दाङमा यातायात व्यवसायीको दादागिरी: यसरी हुन्छ तानातान  र हानाहान (भिडियो सहित)


तुलसीपुर उपमहानगरपालिका वडा नं. १० निवासी ३५ बर्षीया बेलमती विक शुक्रवार छोरीको लागि तरकारी बोकेर घोराही जाँदै थिइन् । तर गाडिका स्टाफको ताना तान र हानाहानले गर्दा विक एउटा गाडिमा र उनको झोला अर्को गाडीमा पुग्यो । घोराहीमा अध्यनरत छोरीको लागि तरकारी र केही खानेकुरा लगेर जाँदै गरेकी विकको झोला हरायो । उनले छोरीको लागि लैजान लागेको खीर, अचार र तरकारी हराएको भन्दै सेतोपाटीसँग सार्वजनिक याताया यात्रु मैत्री नरहेको गुनासो गरिन् ।

तुलसीपुरको फूलवारी निवासी श्याम चौधरी र अनिता चौधरीको जोडीले पनि शुक्रवार सार्वजनिक यातायातमा गाडीका स्टाफहरुवाट त्यस्तै नराम्रो व्यवहार खेप्नु पर्यो । आफ्नै गाडीमा जानुपर्ने जिद्दी गर्दै गाडीका स्टाफहरुले चौधरी दम्पत्तिलाई तानातान गरे ।

गाउँबाट उपचारका लागि घोराही जान थालेका सोझा साझा चौधरी दम्पत्ति पनि एउटै गाडीमा घोराही जान पाएनन् । गाडीका स्टाफहरुका विचमा यात्रु बोक्नका लागि हुने  आपसी कलह, तानातान र हानाहानले गर्दा श्याम चौधरी र अनिता चौधरीको दम्पत्तिले अलग –अलग गाडीवाट यात्रा गर्न बाध्य पारिए ।

त्यस्तै तुलसीपुर ६ रजौरा निवासी अस्मिता वलीले पनि सार्वजनिक यातायात चढि नसक्नु रहेको दुखेसो पोखिन् ।

‘एक्लो केटी देखेपछि जवरजस्ती गर्छन्, हात हाल्छन् । जवरजस्ती बस भित्र हाल्न खोज्छन्’ , वलीले थपिन् ‘ म आफन्त नहुँदा एक्लै कहिलै सार्वजनिक यातायातमा यात्रा गर्नु नपरोस भने कामना गर्छु।’

कक्षा १२ मा अध्यनरत वलीले किशोरीहरुले गाडी भित्रपनि त्यस्तै दुरव्यवहार खेप्नु पर्ने बताइन् ।

‘आरक्षण सिटमा पुरुष बसेका हुन्छन् । केही भन्दा आँखा तर्छन । धेरैले गाडि प्याक हुँदा मौकाको फाईदा उठाउँदै मनपरी गर्न थाल्छन् ।’

प्राय गाडीका स्टाफहरुले गाउँबाट आउने सोझा साझालाई बढी सताउने गरेको वलीको अनुभव छ । तर उनले एक्लै यात्रारत युवा युवतीलाई समेत सार्वजनिक यातायातका साधनमा यात्रागर्दा जोर जवरजस्ती हुने गरेको बताउँछिन् ।

‘ हरेक व्यक्तिले आफ्नो इच्छा अनुसार  स्वतन्त्रपूर्वक यात्रा  गर्न पाउनु पर्छ  तर, कसैको करकाप तथा जोरजवरजस्तीमा हैन’, वलीले भनिन् ।

मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय सचिव सुशील बस्नेले सार्वजनिक यातायातमा यात्रुमाथि भइरहेको दुरव्यवहार तथा तानातान र हानाहान रोक्नका लागि स्थानीय प्रशासन, यातायात व्यवासायी र स्थानीय सरकार गम्भीर बन्न नसकेको आरोप लगाए ।

‘ हरेक व्यक्ति आफ्नो सुविधा अनुसार यात्रा गर्न पाउनु उसको नैसर्गिक अधिकार हो । त्यो अधिकारमा जोरजरजस्ती गर्न कसैले पाउँदैन’, सचिव बस्नेतले भने ।

