ठूलो परिमाणमा लागूऔषध बरामद


राजधानीभित्र लागूऔषध कारोबार गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले मकवानपुर हेटौंडा घर भई हाल बल्खु बस्ने ३५ वर्षीय सन्तोष सापकोटा, काभ्रे दाप्चा घर भई हाल त्रिपुरेश्वर बस्ने २० वर्षीया आशिका विसिङ्खे र सिन्धुली दुम्जाघर घर भई हाल भक्तपुर गठ्ठाघर बस्ने २१ वर्षीया शुशिला विसिङ्खे र त्रिपुरेश्वर घर भई हाल भक्तपुर गठ्ठाघर बस्ने २३ वर्षीया उर्मिला विसिङ्खे शाहीलाई पक्राउ गरेको हो।

उनीहरूको साथबाट प्रहरीले नोफिन १४०० एम्पुल, डाईजेल्याव १४०० एम्पुल र फिनालगन १४०० एम्पुल बरामद गरेको छ।

काठमाडौं जिल्ला भित्रिने नाकाहरूबाट विभिन्न प्रकारका लागू पदार्थहरू भित्रिने र सो लागू पदार्थ काठमाडौंको विभिन्न स्थानमा लुकाई छिपाई बेचविखन गर्ने भन्ने गोप्य सूचना प्राप्तका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।

३५ वर्षीय सापकोटालाई चेकजाँच गर्ने क्रममा उनको साथबाट डाईजोल्याप १ नोर्फिन १ फेनालगन १ फेला पारी उनलाई नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा उनले जिल्ला भक्तपुर गठ्ठाघरमा बिकल शाहीबाट खरिद गरेको बताए। प्रहरीले मंगलबार बिकल शाहीको कोठामा खानतलासी गर्दा उनको कोठाबाट पनि प्रतिबन्धित लागू औषध बरामद गरेको छ।

उनीहरूलाई थप अनुसन्धानका लागि कालीमाटी वृत्तमा राखिएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.