सोमबारदेखि बेपत्ता महिलाको हत्या


महोत्तरीको मटिहानी नगरपालिकाको बरदाहामा एक महिलाको विभत्स तरिकाले हत्या भएको छ। हत्या हुनेमा मटिहानी नगरपालिका २ बरदाहाकी २५ वर्षीया पुनम देवी दास तत्मा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुवेर कडायतले बताए ।

चैत १९ गते बिहानदेखि हराईरहेकी पुनमलाई मटिहानी नगरपालिका ४ स्थित मटिहानी जनकपुर सडक खण्डको पूर्वतिर छेऊमा हत्या गरी जुटको बोरा बेरेर फालिएको अवस्थामा शव फेला परेको उपरीक्षक कडायतले बताए ।

२ छोरीकी आमा रहेकी पुनमको अनुहार र पेट जलेको तथा शरीर भरि निल डामका रहनुका साथै टाउको धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको उनले बताए।

घटनामा संलग्न रहेको आशंकामा उनका पति शिवशंकर दाससहित चार जनालाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.