उनले यातायात क्षेत्रमा सुधारको खाँचा औंल्याउँदै यातायात व्यवसायीले संधै कर्मचारी तथा मजदुरलाई प्रशिक्षण दिने गरेको बताएपनि त्यसमा अपेक्षित रुपमा सुधार नहुनु दुःखद पक्ष भएको भन्छन् ।

त्यसैगरी उनले जोरजवरजस्ती विरुद्ध स्वयं व्यक्तिले विरोध गर्न सक्नुपर्ने बताए । नागरिक सचेत भएकापनि यस्ता जवरजस्ती तानातान गर्ने प्रवृतिको अन्त्य हुने उनको धारणा छ ।

राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिका कल्याणकारी सचिव प्रकाश भट्टले भने राप्ती समिति यात्रुलाई तानातान गर्ने प्रवृतिको संधै विरुद्धमा रहेको बताए । तर अन्य साना सवारी साधनका स्टापहरुले यात्रुहरु माथि जोरजवरजस्ती गर्ने गरेको उनको आरोप छ ।

आफुहरुले त्यसको अन्त्यका लागि विभिन्न समयमा आफ्ना कर्मचारी र मजदुरहरुलाई प्रशिक्षण दिदै आएको बताएका उनले चैत १४ गतेदेखि फेरि त्यस्तै प्रशिक्षण राख्न लागेको बताए ।

सार्वजनिक यातायातलाई सहज र यात्रु मैत्री बनाउने अभियानमा आफुहरु निरन्तर अभ्यासरत: भएपनि नयाँ खुलेका कम्पनी तथा साना गाडीहरुका कारण समस्या भएको उनले बताए ।

२४ किलोमिटरको दुरीको तुलसीपुर–घोराही सडक खण्मा ५० रुपैंया भाडा निर्धारण गरिएको छ भने यो सडक खण्डमा हरेक ५-५ मिनेटको अन्तरमा गाडि सञ्चालन हुँदै आएको हुँदापनि गाडी भर्न तानातान हुने गरेको उनले बताए ।

‘ एउटा सिस्टममा गाडी सञ्चालन गर्न सकेमा यो समस्या हल हुनसक्छ, तर, यहाँ जसको शक्ति उसको भक्ति भनेझैं हुँदा समस्या भएको छ ’, भट्टले थपे ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रकाश सापकोटा भने आफुले मात्रै कमाउनुपर्छ भन्ने यातायात क्षेत्रको होडवाजीका कारण यात्रु माथि जोरजवरजस्ती हुने गरेको बताए ।

‘कतिपय सवालमा यातायात क्षेत्रको सिन्डिकेटपनि कारक हुनसक्छ तर त्यो भन्दापनि यातायात क्षेत्रको अस्वस्थ्य प्रतिपर्धाको अन्त्य हुनुपर्छ ।’ डिएसपी सापकोटाले भने ।

प्रतिष्पर्धा कै कारण रोक्न नपाइने ठाउँमा समेत सवारी साधन रोकेर यात्रु हाल्ने होडबाजी चल्दै आएको हुँदा त्यसको सुधारका लागि आफुले यातायात व्यवसायीसँग छलफल गर्ने उनको बताए ।

डिएसपी सापकोटाले पनि सर्वसाधारण नागरिक पनि आफ्नो अधिकार के हो? भन्ने सवालमा जानकार हुनुपर्ने तथा अन्यायका विरुद्ध आवाज उठाउनु अति आवश्यक रहेको बताउँछन् ।

उनले सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने दायित्व ट्राफिक प्रहरीको पनि भएको भन्दै आफुले त्यसमा निगरानी गर्न निर्देशन दिने र जोरजवरजस्ती गर्नेहरुमाथि कारवाही गर्ने प्रतिवद्धता जाहेर गरे ।

सापकोटाले यस्तो बताए पनि सवारीका सेवाग्राही भने प्रहरी यी सबैबारेमा जानकार हुँदाहुँदै पनि मूकदर्शक बन्ने गरेको आरोप लगाउँछन्। सेतोपाटीसँगको कुराकानीमा सापकोटाले औपचारिक र सधैं दिइने जस्तो प्रतिक्रियामात्र जनाए। जनप्रतिनिधीहरू पनि यसप्रति उदासिन देखिदै आएका छन्।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.