दिल्ली-काठमाडौं चल्ने गाडीमा भन्सार छलेका सामान


भारतको दिल्लीबाट भन्सार छली ल्याएको ठूलो परिमाणको लत्ताकपडासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत कालिमाटीबाट खटिएको टोलीले ना ४ ख ४५१६ नम्बरको बससहित चालक झिल्ने पुन र सहचालक सुजन पुनलाई नियन्त्रणमा लिएको हो।

सोमबार दिल्लीबाट छुटेको बसको छत र भित्रपट्टी फल्स बटम बनाएर लाखौं रकम पर्ने कपडा र विद्युत सामाग्री तस्करी गरेर ल्याएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेले बताए।

एसएसपी पोखरेलका अनुसार फल्स बटम बनाएर प्रहरी र भन्सार कर्मचारीलाई झूक्काएर सामान काठमाडौ भित्र्याएको हो।

दिल्लीबाट काठमाडौँका लागि छुटेको बसमा ३६ जना यात्रु थिए।  काठमाडौं आइपुग्दा ४ जना मात्र थिए।

बाँकी बिच बाटोमा नै ओर्लिएका थिए।

‘तस्करीको लागि नै गाडी लिएर दिल्लीसम्म जाने गरेको प्रारम्भीक अनुसन्धानमा देखिन्छ,’ एसएपी पोखरेलले भने।

भन्सार कर्मचारीसँग नै सेटिङ मिलाएर भित्र्याउने गरेको गाडी चालकले प्रहरीमा बयान दिएका छन्। कपडा र विद्युतीय सामाग्री गरेर १० लाख रुपैयाँभन्दा बढीको सामान बसबाट बरामत गरिएको हो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.