नेपाली सेनाको पूर्वी पृतना मुख्यालय इटहरीमा सोमबार दुई सैनिकको ‘रहस्यमय’ मृत्यु भएको छ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी गोकुल भण्डारीले दिएको जानकारी अनुसार सोमबार साँझ पृतना भित्रै रहेको पोखरीको डिलमा दुई सैनिक अर्धचेत अवस्थामा फेला परेका थिए।
‘उनीहरुलाई उपचारको लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो,’ प्रवक्ता भण्डारीले भने, ‘अस्पतालले राति उनीहरुलाई मृत घोषणा गर्यो।’
मृत्यु हुने दुबै जना अन्य दर्जाका सैनिक हुन्। उनीहरु पितृनाभित्रै रहेको सवुज गणमा कार्यरत थिए।
‘के कारणले सैनिकहरुको मृत्यु भयो भन्नेबारे अनुसन्धान भइरहेको छ, अहिले नै धेरै कुरा भन्न सक्ने अवस्था छैन,’ प्रवक्ता भण्डारीले भने।