स्थानीयले बन्द गरिदिए प्रचण्ड हिँड्ने खुमलटार सडक


माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गत पुसमा लाजिम्पाटबाट खुमलटार बसाइँ सरे।

प्रचण्ड नजिकै बस्न आएको खबरले चापागाउँदेखि खुमलटारसम्मका वासिन्दामा अलिकति आश जाग्यो।

उनीहरूको आशा थियो-  सडकको दुर्दशा र स्थानीयको दुर्गती आफैंले भोगेपछि दाहालले केही पहल गरिदेलान्।

प्रचण्ड तीन महिनादेखि त्यही बाटो हुँदै दिनको दुई/तीनपटक ओहोरदोहोर गरे। स्थानीयले प्रचण्डसँग भेटेर  पनि गुनासो सुनाए। उनले चाँडै समस्या गर्न प्रयास बचन दिए। बाटो भने कालोपत्रे भएन।

यतिबेला स्थानीयको आशा निराशामा बदलिएको छ। त्यसमा आक्रोश पनि मिसिएको छ। बुधबारदेखि उनीहरूले सम्बन्धित निकायलाई दबाब दिन भन्दै यो बाटोमा सवारी बन्द गरिदिएका छन्।

मंसिरमै सकिन्छ भनेको सडक चैतमा पनि उस्तै छ। खनेर छाडेको १६ महिना बितिसक्दा पनि कालोपत्रे गर्न कसैको चासो नदेखाएपछि सडक बन्द गर्न आफूहरू बाध्य भएको स्थानीयको भनाइ छ।

छिटो कालोपत्रे गर्न दबाब दिन स्थानीयले सडक अवरोध गरेको सडक अवरोध संयोजक हिमाल राईले बताए।

‘हामीले हिजो २ घन्टा सडक अवरोध गरेका थियौं। आज पनि बिहानैदेखि अवरोध गरेका हौं,’ राईले सेतोपाटीसँग भने, ‘यो सडक निर्माण गर्नका लागि जबसम्म सामग्री आउँदैन तबसम्म अवरोध जारी रहन्छ।’

स्थानीयले सडक अवरोध गरेपछि प्रचण्डले भने रूट परिवर्तन गरेको स्थानीयको भनाइ छ।

‘हामीले वर्षौदेखि धुलो खाएर फोक्सो भरिन लागिसक्यो तर कसैले वास्ता गरेनन्। बाध्य भएर सडक नै अवरोध गरेका हौं,’ नगरकोटीले भने, ‘हिजोदेखि नै सडक अवरोध भए पनि कतैबाट सुनुवाइ हुन सकेको छैन। बरु यही बाटो हिड्ने प्रचण्डसमेत बाटो परिवर्तन गरेर धापाखेलबाट हिँड्न थाल्नुभएको छ।’

यो सडक सधैं यस्तो थिएन।

पन्ध्र महिनाअघि कालोपत्रे थियो। मेलम्ची खानेपानी आयोजनाले पाइप ओछ्याउन रातारात खन्यो। ठाउँ–ठाउँमा ठूल्ठूला खाल्डा बनायो। सडक अस्तव्यस्त पार्यो। त्यत्तिकै छाड्यो। मंसिरमा सक्ने भनी कबुलेको आयोजनाले अहिलेसम्म तीनचोटि भाका सारिसकेको छ। बनाउने सूरसार अझै छैन। यसबीच खुमलटार सडकको करिब एक किलोमिटर खण्ड ‘धूलोटार’ बनेको छ। रिङरोडबाट बाहिरिएदेखि नै धूलोको कुइरीमण्डल सुरु हुन्छ। एउटा गाडी गुडेपछि एक छिनसम्मै सडक वारिपारि देखिन्न।

हुँदाहुँदा धूलोधुवाँकै कारण मध्यसहरको यो सडकमा चहलपहलै कम छ। मान्छे धूलो छिचोल्दै हिँड्ने आँट गर्दैनन्। गाडी गुड्छन्, तर यो बाटो नआई नहुने सार्वजनिक सवारी र स्कुलका गाडी बढी छन्। निजी सवारी अत्यन्तै कम देखिन्छन्। त्यसमा पनि दिउँसो त सार्वजनिक बसकै एकाधिकार देखिन्छ। पहिले यही बाटो ओहोरदोहोर गर्ने सवारी अचेल नखिपोट हुँदै जान थालेको स्थानीय बताउँछन्।

