ठेलामा तरकारी बेच्दै उपमेयरका प्रत्यासी कालुराम चौधरी,भन्छन् –चुनावमा लागेको ऋण तिर्न तरकारी बेच्न थालेको हुँ

तस्वीर सौजन्य – शिवु खनाल


लमही बजारमा ठेला गुडाएर तरकारी बेच्दै गर्दा चिनेका धेरैले उनलाई ‘अभिवादन कमरेड’ भन्छन् भने कतिपयले ‘नमस्कार’ भनि सम्वोधन गर्छन्। तर, अलि धनिमानी र ठूलाबढा भनाउँदा भने ‘त’ भनेर सम्बोधन गर्छन्। यो अनुभव, दाङको लमही नगरपालकिा वडा नम्बर ५ निवासी ३९ वर्षीय कालुराम चौधरीको हो।

चौधरी नेकपा माओवादी केन्द्रबाट लमही नगरपालिकामा स्थानीय तहको निर्वाचनमा उपमेयर पदका प्रत्यासी हुन्। लमही नगरपालिकाको उपमेयरमा तीन जनाको बीचमा प्रतिस्पर्धा भएको थियो । माओवादी केन्द्रका कालुरामले सबैभन्दा कम झन्डै ४ हजार १ सय बढी मत पाएका थिए। नेकपा एमालेकी मिना गुरुङले ५ हजार बढी मत पाएकी हुन् भने नेपाली कांग्रेसको तर्फबाट देवका बेलवासेले साढे ५ हजार बढी मत पाएर निर्वाचन जितेकी हुन्।

माओवादी केन्द्रको तर्फबाट उपमेयरमा पराजित तिनै ३९ वर्षीय कालुराम चौधरीलाई भने आज त्यही चुनाव एउटा दुख्ने घाउका रूपमा बल्झिएको छ। कारण उनले चुनाव लड्न स्थानीय चारवटा सहकारी संस्थाहरूबाट ऋण लिएका थिए। उनलाई आज त्यो ऋण तिर्न हम्मे हम्मे परेको छ। मासिक २० हजारसम्म किस्ता तिर्नुपर्ने बाध्यता छ।

‘दुई ढाई लाख ऋण लागेको छ तर, म जस्ता गरिबका लागि त्यो धेरै ठूलो ऋण हो,’ चौधरीले सेतोपाटीलाई फोनमा भने। चुनाव लड्न सहकारी र केही व्यक्तिबाट लिएको ऋण तिर्न आज ठेलामा डुलाएर तरकारी व्यापार गर्न थालेको उनले बताए।

‘दौलत प्रतिष्ठासँग गाँसिएर आउँदो रैछ,’– कालुराम चौधरीले भने, ‘शक्तिको पछाडि दुँनिया दौडिरहेकोछ।’ समाजले व्यक्तिको गरिबी र पेशालाई समेत हेप्ने गरेको चौधरीले बताए।

‘अरुको कुरा छौडौं, मोटरसाइकल र कारमा चढेर आउने माओवादीकै साथीहरूले समेत तरकारी बेच्दै गरेको देख्दा कमरेड अभिवादन भन्न संकोच मान्छन्। कति त देखेपनि नदेखेझैं गर्छन् बोल्दैनन्,’ चौधरीले भने।

उनले त्यसको प्रभाव सर्वसाधारणमा पनि पर्न थालेको अनुभव बाँडे।

‘म उपमेयरमा चुनाव लड्दा साराले सम्मान गर्दथे, नमस्कार भन्थे तर, तरकारी डुलाउँदै बेच्न थालेपछि यो शक्तिहीन भएछ भन्ने ठानेर नमस्कार पनि गर्दैनन्,’ चौधरीले भने। उनले नेपालमा न्यून आयस्रोत भएको व्यक्तिले राजनीति गर्न सक्ने अवस्था नरहेको बताए। ‘ऋण माग्दा पनि गरिबलाई कसैले पत्याउँदैन र राजनीतिमा लाग्दा आफूले काम गर्न पनि पाइँदैन जसले गर्दा घर गृहस्थी नै लथालिङ्ग हुन्छ,’ चौधरीले भने। ८ वर्ष स्थानीय जमिनदारको घरमा कमैया बसेको बताएका उनले आफ्नो घर नभएको हुँदा विगत ९ बर्षदेखि ससुरालीमा बस्दै आएको बताए।

