पुराना राजनीतिज्ञ कमलराज रेग्मीको बिहीबार ९१ वर्षको उमेरमा निधन भएको छ।
नेपालको कम्यूनिष्ट आन्दोलनका पुराना नेतामध्येका रेग्मी २०१५ सालको संसदीय निर्वाचनमा विजयी केवल चार कम्यूनिष्ट सांसदमध्ये एक थिए। त्यतिबेला उनी आफ्नै थलो पाल्पाबाट जितेका थिए।
२००४ सालमै जयतु संस्कृतम आन्दोलनबाट राजनीतिक जीवनको थालनीगरेका रेग्मीले पछिगएर भने आफूलाई पञ्चायती ब्यवस्थाको हितमा समर्पित गरे।
२०१७ सालमा राजा महेन्द्रको कू लगत्तै पक्राउपरेर पाँच वर्ष जेल जीवन बिताएका रेग्मी त्यसपछि २०२४ सालमा पञ्चायत प्रवेश गरेका थिए। १७ सालभन्दा पहिले पनि उनले दुइ वर्ष जेलमा बिताएका थिए। पञ्चायत प्रवेशसँगै राष्ट्रिय पञ्चायतको सदस्य भएका उनी गाउँफर्क राष्ट्रिय अभियानको अध्यक्षदेखि पञ्चायत निकाय तथा जाँचबुझ समितिका सदस्यसम्म भएका थिए। पञ्चायतकालमा यी अत्यधिक शक्तिशाली ओहदा थियो।
राजनीतिबाहेक साझा सहकारीको अध्यक्षतासमेत गरेका रेग्मीले केहि पुस्तक, नाटक र कविताहरु पनि लेखेका छन्। शिक्षा क्षेत्रमा समेत योगदान दिएका रेग्मी सिद्धार्थ बनस्थली इन्स्टिच्यूट (स्कुल)का अध्यक्षसमेत थिए।
चार छोरी र एक छोराका पिता रेग्मीको बिहीबार बिहानै निधन भएको जानकारी छोरा प्रकाशराज रेग्मीले दिएका छन्।
‘बुवाले पाल्पा हुँदै आउने कालीगण्डकी मिलेको स्थान (देवघाट)मा अन्त्येष्टिको इच्छा गर्नुभएको थियो,’ डाक्टर रेग्मीले सेतोपाटीलाई भने, ‘आजै राती उहाँको पार्थिव शरीर त्यसतर्फ लैजानेछौं।’
नेकपा (एमाले)का नेता एवं बुद्धिजीवी रघुजी पन्त रेग्मीलाई देशको असाध्यै मायागर्ने एक अध्येताका रुपमा सम्झना गर्छन्।
‘कम्यूनिष्ट आन्दोलनलाई उहाँले बीचैमा छाडेर जानुभएको कुरा सर्वविदितै छ,’ पन्तले सेतोपाटीलाई भने, ‘तर, एउटा लेखपढ गर्ने बौद्धिक अनि देशभक्त मानिसका रुपमा उहाँ स्मरणीय रहनु हुनेछ।’