काभ्रे मंगलटारका सुन्दर लामा बुधबार बिहान ६ नबज्दै रानीवनबाट कोटेश्वर आइपुगे।
धुलिखेल अस्पतालमा भर्ना भएका दाइलाई भट्नु थियो तर चक्काजामले गाडी नपाएर ८ बजेसम्म उनी कोटेश्वरमा बस्नुपर्यो।
केहीबेरमा मयुर यातायातको बस आयो उनी त्यसैमा झुण्डिएर धुलिखेलतिर लागे।
मयूर यातायातलाई रुट इजाजत दिएको भन्दै कोटेश्वरपूर्व यातायात समन्वय समितिले आज चक्काजाम गरेको छ। नयाँ बसका विरूद्ध यातायात व्यवसायी नै चक्काजाममा उत्रिएपछि लामाजस्ता यात्रीले भने सास्ती ब्यहोर्नु परेको छ।
समितिले घोषणा गरेको चक्काजामका छिचोल्दै मयुर यातायातले भने आज पनि सबै बस चलाइरहेको छ।
‘हाम्रा २४ वटा गाडीमात्र देखेर यिनीहरूले के गर्न सक्छन् र भन्ने सोचेका होलान्, यसरी जनतालाई दुःख दिने काम भइरह्यो भने हामी सँग अर्को १ हप्ता भित्र अरु सय वटा गाडी चलाउन सक्ने क्षमता छ’ मयुर यातायातका अध्यक्ष मोहनबहादुर श्रेष्ठले भने, ‘हामीलाई जनताले नै सुरक्षा दिइरहनु भएको छ, प्रहरी र प्रशासन पनि लागि परेको छ , पछि हट्ने त कुरै छैन।’
यातायात व्यवस्था विभागले यात्रुको चाप अध्ययन नगरी रुट परमिट दिएको समितिको आरोप छ।
सरकारले भने समितिको आरोपको कुनै तुक नभएको बताएको छ।
व्यवसायीले धेरै दिन गाडी नचलाए उनीहरुको रुट परमिट खारेज गरेर नयाँलाई दिन सकिने यातायात व्यवस्था विभागका सुचना अधिकारी तुल्सीराम अर्याल बताए।
मयूर यातायातले चैत १ देखि ४२ सिट क्षमतासम्मका २४ वटा गाडी सञ्चालनमा ल्याएको थियो। यी बस चक्रपथ परिक्रमा गर्दै बनेपासम्म गुड्छन्। यी गाडीमा वाईफाई तथा टिभीको सुविधा समेत रहेको छ। त्यस्तै, गम्भीर अपांग तथा ७० वर्ष माथिकालाई निःशुल्क सेवा दिइरहेको छ।
तस्बिरहरू – नारायण महर्जन