बलात्कारीलाई फाँसी दिन माग गर्दै क्रान्तिकारीको प्रदर्शन


नेपाल कम्युनिस्ट पार्टी निकटको अनेरास्ववियू क्रान्तिकारीले सुर्खेतमा एक किशोरीको बलात्कारपछि हत्या भएको भन्दै दाङमा प्रदर्शन गरेको छ।

दाङका मुख्य बजारहरू तुलसीपुर र घोराहीमा क्रान्तिकारीले दोषीलाई कारवाहीको माग गर्दै प्रदर्शन गरेको हो। घोराहीमा अखिल क्रान्तिकारीको केन्द्रीय सदस्य प्रितिमा चौधरीको नेतृत्व र तुलसीपुरमा क्रान्तिकारीका जिल्ला सचिव अमर खड्काको नेतृत्वमा प्रदर्शन भएको हो।

प्रदर्शन पूर्व उनीहरूले बजारमा  र्‍याली निकालेर बलात्कारीलाई कारवाही गर, फाँसी दे, विद्यार्थीका हक अधिकार सुरक्षित गर, सर्वसाधारण जनतालाई सुरक्षाको अनुभूति देऊ जस्ता नाराहरू लगाएका थिए ।

एसईई परीक्षा दिन भनी सुर्खेत बजारमा डेरा गरेर बस्दै आएकी जिल्लाको सूर्य प्रकाश माविकी छात्रा १८ वर्षीया गौरीकला रोकायाको बलात्कारपछि हत्या गरेको हुँदा दोषीलाई तत्काल कारवाहीको माग गर्दै प्रदर्शन गरिएको अखिल क्रान्तिकारीका दाङ जिल्ला सचिव अमर खड्काले सेतोपाटीलाई बताए।

विरोध प्रदर्शनपछि तुलसीपुरको वीपी चोकमा आयोजित कोण सभालाई सम्बोधन गर्ने वक्ताहरूले बलात्कारमा सम्लग्न प्रहरी जवानसहित अन्य सहयोगीहरूलाई राज्यले कारवाही नगरे आफ्नो संगठन दोषीहरूलाई कारवाही गर्न बाध्य हुने चेतावनी दिएका थिए।

विगतमा पनि प्रहरी प्रशासन भित्रैका व्यक्तिहरूबाट बलात्कृत भएका महिलाहरूले न्याय नपाएको भन्दै वक्ताहरूले बलात्कारमा सम्लग्न जो कोहीलाई कडा कारवाही गर्न राज्यले खुट्टा कमाउन नहुने माग गरेका थिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.