यसरी भएको थियो बुटवलमा भण्डारी दम्पत्तीको हत्या


२०६७ असार ९ गते दिउँसो ३ बजे, पानी परेर भर्खर रोकिएकोे थियो । आशा भण्डारी बिहानको खाना खाएर पसलमा बसेकी थिईन् । बर्षाको मौसम भएपनि पानी रोकिनासाथ हावा हुरी चलिरहेको थियो, चर्को गर्मिको मौसम थियो ।

चामल, दाल, तेल लगायतको दैनिक उपभोग्य वस्तुको थोक कारोबार हुने बुटवल जेसिज चोकमा रहेको विष्णु भण्डारी स्टोर्स पसलमा व्यापारीहरुको दैनिक भिड लाग्ने गर्दथ्यो ।

बुटवलमा मात्र नभई बाहिरी जिल्लाका थोक व्यापारीहरुले समेत सामान लैजाने बिष्णु भण्डारी स्टोर्समा दैनिक जसो नयां नयां व्यापारीहरु कारोबारको लागि आउने गर्दथे ।

दिउँसो करिव सवा ३ बजे दुईवटा मोटरसाईकलमा चारजना अपरिचित व्यक्ति पसलको अगाडी आएर रोकिए । “परासीबाट चामल खरिद गर्न आएको साहु जी खोई ?” भनेपछि नजिकै फुपु दिदिको हार्डवेयर पसलमा रहेका श्रीमान रमेश भण्डारीलाई आशाले बोलाईन् ।

बुटवलको सबैभन्दा चल्तिको गल्लाभण्डार रहेकोले पनि दैनिक दर्जनौ व्यापारी आउने जाने गर्दथे । लामो समयदेखि घर र पसलमा समेत आशाले सघाउदै आएकोले रमेश ढुक्क थिए त्यसैले पनि आशाले बोलाउने वित्तिकै पसलमा आएनन् ।

केहि मिनेटको पर्खाईपछि व्यापारीको भेषमा आएका एकजनाले पसलमै रहेको ल्याण्डलाईन टेलिफोनबाट मोबाईलमा फोन गरेपछि रमेश पसलमा फर्किए ।
रमेश पसलमा भित्र पस्नै लागेका थिए व्यापारी बनेर आएका एकजनाले एकाएक काउण्टरमा रहेको सेफबाट पैसा निकाल्न लागे आशाले रोक्ने प्रयत्न गरिन् ।

तर लुट्ने योजनाका साथ आएका ती नक्कली व्यापारीले पेस्तोल निकाली आशामाथी गोली प्रहार गर्न थाले आशा ढलिन् ।  ऐँया भन्दै ढलेकी आशालाई रमेशले समात्न खोजे तर अर्को आक्रमणकारीले रमेशमाथी पनि गोली बर्साउन थाले । रमेशमाथी २ वटा गोली प्रहार भए ।

 

रमेश र आशा माथी दनादन गोली प्रहार हुदाँ पसलमा रहेका कामदार कर्मचारीसंग ट्रकमा माल लोड गर्ने कामदारहरु गोलीको आवाज सँगै भागाभाग भए । रमेश र आशालाई कसैले साहारा दिन सकेनन् । अलमलमा परे ।

प्रत्यक्षदर्शी कामदार जिवलाल अर्याल ढुंगा टिपेर लखेट्न थाले अपराधीहरुले उनलाई तर्साउदै गोली प्रहार गरेपछि उनी हच्किए ।

व्यस्त र सधै भिडभाड हुने जेसीसचोकमा गोलीको आवाज संगै सन्नाटा छायो । आफ्नै रगतमा डुवेर ढलेर भण्डारी दम्पतीलाई केहीक्षण कसैले सहयोग गर्ने हिम्मत गरेनन् । जब अपराधीहरु मोटर साईकलमा भागे तव मात्र छिमेकीहरु उद्धारका लागि पुगे । घाईते भएका रमेशको घटनास्थलमै मृत्यु भयो भने आशालाई अस्पताल पुर्याउन नपाउदै प्राण पखेरु उडिसकेको थियो ।

बिष्णु भण्डारी स्टोर्समा दैनिक लाखौं रकम नगद जम्मा हुन्थ्यो । सम्बन्धित पाटीलाई दिनुपर्ने रकम बुझाउँथे अरु रकम बैंकमा जम्मा गर्थे ।  त्यो दिनपनि केहि समय पहिले व्यापारीहरुबाट संकलन भएको २७ लाख रकम मध्ये १० लाख बैंकमा जम्मा गरेका थिए ।  बाँकी १० लाख रकम व्यागमा थियो । हत्याराले काउण्टरमा रहेको करिव ७ लाख रकम मात्र लगे ।

भोलीपल्ट अर्थात असार १० गते आशा २९ वर्ष टेक्दै थिईन् । केही घण्टा अगाडीमात्रै बुवा तेजकुमार पाठक भोलीपल्ट परेको जन्मदिन शंकरनगर घरमा मनाउने भन्दै आशालाई निम्त्याएर फर्केका थिए ।

तर आशाले आफ्नो २९ औं जन्मदिनमा माईतीमा रमाउने चाहाना क्षणभरमै उड्यो । जन्मदिनको दियो जल्नुपर्नेमा आशा र उनका पति रमेशको नदी किनारमा चिता जल्यो ।

