वैशाख २ बाट ‘विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण अभियान’ सञ्चालन गरिने

फाइल तस्बिर ।


सरकारले आगामी वैशाख २ गतेबाट ‘विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण अभियान’ सञ्चालन गर्ने भएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी वैशाख २ गतेबाट ‘विद्यार्थी भर्ना तथा पाठयपुस्तक वितरण अभियान’ सञ्चालन गर्न लागिएको जानकारी गराएको हो।

विद्यालय बाहिर रहेका सबै बालबालिकाहरूलाई विद्यालयमा सहज पहुँचको सुनिश्चित गर्न अभियान नै सञ्चालन गर्ने निर्णय लिइएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिए।

उनले अभियानमा सहभागी हुन संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरू, राष्ट्रसेवक कर्मचारीहरू, सामाजिक अभियन्ता, निजी एवम् गैर सरकारी क्षेत्र, अभिभावक, पेशागत संघसंस्था, शिक्षाप्रेमी, बुद्धिजीवीलगायत आम नागरिकलाई आह्वान पनि गरे।

सरकारले अभियानलाई थप प्रभावकारी बनाउन ‘हामी सबैको इच्छा, अनिवार्य निशुल्क आधारभूत शिक्षा’ भन्ने मूल नारा समेत तय गरेको छ। मन्त्री पोखरेलले विद्यालय भर्ना हुने बालबालिकाहरूका लागि आवश्यक पर्ने पाठ्यपुस्तक भर्ना भएकै समयमा उपलब्ध गराउने गरी स्थानीय सरकारमार्फत् सबै विद्यालयहरूमा आवश्यक बजेटको व्यवस्था गरिएको पनि जानकारी दिए।

मन्त्री पोखरेलले आफ्ना बालबालिकाहरूलाई समयमै विद्यालय भर्ना गराई नियमित रूपमा विद्यालय पठाउन पनि अभिभावकहरूसँग अनुरोध गरे। सरकारले ‘सबैका लागि शिक्षा कार्यक्रम’ अन्तरगत विविध अभियान सञ्चालन गरे पनि अझै पनि ५ देखि ९ वर्ष उमेर समूहका २ दशमलव ८ प्रतिशत बालबालिकाहरू विद्यालय बाहिर नै रहेको सरकारी तथ्यांक छ।

विद्यालय तहको शैक्षिक तथ्यांक, २०७४ अनुसार सर्लाही, धनुषा, रौतहट, पर्सा, बारा, कपिलवस्तुलगायतका तराईका जिल्लाहरूमा तुलनात्मक रूपमा धेरै बालबालिकाहरू विद्यालय बाहिर रहेको अवस्था छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.