लेखक तथा स्रष्टाहरूलाई लक्षित गरी गोदावरीमा खुल्यो होमस्टे

ललितपुर गोदावरीमा रहेको सृजनागृह, जहाँ लेखक तथा सर्जकहरू बस्न आउने गर्छन्।


ललितपुर गोदावरी क्षेत्रमा देशी–विदेशी पर्यटकहरूको घुँइचो लाग्ने गर्दछ। सहरको कोलाहलदेखि शान्त भई प्रकृतिसँग रमाउन पर्यटकहरू त्यहाँ पुग्ने गर्छन्। मनोरम हिमश्रृङ्खला तथा काठमाडौं उपत्यकाको सेरोफेरो अवलोकन गर्न पनि गोदावरी उपयुक्त स्थान भएकाले आन्तरिक तथा बाह्य पर्यटकहरू त्यहाँ पुग्छन्।

यही गोदावरी क्षेत्रमा अचेल स्वदेशी तथा विदेशी कलाकार एवं लेखकहरू पनि आउने गर्छन्। उनीहरू पहिलापहिला घुमफिर गर्न मात्र आउँथे। तर अहिले हप्तौंसम्म यही क्षेत्रमा भेटिन्छन्।

यसरी स्वदेश तथा विदेशका सृजनशील व्यक्तिहरूको जमघट हुने चाँजोपाँजो ‘सृजनागृह’ले मिलाएको हो। ‘सृजनागृह’ जहाँ सृजनाका विविध क्षेत्रमा लागेका मानिसहरूलाई आवासीय सुविधा रहेको छ।

गोदावरी नगरपालिकास्थित टौखेल चोकको दायाँपट्टी रहेको यस सृजनागृह होमस्टेको रूपमा दर्ता भई सञ्चालन हुँदै आएको छ। जहाँ सृजना कर्ममा लागेका सर्जकहरू केहीदिनको छुट्टि मिलाएर बसोबास गर्न भेला हुन्छन् त कोही आफ्नो लेखन कार्य सम्पन्न गर्न यहाँ आइपुग्छन्।

नेपाली साहित्यमा अत्यन्त रूची राख्ने होम परिवागले यस सृजनागृहको स्थापना गरेका हुन्। होमस्टेको रूपमा सञ्चालन हुँदै आएको यस सृजनागृहलाई उनले औपचारिक रुपमा ‘द ब्रिट’ भनी नामाकरण गरेका छन्। औपचारिक रूपमा ‘द ब्रिट’ नामाकरण गरिएपनि होमस्टे अहिले सृजनागृहको रूपमा चिनिने गरेको छ।

होम परिवाग बेलायत बस्ने क्रममा एकपटक क्यामब्रिज सहर पुगेका थिए। उनले त्यहाँ एउटा होमस्टे देखे। जहाँ स्वदेश तथा विदेशका सृजनशील व्यक्तिहरू एउटै घरमा बस्ने गर्थे र विभिन्न सृजनात्मक कार्यमा तल्लीन रहन्थे। त्यहाँ विश्वसाहित्य र सृजना–कलाका  विभिन्न विषयमा बहस हुन्थ्यो। उनीहरू त्यहाँ भेला भएर समग्र विश्वको बारेमा चिन्तन–मनन गर्थे। नाम चलेका प्रख्यात लेखकहरू, कवि, चिन्तक तथा पेन्टरदेखि लिएर सृजनामा रुची हुने सामान्य मानिस पनि त्यहाँ एकैसाथ बस्थे।

क्यामब्रिजमा रहेको त्यस होमस्टेले सिङ्गो बेलायती कलामा ठूलो योगदान पुर्याएको थियो। यो देखेर परिवागको मन लोभियो। उनलाई आफ्नो देश नेपालमा पनि यस्तै सृजनागृह  भइदिए कति राम्रो हुने थियो भन्ने लाग्यो। नेपाल फर्केपछि काठमाडौं उपत्यकामा यस्तै एउटा सृजनागृह खोल्ने हुटहुटी उनमा चल्यो।

