‘रक सितार’ का योगी विजयको मृत्यु


शास्त्रीय वाद्ययन्त्र सितारको आवाजलाई विद्युतीय तरंगबाट निकालेर ‘रक सितार’ अभियान चलाउने कलाकार विजय वैद्यको आइतबार बिहान निधन भएको छ। विजय आफूलाई ‘सितार योगी’ भनेर चिनाउँथे।

चर्चित सांगीतिक समूह ‘सुरसुधा’ का संस्थापक सदस्यसमेत रहेका सितारवादक वैद्यको ५२ वर्षको उमेरमा निधन भएको हो। उनी लामो समयदेखि कलेजो र फोक्सोका बिरामी थिए। केही वर्षअघि मात्र उनका दाजु एवम् कतारका परिचित व्यावसायी शिखर वैद्यको पनि फोक्सोकै कारण कम उमेरमै निधन भएको थियो।

करिब २५ वर्षअघि सुरसुधाको स्थापना बाँसुरीमा प्रेम राणा ‘औतारी’, तबलामा सुरेन्द्र श्रेष्ठ र सितारमा विजय वैद्यको उपस्थितिका साथ भएको थियो। त्यस समूहले शास्त्रीय धुनलाई नेपालको प्रतिनिधित्व गर्दै पहिलोपटक प्रभावकारी रुपमा देश र विदेशका महत्वपूर्ण मञ्चसम्म पुर्याउन सफल भएको थियो। पछि उनीहरुले उत्पादन गर्ने सिडि रेकर्डमा रोयल्टीको विषयलाई लिएर विजय उक्त टोलीबाट अलग भएका थिए।

झण्डै १० वर्षअघि विजय सुरसुधाबाट अलग भएपछि उनले व्यक्तिगत अभ्यासबाटै ‘रक सितार’ अभियान थालनी गरे। सितारको यो नौलो आवाजलाई उनले विदेशमा पनि लैजान सफल भएका थिए।

‘हराउन थालेको सितारको आवाजलाई विद्युतीय रुप दिएर नयाँ पुस्तासम्म लगिदिए,’ सितारमै विद्यावारिधि गरेका अर्का परिचित सितारवादक ध्रुवेशचन्द्र रेग्मी भन्छन्, ‘विजय जीलाई म इनोभेसन गर्नसक्ने सिर्जनशील कलाकार मान्छु।’

रेग्मीको वैद्यसँग पहिलो भेट त्रिभूवन विश्वविद्यालयको रजत जयन्ती समारोहमा भएको थियो। ‘त्यो अवसरमा एकेडेमीमा आयोजित अन्तर कलेज संगीत प्रतियोगीता भएको थियो,’ रेग्मीले भने, ‘त्यतिबेला ल क्याम्पसका तर्फबाट प्रतियोगी म प्रथम हुँदा ललितकला क्याम्पसका तर्फबाट विजय जी तेश्रो हुनुभएको थियो।’

बालाजुका रैथाने वैद्य परिवारका यी सदस्यले ललितकला क्याम्पसमै सितारको अध्ययन गरेको र अर्का प्रसिद्ध सितारवादक तारावीरसिंह तुलाधरबाट पनि दीक्षित हुनपाएको रेग्मी बताउँछन्।

विजयको उडान चाहिँ सुरसुधाको स्थापनाबाटै सुरु भएको थियो।

‘शास्त्रीय संगीतलाई देश भित्र र बाहिरको बजारसँग जोड्न सक्नु सुरसुधाको मुख्य विशेषता थियो,’ रेग्मी भन्छन्, ‘वाद्यवादनका हिसाबले संगीतमा लाग्नेहरुका निम्ति त्यसले एउटा ब्राण्डकै नाम पायो।’

रेग्मीका अनुसार विजय संलग्न रहेको बेला सुरसुधा कतिसम्म लोकप्रिय थियो भने राम्रो नाम चलेका अरु कलाकारको सिडि आठ सय रुपैयाँमा विक्री भइरहँदा सुरसुधाको सिडिको मूल्य दुई हजार रुपैयाँ हुन्थ्यो।

यतिबेला उस्तै हिसाबले ‘सुकर्म ब्याण्ड’ स्थापना गरेर देश विदेशमा चर्चित रहेका रेग्मीका अनुसार उनीहरुलाई समेत अझै कतिपय मानिसले सुरसुधा भनेरै चिनिरहेका भेटिन्छन्।

सुरसुधाले सुरु गरेको त्यो अभियान यतिबेला सुकर्म, कुटुम्ब जस्ता थुप्रै नामहरुले निरन्तरता दिइरहेको छ।

‘सुरसुधाका प्रारम्भिक तीन सदस्यमध्ये पनि विजय अलिक बेग्लै थिए,’ कुनै समय उक्त ब्याण्डकै व्यवस्थापन गरेका शरद प्रधान भन्छन्, ‘असाध्यै भावुक चरित्रका।’

त्यो समूहमा सुरेन्द्र श्रेष्ठको संगठन गर्ने क्षमता र विजय अनि प्रेम राणाको सिर्जनशीलताले नै महत्वपूर्ण काम गरेको प्रधान सुनाउछन्।
दिवंगत कलाकार विजयका श्रीमती मेलिना र एउटा छोरा क्षितिज छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.