अञ्चल प्रहरी कार्यालय प्रमुखको रुपमा हालका नेपाल प्रहरी प्रमुख प्रकाश अर्याल थिए । उनकै संयोजकत्वमा अनुसन्धान टोली गठन भयो । ईलाका प्रहरी कार्यालयमा प्रमुखको रुपमा प्रहरी नायव उपरीक्षक दानबहादुर कार्की (हाल प्रहरी उपरीक्षक) आएको ४ महिना भएको थियो ।

प्रहरीमा दक्ष अनुसन्धनकर्ता मानिने दान बहादुर कार्की यो घटनाको अनुसन्धानमा आफैँ पनि खटे ।उनको साथमा थिए प्रहरी निरीक्षक माधव बुढाथोकी (हाल प्रहरी नायव उपरीक्षक), प्रहरी नायव निरीक्षक युवराज पाण्डे, प्रहरी सहायक निरिक्षक अर्जुन कार्की र प्रहरी हवल्दार राजकुमार बिक ।

आठवर्ष अघिको घटना सम्झिदै प्रहरी उपरीक्षक दान बहादुर कार्की भन्छन् “सुरुका ४ दिनसम्म प्रहरीलाई कसैले सुचना दिएनन्, घटनाका बेला खेल्दै गरेका बालकले दिएको हुलिया र उनले गरेको फोटो पहिचानका आधारमा नवौं दिनको दिन २ जनालाई पक्राउ गर्न सफल भयौं भने १७ औं दिनका दिन मूख्य योजनाकार भोलेबावा भन्ने सम्भु गौतमलाई भैरहवाबाट पक्राउ गर्यौं ।” “तर घटनाका अर्का मुख्य योजनाकार तथा सुटर अर्जुन गौतम भने फरार रह्यो ।”

कार्कीले आफु त्यो बेला अत्यन्त मेहनत गरेर भोलेबावालाई पक्राउ गर्न सफल भएपनि मुख्य सुटर पक्राउ नपरेकोमा चिन्तित थिए । “म भएको बखत भएको घटना भएकोले पनि त्यो घटनाले मलाई सधै घचेटी रहन्थ्यो, बुटवलबाट सरुवा भएर हिँडेपछि पनि कसैले अर्जुन गौतम काठमाडाैं भोटाहिटीमा बस्छ भन्ने सुनेकोले २०-२५ पटक भोटाहिटी चहारे तर उपलब्धि हात नपर्दा निराश भएर फर्किन्थे ।”

भोलेबावा भन्ने सम्भु गौतम कतै जनमुक्ति सेनाको कमाण्डर भन्दै पैसा उठाउथेँ भने कतै हतियारको धम्की दिएर लुट्ने गर्दे आएका थिए ।

भारतको नौतनवा बसेर अपराधको जालो फैलाउदै गरेका उनको मुख्य निशानामा रुपन्देही र आसपासका सुनचाँदीका ब्यापारी, अन्य ठुला व्यापारीसँगै हुण्डीका कारोवारीहरु थिए ।

हुण्डी कारोवारीहरु लुटिएको गुनासो लिएर प्रहरीको कमै जाने भएकोले पनि शम्भुले उनीहरुलाई निशानामा पारेको प्रहरीको बिश्लेषण छ ।

काठमाडौँ लगायत देशाका बिभिन्न स्थानमा लुटपाट र डकैतीका घटनामा सम्लग्न भोलेवावा २०५८ सालमा सालझण्डीमा भएको लुटपाटको घटनामा पक्राउ परेपनि प्रहरी हिरासतबाट रहस्यमय ढंगले भाग्न सफल भए । द्धन्द्धकालको फाईदा उठाएर उक्त घटना गुपचुपमा राखियो ।

भण्डारी दम्पती हत्याको ७ वर्षपछि मुख्य सुटर अर्जुन गौतम समातिए । पक्राउ परेका सम्भु गौतम र अर्जुन गौतमलाई अदालतले सर्वस्व सहित जन्मकैद फैसला गरेको छ भने घटनाका अर्का आरोपी अर्जुन गौतमका सहोदर दाजु कृष्ण गौतम अझै फरार छन् ।

स्वर्गीय भण्डारी दम्पतीका दुई छोरा आरम्भ र आदर्श छन् ।  आमा बाबु मारिदाँ ६ वर्ष उमेरका भाई आदर्श १४ वर्षका छन् ।

जिल्ला प्रहरी कार्यालयद्धारा आयोजित पत्रकार सम्मेलनमा पुगेका मृतक रमेश भण्डारीका बुवा बिष्णु भण्डारी आफ्नो जेठो छोरा मारिएको पिडामा पत्रकार सम्मेलन अवधिभर आशु बगाएरै बसे ।

आफ्नो छोरा बुहारी मार्ने हत्यारा सबैलाई ढिलै भएपनि पक्रेकोमा प्रहरीलाई धन्यवाद दिदै बावु बिष्णु भण्डारीले आफ्ना छोरा बुहारीको जस्तो अकाल मृत्यु कसैले भोग्नु नपरोस भन्ने कामना गरे । “दुई नातीहरुको अनुहार हेरेर छोरा बुहारीको पीडा भुल्ने प्रयत्न गरेको छु” भण्डारीले सेतोपाटीलाई भने ।

पछिल्लो समय भैरहवाको गोलीकाण्ड र अन्य केही ठुला खालका तस्करीका घटनामा सम्लग्नहरुलाई प्रहरीले पक्रन सफल भएको छ । अपराधीहरु धमाधम पक्रन सफल भएकोमा जिल्ला प्रहरी प्रमुख श्यामलाल ज्ञवाली उत्साहित छन् । “अपराधी जुनसुकै ठाउँमा लुकेर बसेको होस हामी ल्याएरै छोडछौं ”उनले भने ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.