यही हुटहुटीले गर्दा नेपालमा नै पहिलोपटक सृजनागृहको स्थापना भयो। जहाँ लेखक, कवि, पेन्टर, चिन्तक, पत्रकार एवं कलामा रुची हुने मानिसहरूलाई अत्यन्त सहुलियत दरमा आवासीय सुविधा उपलब्ध गराइएको छ। जहाँ उनीहरू आफ्नो इच्छाअनुसार एक्लै वा समूहमा महिनौंसम्म बस्न सक्छन्।

गत फागुन २६ गते यस सृजनागृहको औपचारिक उद्घाटन भयो। वरिष्ठ कवि तुलसी दिवस तथा गोदावरी नगरपालिकाकी उपमेयरद्वारा सृजनागृह उद्घाटन भएको थियो। त्यसक्रममा कविगोष्ठी पनि भएको थियो।

परिवागले  २०७२ सालको भुइँचालो आउनुभन्दा अगाडिदेखि नै  सृजनागृहको निर्माण कार्य थालेका थिए। यसपछि आएको भुँइचालोले गर्दा भने उनको निर्माण कार्यमा केही बाधा उत्पन्न भयो। त्यही सालको दशैंदेखि देशले ब्यहोरेको नाकाबन्दीले गर्दा उनी निकै अप्ठेरोमा परे।  हरेक निर्माण सामाग्रीको मूल्य बढ्न थाल्यो। कामदार  पाउन गाह्रो पर्यो। व्यक्तिगत लगानीमा आँटेको यो कार्य अन्तत: तीव वर्षमा सम्पन्न भयो।

निर्माणकर्ता एवं सृजनागृहका सञ्चालक परिवागका अनुसार चार तल्लाको यस होमस्टेमा कूल २५ जनासम्म पाहुनाहरू बस्न सक्ने क्षमता रहेको छ। हरेका कोठामा लेख्नका लागि टेबलको सुविधा रहेको छ। साथै सजिलोको लागि बेडस्वीचदेखि टेबलल्याम्पसम्मको व्यवस्था गरिएको छ। अन्तराष्ट्रिय स्तरको शौचालय तथा किचेन राखिएको छ।

होमस्टेमा विदेशी लेखक एवं स्रष्टाहरू बस्नलाई तयार पारिएको कोठा। (तस्वीर: मीनरत्न ब्रजाचार्य)

होमस्टेबाट केही मिनेटको दुरीमा नै गोदावरी पुग्न सकिन्छ। जहाँ वनस्पति उद्यान र वैज्ञानिक प्रयोगशालाहरू छन्।

यस्तै पूर्वपट्टी ब्रजवाराही छ भने पश्चिममा सन्तानेश्वर। शान्तिवन स्तुपा पनि यहाँबाट नजिक नै पर्छ।  होमस्टेमा बस्न आउने सर्जकहरू यिनै स्थानमा सजिलै घुमफिर गर्न सक्छन्। परिवाग बताउँछन्– काठमाडौं उपत्यका हेरी गोदावरीमा प्रदूषण निकै न्यून छ। मानिसमा थकान र सास्तिको महसुस हुँदैन।

परिवागले सञ्चालन गरेको यस होमस्टेले  गर्दा गोदावरी टौखेलका स्थानीयले रोजगारीसमेत पाएका छन्। घर निर्माण गर्ने क्रममा होस् वा अहिले नियमीत रुपमा काम गर्ने  कर्मचारीको रूपमा,करिब एक दर्जन स्थानीय नागरिकहरूले यस होमस्टेमा रोजगारी पाइरहेका छन्।

सृजनागृह स्वदेशी तथा विदेशी साहित्यकार एवं  कलाकारहरूको संगमस्थल बन्ने विश्वास राख्छन् परिवाग। आफ्नो लामो अनुभवबाट परिवागले केही निष्कर्ष निकालेका छन्। जसअनुसार नेपाली कला– साहित्यको विकास नहनुको कारण एक्सपोजरको समस्या पनि एक हो।

होमस्टेका सञ्चालक एवं परिकल्पनाकार होम परिवाग। (तस्वीर: मीनरत्न ब्रजाचार्य)

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.