उनले आफूहरू ५ भाइको ९ धुर मात्रै जग्गा रहेको र अंशवण्डा गर्दा आफ्नो भागमा २ धुर मात्रै जग्गा पर्ने स्थिति रहेको बताए। १९ वर्षको हुँदादेखि आफूले गरिबीको कारण रिक्सा चलाउन सुरू गरेको र ३ वर्षसम्म रिक्सा चलाएको उनले जानकारी दिए। त्यसपछि आफूले लेवर काम गरेको, मिलमा, ट्रकमा सामान लोड अनलोडको काम स्थानीय तहको निर्वाचनमा सहभागी हुनुभन्दा पहिलासम्म गरेको उनले बताए।

सामान्य लेखपढ गर्न मात्रै आफूले जानेको बताएका उनले आफूले पढ्न नपाए पनि छोरा छोरीलाई पढाउन कुनै कसुर बाँकी नराख्ने बताए। उनको  ६ जनाको परिवार छ। छोरी व्याच्लर पढिरेहकी र दुई छोराहरूले पनि राम्रैसँग पढिरहेका उनले बताए।

किन तरकारी बेच्न थाल्नु भयो ? भन्ने प्रश्नमा उनले भने, ‘म जस्तोले अरु काम पाउने संभावना छैन, चुनावमा लागेको ऋण छिन्नका लागि काम त गर्ने पर्यो।’ आफूले २ वर्षभित्रमा ऋण तिरिसक्ने विश्वास व्यक्त गरे।

लमही बजारको पुरानो बसपार्कमा कालुरामले तरकारीको ठेला धकेल्दै ल्याउँदा सुरू–सुरूमा लमहीका स्थानीय व्यापारीहरू उ आए उपमेयर भन्दै गिल्लाउने गरेको उनले बताए। तर, आज आएर मेरो मेहनत देखेर अन्य व्यापारीले पनि सम्मान व्यक्त गर्न थालेको उनी बताउँछन्।

बजारबासी र उनकै पार्टीका नेता कार्यकर्ताले प्रश्न गर्दा कालुरामलाई सुरूमा अप्ठेरो लाग्ने गरेको भएपनि आज आफूलाई त्यस्ता प्रश्नहरूको वास्ता नरहेको उनले बताए। ‘घर गृहस्थी त धान्नु पर्यो नि, हामी जस्ता गरिबले काम गर्न लाज मानेर हुन्छ,’ उनले भने ।

निर्वाचनको समयमा मजदूर र निम्न वर्गबाट चौधरीले राम्रो साहानुभूति बटुलेको भएपनि चुनाव जित्न भने सकेनन्।

‘मैले चुनाव जितेको भए आज तिनै मानिस चाकडीका लागि धाउँथे होला तर, मैले चुनाव हारेपछि उनीहरूले नदेखेझैं गरि मुन्टो भाँचेर हिड्न थालेका छन्।’

उनले बजारमा श्रम गर्ने मानिसको सम्मान नभएको बताए। ‘चुनावको ऋण तिर्न मैले तरकारी बेच्दा किन अरुलाई आपत्ति, चोरको छैन ढाँटेको छैन, श्रम गरेर स्वाभिमानी पूर्वक जिउने सबैलाई राज्यले समान सम्मान दिनुपर्छ,’ चौधरीले भने।

चुनाव लड्दा आफुले कुनैपनि व्यापारी तथा उद्योगीसँग आर्थिक सहायताका लागि हात नथापेको बताए। ‘आफ्नै बल बुता र आफैँले आर्जन गरेको शक्तिबाट चुनाव जितेपछि मात्रै स्वतन्त्र भएर काम गर्न सकिन्छ भन्ने मलाई लाग्छ,’ चौधरीले भने।

उनले लोकल तरकारी बिहानै उठेर गाउँघरमा गएर संकलन गर्ने गरेको तथा बेमौसमी तरकारी छिमेकी देश भारत र नारायणघाट लगायतबाट समेत आउने गरेको बताए ।

स्थानीयस्तरमा तरकारी डुलाएर बेच्ने गरेका चौधरीले समय समयमा छिमेकी जिल्ला प्यूठान र रोल्पासम्म तरकारी पठाउने गरेको जानकारी दिए।

उपमेयरका उम्मेदवारले घरघर र गल्ली गल्लीमा तरकारी डुलाउँदा सर्वसाधारण कतिपयले ‘कमरेड अभिवादन’ र कसैले ‘नमस्कार’ भन्ने गर्दा भने खुसी लाग्ने गरेको उनले बताए।

लमही नगरविकास समितिको पार्टी प्रतिनिधि, खिमबहादुर शाह माबी कोलहीको दुई कार्यकाल व्यवस्थापन समितिका अध्यक्ष र अजम्बरी सामुदायिक वन उपभोत्ता समितिको पूर्व अध्यक्ष भएर सामाजिक संस्थाको अनुभव पनि बटुलेका उनी चौधरी अखिल नेपाल रिक्सा मजदूर संघका केन्द्रीय सचिव पनि हुन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.