दम्पती हत्या गरी भागेका गौतमलाई भारतबाट पक्राउ गरी नेपाल ल्याइयो


सन् २०१० जुनमा वुटवलका ब्यापारी दम्पत्ति रमेश भण्डारी र आस्था भण्डारीको हत्या गरी फरार वुटवल सालझण्डीका अर्जुन गौतम पक्राउ परेका छन्।

गौतमलाई भारतमा पक्राउ गरी शनिबार नेपाल ल्याइएको रूपन्देही प्रहरी प्रमुख श्याम ज्ञवालीले सेतोपाटीलाई जानकारी दिए।

इन्टरपोलले गौतमका नाममा रेडर्कनर नोटिस जारी गरेको थियो। केही समयअघि गौतमलाई भारतीय प्रहरीले पक्राउ गरेको थियो। ‘भारतीय प्रहरीसँगको समन्वयमा उनलाई नेपाल ल्याइएको हो,’ एसपी ज्ञवालीले सेतोपाटीसँग भने, ‘जिल्ला अदालत रुपन्देहीबाट कर्तव्य ज्यानमा फैसला भएको थियो, पुरानो मुद्दा भएकाले उनलाई कति सजाय थियो भन्ने हेर्नुपर्छ।’

गौतमसहित ४ जना ब्यक्ति मिलेर ब्यापारी दम्पत्तिको २०६७ असार ९ गते बुटवलको ब्यस्त बजार जेसिसचोकबाट गोली प्रहारबाट हत्या गरेको प्रहरीले जनाएको छ।

सो हत्यामा संलग्न २ जना जेलमा रहेको र गौतम भागेर भारत पुगेको प्रहरीले जनाएको छ।

भारत भागेका गौतमले दिल्लीबाट भारतीय रासन कार्डदेखि निर्वाचन मतदाता कार्डसमेत बनाएको खुलेको प्रहरीले जनाएको छ। गौतम दिल्लीस्थित रेड चिल्ली रेष्टुरेन्टमा क्याप्टेनको रूपमा काम गर्ने गर्थे।

शनिबार नेपाल ल्याइएका गौतमलाई अदालतमा बुझाइने एसपी ज्ञवालीले जानकारी दिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.