जनताको ‘सुविस्ता’ निम्ति सुरु भएको मेलम्ची आयोजनाको गैरजिम्मेवारी र लापरबाहीले उनीहरूकै जीवन ‘सकसपूर्ण’ हुँदा पनि सम्बन्धित निकायले चासो नदिएको स्थानीयले गुनासो गर्दै आएका छन्।

‘हाम्रो यो ठाउँ त अचेल टेलिभिजन समाचारमा देखिने विदेशी युद्धभूमिजस्तै लाग्छ,’ स्थानीय सुविता गैरेले भनिन्, ‘अग्ला अग्ला घर छन्, घर वरिपरि धूलोले कुइरीमण्डल छ, सडक भत्केको छ, ठूल्ठूला खाल्डाखुल्डी छन्, अनि बाटोमा न मान्छे देखिन्छन्, न गाडीहरू। यस्तै हुन्छ नि समाचारमा देखिने युद्धभूमि!’

बारम्बार अनुरोध र सडकमै ओर्लेर दबाब दिँदा पनि ‘भाका’ राख्दै पन्छिएको उनीहरूको भनाइ छ।

‘हामीले कसलाई मात्र भनेनौं। मेलम्चीका ठेकेदार, हाकिम, मेयर र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई समेत भनिसक्यौं,’ स्थानीय रामकुमार थापाले भने, ‘उनीहरू सबैले आश्वासन दिँदै पठाए। अब काम हुन्छ भन्दै मिति तोके। मिति आउँछ, जान्छ, उनीहरू आउँदैनन्।’

कुनै पनि जिम्मेवार निकायले सडकको जिम्मेवारी नलिँदा निर्माण ढिला भएको उनले बताए।

उनका अनुसार यसबारे मेलम्ची आयोजनासँग धेरैपटक वार्ता भइसक्यो। आयोजनाले हरेकपटक आश्वासन दिँदै पठाउने गरेको छ। सडक विभाग र नगरपालिका गुहार्दा पनि सुनुवाइ भएको छैन। बरु केही समयअघि खुमलटारकै माथिल्लो बस्तीका स्थानीयले दबाबमूलक कार्यक्रम गरे। सडकमा उभिएर दुई घन्टाजति बाटो रोके। अवरुद्ध सडक खोल्न प्रहरी आए। र, सम्झौता गराए।

त्यसपछि बल्ल मेलम्चीले तारन्तार माथिको खण्ड कालोपत्रे गर्यो।

त्यही बेला धुलाम्मे तल्लो खण्ड पनि कालोपत्रे गर्नुपर्ने थियो। सडक विस्तारको बहाना बनाउँदै छाडेर हिँडेको मेलम्चीले त्यसपछि आनाकानी गर्दै आएको छ। स्थानीयले मेलम्चीका अधिकारी र ठेकेदारलाई ‘तुरुन्त काम सक्ने’ प्रतिबद्धतापत्रमा हस्ताक्षर पनि गराए। सयौंचोटि भन्न गए। समस्या ज्यूँका त्यूँ।

सम्बन्धित निकाय आफ्नो जिम्मेवारीबाट जतिसुकै टक्टकिए पनि यहाँ बाँच्नुपर्ने स्थानीयले हो। धूलोधुवाँ खानुपर्ने उनीहरूले नै हो।

यसबाट बच्ने उपाय पनि उनीहरूले नै सोचे। प्रत्येक घरबाट साताको पाँच सय रुपैयाँ उठाएर नियमित पानी हाल्ने व्यवस्था गरियो। कतिले आफ्नै इनारबाट पानी हाले। कालोपत्रे गर्नु पर्ने सडकमा पानीमात्र हालेर केहीबेर धुलो रोकिन्थ्यो तर त्यो दीर्घकालीन समाधान थिएन।

एक महिनाअघि स्थानीयले फागुन महिनाभित्र कामको सुरसार नभए हामी पहिलेजस्तै सडक अवरुद्ध पार्ने चेतावनी दिएका थिए।

सबै तस्बिरहरुः नारायण महर्जन/सेतोपाटी

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.