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा. कटक मल्ल तथा संयुक्त राज्य अमेरिकाको गोञ्जागा विश्वविद्यालयलका अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा. उपेन्द्रदेव आचार्य रहेका छन् । यस्तै अन्य विद्वानहरू पनि एनआरएन संघबाहिरै रहेर सक्रिय हुन चाहीरहेका बताइन्छ ।

संघबाट विद्वत वर्ग पाखा लाग्नुको एक प्रमुख कारण यसको नेतृत्व हो । किनकी नेतृत्वमा ब्यापारीहरू हावी भए । पहिले भिजन समेत भएका ब्यापारीहरू नेतृत्वमा थिए र अहिले भिजन होइन भेजावाला ब्यापारीहरूको भिड छ । समाजसेवाको नाममा एनआरएन संस्थाप्रतिको आस्था र शक्तिलाई आत्मतुष्टिको साधन बनाउन खोज्नेहरूको झुण्ड हावी छ र एनआरएन शक्ति धरायस हुँदैछ ।

संसारभरिका नाम घोलेर कमिटी उपकमिटीहरू बनीरहेका छन् । सदस्य संख्या पनि बढीरहेकै छ। संख्यात्मक रूपमा संस्थाको विस्तार भैरहेको छ। तर गुणात्मक रूपमा ?

गुणात्मक रूपमा भन्दा अहिले जति दुर्बल भिजन र निर्बल व्यक्तिगत पृष्ठभूमिहरूले कहिल्यै संस्था ओगटेका थिएनन् । जसले गर्दा संघको मर्यादा खस्कीएको छ।

संघको संस्थागत विकास हुन सकेको छैन। राष्ट्रिय कमिटीहरू खल्तीमा अफिस राखेर चलिरहेका छन् र संघ प्रवासी नेपालीहरूको बाझाबाझ गर्ने फोरम बनेको छ। उपसमिति र टास्क फोर्सहरू गठन हुन्छन्, तर तिनको मिटीङ विरलै हुन्छ, काम त परको कुरा ! यो सब सुस्ती र नालायकीको निम्ति अरू कोही होइन संघभित्र कै मान्छेहरू जिम्मेवार छन्। पछिल्लो समयमा जो जस्ता मान्छेहरू संस्थामा हावी भएका छन् तिनले एनआरएन अभियानलाई फिक्का बनाएका हुन्। राष्ट्रिय कमिटीहरूमा तुच्छ गुटबन्दीको खेल पास गर्नेहरूले केन्द्रीय नेतृत्व भरिएको छ। एकाधबाहेक एनआरएनको नेतृत्वमा बस्नेहरूले एनआरएन संघको साख उकास्ने होइन, आफ्नो कमजोर प्रोफाइल उकास्न सफल भएका छन्।

यस्तैयस्तै मान्छेहरूले गर्दा संस्थाको ओज तेजोबध भएको हो र संघप्रति देशभित्र र बाहिरको आस्था धर्मराएको हो। कमजोर हैसियत भएकाहरूले संस्थागत र देश विकासका निम्ति आफूसँग प्रशस्त श्रोत, साधन, पुँजी, प्रविधि, भिजन र योजना छ भन्दा कसले पत्याउने? ज्ञान, विज्ञान र प्रज्ञाको कुरा गर्दा कसले विश्वास गर्ने ? फलतः एनआरएन अभियानमा विज्ञ सम्मेलनको चर्चा चल्दा खासै उत्साह जाग्न सकेको देखिँदैन।

विदेशमा रहेर विभिन्न विधामा विशेषज्ञता हासिल गरेकाहरूको अनेक चर्चा हुने गरे पनि संघको नेतृत्वमा भने विज्ञहरू छायामा छन् र ब्यापारीहरू हावी छन् । जसले गर्दा विज्ञहरूले अनुकूल वातावरण नपाएका हुन् । अब, व्यापारीहरूको संस्थाले विज्ञहरूलाई कसरी व्यवस्थापन गर्ने हो धेरैलाई चाखको विषय बनेको छ ।

विज्ञ सम्मेलनको आयोजना हुँदै गर्दा अहिले गहन छलफल हुनु आवश्यक कुरा हो- विदेशमा रहेका प्रबुद्ध वर्ग एनआरएन अभियानबाट बाहिरै किन रहे? अहिले संघको नेतृत्वमा बौद्धिक क्षमता भएका कति जना एनआरएनकर्मीहरू छन्? उनीहरूलाई संस्थामा समाहित नगरेसम्म सीप, ज्ञान र बौद्धिक क्षमताका हिसाबले सिंगो संस्था र यसको योगदान कमजोर नै रहँदैन र ?

यी सारभूत प्रश्नहरूको गुरूत्वबोध गर्नु जरूरी छ। यदि एनआरएन संघको अनुहार उज्यालो बनाउने हो र यो अभियानलाई परिस्कृत र सजिव राख्ने हो भने सबै गाजेमाजे बिर्सीएर संघका वरिष्ठ र कनिष्ठ प्रतिनिधिहरूले संस्थाको नेतृत्वदायी भूमिकामा भिजन भएका र संस्थाको गरिमा धान्न सक्ने व्यक्तित्वहरू स्थापित गर्नुपर्छ। संख्यात्मक भन्दा गुणात्मक विकास हुनु जरूरी छ । विज्ञ सम्मेलनको आयोजना हुँदै गर्दा संघले सच्चिने मौका पाएको छ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.