परीक्षा स्थगित भए पनि शिक्षकले अनशन तोडेनन्

अामरण अनसनमा बसेका शिक्षक। फाइल तस्बिर : निशा भण्डारी/ सेतोपाटी


बाह्र दिनदेखि आमरण अनसनरत दुर्ई जना शिक्षकले अस्थायी/ करार शिक्षकको माग पूरा नभएसम्म अनसन जारी राख्ने बताएका छन्।

चार वटा माग राखेर बाराका शिक्षक धर्मेन्द्र ठाकुर ब्राम्हण र नुवाकोटका नरबहादुर बस्नेत भद्रकाली मन्दिरछेउमा  आमरण अनसन बसिरहेका छन्।

स्वास्थ्य अवस्था बिग्रदै गए पनि माग पूरा नभएसम्म अनसन नतोड्ने अडान उनीहरूको छ।

उनीहरूका मुख्य मागमध्ये एक चैत २३ गते शिक्षक सेवा आयोगले लिने भनेको परीक्षा स्थगित गर्नुपर्ने थियो। शिक्षक र माइतीघर मण्डलामा अनसन बसेका विद्यार्थीको दबाबमा आयोगले परीक्षा स्थगित गरिसकेको छ।

अस्थायी/करार शिक्षकले राख्दै आएका माग सरकारले सुनुवाइ नगरेकाले अनसनलाई जारी राख्नु परेको संयुक्त अस्थायी/करार शिक्षक केन्द्रीय संघर्ष समितिका कार्यवाहक अध्यक्ष हरिवंश पराजुलीले बताए।

‘वार्तामा सहभागी हुनेको नाम मागियो, वार्ताका लागि बोलाइएको छैन’ उनले भने, ‘हामी वार्तामा जान्छौं, सरकार, शिक्षा मन्त्रालयले हाम्रा मागसुनुवाइ गर्नेतर्फ ध्यान दिएकोजस्तो देखिँदैन। त्यसैले अनसनलाई जारी राखेका हौं।’

अनसनलाई जारी राखेरै वार्तामा सहभागी हुने पराजुलीले बताए। हालसम्म नियुक्ति भएका सम्पूर्ण अस्थायी/करार शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट सामान्य प्रक्रिया पु¥याएर स्थायी गर्नुपर्ने, अस्थायी÷करार शिक्षकको शतप्रतिसत सेवा अवधि गणना गर्नुपर्ने र शिक्षकहरुलाई औषधि उपचार खर्चको व्यवस्था गर्नु पर्ने माग सरकारले सुनुवाइ नगरेसम्म अनसन जारी राख्ने पराजुलीले बताए।

यो अस्थायी÷करार शिक्षकको तेस्रो चरणको आन्दोलन हो। यसअघि आन्दोलन गर्दा भएका सम्झौता तथा प्रतिवद्धता सरकारले पूरा नगरेकोले यो पटक सबै माग पूरा गराउन अनसन जारी राखेको पराजुलीले बताए।

आन्दोलनका बेला गरिएका प्रतिवद्धता सरकारले पूरा नगरेको पाँचथरका अस्थायी शिक्षक गिरिराज हुमागाइँले बताए। पाठ्यक्रम सरलीकरण र औषधि उपचार खर्चको व्यवस्था गर्ने यसअघिका प्रतिवद्धता अहिलेसम्म पूरा नभएको उनले बताए।

मुलुकमा ३६ हजार हाराहारीमा अस्थायी शिक्षक छन्। विगत १७ वर्षदेखि अस्थायी शिक्षकको समस्या सुल्झाउन नसक्दा शिक्षकहरुले आन्दोलन गर्दै आएका छन्। शिक्षा नियमावली नवौं संशोधनपछि अस्थायी शिक्षकलाई स्थायी गर्न परीक्षा गर्ने भनिए पनि चार पटकसम्म परीक्षा पूरा हुन सकेको छैन।

शिक्षा मन्त्रालयका प्रवक्ता बैकुण्ठ अर्यालले परीक्षा स्थगित गर्ने माग पूरा भइसकेको बताउँदै अस्थायी/करार शिक्षकले राखेका अन्य मागहरु संवादबाटै पूरा हुने बताए।

‘परीक्षा स्थगित गर्ने माग पूरा भइसकेको छ। अरु मागबारे वार्ता समितिबाटै संवाद गरेर समाधानको खोजी भइरहेको छ’ उनले सेतोपाटीसँग भने।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.