श्रीमान् छुटाउन मध्यरातमा पैसा बुझाउन आउने महिला पक्राउ


धुलिखेलका २४ वर्षिय विवेक लामा बुधबार पक्राउ परे। प्रहरीको खोजी सूचीमा रहेका लामा ‍पाकेटमारको समूह बनाएर उपत्यकाभित्र सक्रिय थिए। पटकपटक पक्राउ परेर छुट्ने गरेका लामा बुधबार चक्रपथ परिक्रमा गर्ने बसमा सवार यात्रु सरोज कार्कीको पाकेट मार्दै गर्दा सिनामंगलबाट पक्राउ परे।

यसैबीच महानगरीय प्रहरी वृत्त गौशालाको हिरासतमा रहेका लामालाई छुटाउन उनकी श्रीमती बिचौलीयाको सम्पर्कमा पुगिन्। बिचौलियाले प्रहरी चिनाइदिए।

प्रहरीलाई घुस दिएर श्रीमानलाई छुटाउन २३ वर्षिया शर्मिला तामाङले ३ लाख २४ हजार रूपैयाँ जम्मा गरिन्।

बिचौलियाले चिनाएअनुसार जम्मा पारेको रकम लिएर शर्मिला मध्यरात १२ बजे प्रहरी अधिकारी भेट्न तिलगंगा पुगिन्।

बिचौलियाले भनेअनुसार सम्पर्क भएको व्यक्ति ती महिलालाई भेट्न गए। महिलाले उक्त घुस रकम प्रहरीलाई दिन खोज्ने क्रममा प्रहरीले पैसा लिएन उल्टै उनलाईसमेत पक्राउ गर्‍यो।

श्रीमानलाई छुटाउ प्रहरीलाई घूस दिने श्रीमती पनि अहिले प्रहरी हिरासतमै छन्।

५० हजार पाकेट मारेका श्रीमानलाई छुटाउन तीन लाख २४ हजार रकम बोकेर मध्यरात एक्लै बनकाली पुगेकी शर्मिलालाई महानगरीय प्रहरी वृत्त गौशालामा राखी अनुसन्धान अघि बढाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी मोहन थापाले जानकारी दिए।

‘लामा पाकेटमारीका नाइके हुन्, उनलाई ५० हजार पाकेटमारी गर्दै गर्दा पक्राउ गरिएको हो भने, लामाकी श्रीमती ३ लाख २४ हजार प्रहरीलाई घुस दिन ल्याएको रकमसहित पक्राउ परेकी छन्,’ उनले भने, ‘हामी यसबारेमा अनुसन्धान गर्दैछौं।’

आर्थिक लोभमा पर्ने प्रहरी कर्मचारीलाई कारबाही गर्ने काठमाडौं प्रहरीको कडा चेतावनीकै कारण प्रहरीले रकम लिएर काम गर्न डराएको एक उच्च प्रहरी अधिकृतले सेतोपाटीलाई बताए।

‘एसएसपी सा’प पहिल्यै पनि काठमाडौं बस्नु भएको हो, कस्तो अवस्थामा प्रहरी आर्थिक लोभमा पर्नेगर्छ भन्ने कुरा उहाँलाई हेक्का छ,’ ती अधिकृतले भने, ‘२-४ हजारको लोभले जागिरै धराप हुन बेर छैन।’

यसैबीच आर्थिक लोभमा पर्ने प्रहरी मात्र होइन आर्थिक लालसा देखाउनेलाई पनि नछाडिने काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले बताए।

‘घुस दिने नागरिक र घुस खाने प्रहरी दुबैलाई एकै ठाँउमा राखेर कारबाही हुन्छ, मैले सार्वजानिक सुनुवाईमा पनि भन्ने गरेकोछु’, उनले सेतोपाटीसँग भने,‘घुस खाएर मुद्दा मिलाउनु अपराध हो त्यसो गरेको पाइए ठाँउको ठाँउ कारवाही हुन्छ।’

उनले घुस दिने ब्यक्ति पक्राउ गर्नेलाई पुरस्कृत समेत गर्ने बताए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.