पर्यटक बसमा रक्तचन्दन तस्करी

चालक र सहचालक पक्राउ, मालिक फरार


दिल्लीबाट काठमाडौं आएको पर्यटक बसबाट प्रहरीले ११ किलो रक्तचन्दनका भाडा बरामद गरेको छ।

दिल्लीबाट काठमाडौं आउदै गरेको बसमा भन्सार छलिका लत्ताकपडा ल्याएको सूचना पछि काठमाडौं प्रहरीले बुधबार कालीमाटीबाट ना ४ ख ४५१६ नम्बरको बसलाई नियन्त्रणमा लिएको थियो।

गत सोमबार दिल्लीबाट ४ जना यात्रु बोकेर आएको बसले विभिन्न भागमा  ३० लाख भन्दा बढीको लत्तापकपडा र ११ किलो रक्तचन्दन ल्याएको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले बताए।

बुधबार बिहान ३ बजे प्रहरीले नियन्त्रणमा लिएको बसलाई काठमाडौं परिसरमा ल्याई बसका विभिन्न भित्री भागबाट सामानहरु निकालिएको थियो।

त्यसैक्रममा बसको भित्री भागमा रक्तचन्दका तयारी भाडा र माला बनाउन प्रयोग हुने दाना बरामद भएको एसएसपी पोखरेलले बताए।

बसका चालक काभ्रेका झिल्केमान रुम्वा र सहचालक वुटवलका सुजन पुनलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

सो बसले यसरी पटक पटक अवैध सामान नेपाल भित्र्याएको पक्राउ परेका चालक र सहचाकले प्रहरीमा बयान दिएका छन्। प्रहरीले बसका मालिकको खोजी गरिरहेको जनाएको छ।

नियन्त्रणमा लिइएको बस, चालक, सहचालक तथा बरामद सामाग्रीलाई आवश्यक अनुसन्धानका लागि जिल्ला बन कार्यालय र राजश्व अनुसन्धान बिभागमा बुझाउने समेत एसएसपी पोखरेलले जनाए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.